कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गर्भवतीलाई अण्डा

बागलुङ — नियमित गर्भ परीक्षणका लागि आउने महिलालाई वडा कार्यालयले एक/एक क्यारेट अण्डा दिन थालेको छ । बागलुङ नगरपालिका–५ ले हरेक पटकको स्वास्थ्य परीक्षणमा गर्भवतीलाई नियमित अण्डा दिन थालेको हो । गर्भवती महिलाले गर्भधारणपछि प्रसूतिको अवस्थासम्म कम्तीमा चारपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ । 

उनीहरूको शरीरमा पोषणको मात्रा पुर्‍याउन सजिलो होस् भनेर वडा कार्यालयले विनियोजन गरेको स्वास्थ्यको बजेटबाट यो सेवा दिएको हो । चालु वर्षका लागि वडाले ५० हजार रुपैयाँ यो शीर्षकमा छुट्याएको वडाध्यक्ष शिवप्रसाद सापकोटाले बताए । सुआहारा कार्यक्रमले महिलाको स्वास्थ्य सुधारका लागि नियमित पोषण खुवाउने परामर्श गर्दै आएको थियो ।


चालु वर्षका लागि भने बजेट छुट्टयाएर अण्डा वितरण गर्न थालिएको हो । स्थानीय स्वास्थ्यचौकी र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनले यो अभियानमा सघाएका छन् । अहिलेसम्म यो वडाले २७ महिलालाई नियमित अण्डा दिइएको स्वास्थ्यचौकी प्रमुख महेन्द्र शर्माले बताए ।


यो सेवा पाउन थालेपछि सदरमुकामस्थित बागलुङ बजारम डेरा लिएर बसेका, माइतमा बसेकाहरू पनि अण्डा पाउने आसले नियमित स्वास्थ्य परीक्षणका लागि आएको शर्माले बताए । यो सेवाले गर्भवतीहरूमा नियमित स्वास्थ्य परीक्षण गर्ने बानीको विकास गरेको स्थानीय भगवती रेग्मीले बताइन् । ‘सेवा सुविधा पाउने आसले नियमित परीक्षणमा आएकी हुँ’ उनले भनिन्, ‘स्वास्थ्यकर्मीले हरेक दिन सागपात, गेडागुडी र दूध तथा माछामासु खान पनि सल्लाह दिएका छन् ।’ महिलाको पेटमा गर्भ बसेदेखि बच्च जन्मेको दुई वर्षसम्म उचित पोषणको मात्र पुर्‍याउन सकियो भने शिशुको बौद्धिक र शारीरिक क्षमता राम्रो बन्ने शर्माले बताए ।


प्रकाशित : चैत्र १, २०७५ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?