कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेनेटरी प्याडले छात्रा नियमित

लमजुङ — महिनावारी हुँदा प्रायः छात्रा बिदा लिएर घर फर्कन्थे । स्कुल आउँदैका छात्रा बाटोबाटै घर फर्कन्थे । कोही स्कुल आउने नै थिएनन् । बेंसीसहर नगरपालिका–३ गाउँसहरस्थित लमजुङ माविले छात्रालाई स्कुलमै सेनेटरी प्याडको व्यवस्था गरेपछि नियमितता हुन थालेको छ । 

छात्रालाई विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा सेनेटरी प्याड तथा प्राथामिक स्वास्थ्य प्रदान गर्दै आएको प्रधानाध्यापक सीता बोहरा बताउँछिन् । ‘हामीले स्कुलमै सेनेटरी प्याड राख्न थालेको ३/४ वर्ष भयो । नानीहरू महिनावारी हुँदा स्कुल नबस्ने भए । पढाइ बिग्रने भयो । कोही स्कुलबाटै बिदा लिएर जाने । कोही स्कुलै नआउने भए’ उनले भनिन्, ‘पहिलेको अवस्था भन्दा अहिले अवस्था सुध्रिएको छ । महिनावारी हुँदा पनि नानीहरू ढुक्कले पढ्छन् ।’ सनेटरी प्याडका लागि कहिलेकाहीं बेंसीसहर नगरपालिकाले सहयोग गरेको उनले बताइन् ।


राइनास नगरपालिका–५ तीनपीप्लेस्थित शिशु विद्याश्रम माविले छात्रालाई सेनेटरी प्याड उपलब्ध गराउने गरेको छ । विद्यालयका प्रधानाध्यापक नानुमाया पराजुलीका अनुसार स्कुल आफैंले छात्रालाई सेनेटरी प्याडको व्यवस्था गरेको छ । ‘कसैले सहयोग गरेको छैन । विद्यालय आफैंले यसको खर्च व्यहोरेका छौं,’ उनले भनिन् ।


उनका अनुसार यसलाई शौचालयमा गएर सुरक्षित तवरले प्रयोग गर्ने तरिका पनि सिकाइएको छ । ‘हामीले छात्रालाई सेनेटरी प्याड व्यवस्था गर्न थालेको २/३ वर्ष भयो । पहिले–पहिले निकै लजाउँथे’ उनले भनिन्, ‘अहिले गुनासो सुन्ने एकजना म्याडमलाई सम्पर्क गर्न लगाएको छु । कतिपय छात्रा मसँग निर्धक्क भन्छन्, चाहियो भनेर ।’ उनका अनुसार केहीले आफूलाई चाहिन सक्ने भन्दै स्कुलमै ल्याउने गर्छन् । बेंसीसहर नगरपालिका–६ चण्डीस्थानस्थित गंगामिलन माविका प्रधानाध्यापक टंकबहादुर अधिकारीका अनुसार छात्राका लागि स्कुलमा सेनेटरी प्याड राखेको ५ वर्ष भयो ।


२ जना मिसले छात्राले मागेको खण्डमा वा आवश्यकताअनुसार स्कुलमा प्याड दिने गरेको उनले बताए । ‘कसले कति लग्यो भन्ने जानकारी पनि राखिएको हुन्छ । यो मिसयुज नहोस् भन्नलाई हो,’ उनले भने । महिनावारीका समयमा छात्राले पढाइ छाड्न थालेपछि स्कुलमै सेनेटरी प्याडको व्यवस्था गरिएको उनले बताए । उनका अनुसार गैरसरकारी संस्थाको सहयोगमा छात्रालाई सेनेटरी प्याड उपलब्ध गराउने गरिएको छ । ‘पहिलेको जस्तो कक्षामा आएर वा बीच बाटोबाटै छात्रा घर फर्कनुपर्ने अवस्था छैन । छात्रालाई सहज भएको छ,’ उनले भने ।


शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जिल्लाका प्रायः माध्यमिक विद्यालयका छात्रालाई स्कुलमै सेनेटरी प्याडको व्यवस्था छ । ती विद्यालयमा गैरसरकारी संस्थाले बढी मात्रामा सहयोग गर्दै आएको छ । सेनेटरी प्याड, प्राथामिक किड बक्सलगायत सामग्री गैरसरकारी संस्थाले दिँदै आएको उनले बताए ।


कतिपय स्कुलमा स्थानीय तहले पनि व्यवस्था मिलाएको छ । कतिपय स्कुलमा स्कुल आफैंले व्यवस्थापन गरेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नारायण रेग्मीले बताए । ‘स्कुलमै सेनेटरी प्याडको व्यवस्थापन पछि छात्राको स्कुल आगमन नियमित देखिएको छ । हेडसरहरूले त्यही खबर गर्नुभएको छ’ उनले भने ।


उनका अनुसार लमजुङमा ७९ मावि विद्यालय छन् । यसमा २७ विद्यालयमा १२ कक्षासम्म पठनपाठन हुन्छ । १ देखि ८ सम्मका ३० वटा आधारभूत विद्यालय छन् । १ देखि ५ सम्मका २ सय ३८ विद्यालय छन् । निजी ४२ वटा विद्यालय छन् । यसमा २१ विद्यालयमा मावि पठनपाठन हुन्छ । निजी विद्यालय प्रायः आफैंले सेनेटरी प्याडको व्यवस्था गरेका छन् ।


यस्तै, प्राथामिक उपचारका लागि किड बक्स पनि राख्ने गरिएको छ । शारीरिक स्वस्थ भएमा १२ वर्षदेखि महिनावारी हुने चिकित्कसहरू बताउँछन् । बढीमा १५ वर्षमा महिनावारी हुन्छ । आधारभूत तहमा पढ्दादेखि नै छात्रालाई सेनेटरी प्याड चाहिने स्वास्थ्यकर्मी बताउँछन् ।

प्रकाशित : चैत्र ४, २०७५ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?