कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आँगनमै धारा, आमा दंगै

आश गुरुङ

लमजुङ — हिउँद लाग्यो, पानीकै पिरलो । खडेरी लाग्यो, पानीकै पिरलो । मध्यनेपाल नगरपालिका–६ भदौरेकी डिलमाया धिंगालको पीडा २–४ दिनको थिएन । करिब २५ मिनेट झरेपछि नगरपालिकाकै केन्द्र भोर्लेटार बजार पुगिन्छ । तर, गाउँमा सहज खानेपानी कहिल्यै आएन । 

आँगनमै धारा, आमा दंगै

तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजनमार्फत सरकारी सहयोगमा ०७२ वैशाखबाट खानेपानी आयोजना सुरु भयो ।


आयोजनामा ९६ लाख ४ हजार ८ सय ७६ रुपैयाँ सरकारी रकम खर्च भएको छ । योजनाबाट ५ सय ६० जना उपभोक्ता लाभान्वित भएको उपभोक्ता समितिले बताएको छ । उक्त खानेपानी योजनामा स्थानीयले २ लाख ८८ हजार २ सय ६२ रुपैयाँ बराबरको श्रमदान गरेका छन् । खानेपानी योजनाको केही साताअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए ।


‘एक गाग्री पानी भर्न घण्टौं लाइन बस्नुपर्ने । वरपरको कुवा खोज्नुपर्ने । अहिले त आँगनमै आएको छ । कति खुसी, कति खुसी नि ।’ गाउँकै सोममाया धिंगालले घरआँगनमै खानेपानीको सुविधा पाएपछि दैनिकी नै फेरिएको बताइन् । ‘बिहानभरिको काम पानी भर्नु हुन्थ्यो । यता मेलापात जान ढिला । उता स्कुले केटाकेटीलाई स्कुल जान ढिला’ उनले भनिन्, ‘अहिले त समयको बचत भएको छ ।’


हिउँद र सुख्खायाममा निकै सास्ती खेपेका स्थानीयको घरदैलोमै खानेपानीको व्यवस्था भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र मल्लले बताए । उनका अनुसार करिब १६ किलोमिटर टाढा नेटास्थित हाँडीखोला नजिकैको मुहानबाट पानी ल्याएर उपभोक्ताका घरघरमै पुर्‍याइएको छ । भदौरे गाउँका ७० र काउरेतर्फका ३२ घरसहित कुल १ सय २ धारा निर्माण गरिएको छ । घरघरै खानेपानीका धारा भएपछि स्थानीयलाई निकै सुविधा पुगेको मध्यनेपाल नगरपालिका–६ वडाध्यक्ष विष्णुभक्त पौडेलले बताए ।


सात वर्षपछि खानेपानी

दमौली– आयोजना निर्माण थालिएको सात वर्षपछि शुक्लागण्डकी नगरपालिका–८ लालिममा खानेपानीका धारा घरदैलोमा पुगेका छन् । पूर्वनिर्धारित नक्सांकनअनुसार काम नगर्दा योजना ढिलाइ भएको उपभोक्ता समिति सदस्य चन्द्रकला भट्टराईले बताइन ।


निर्माणमा ढिलाइ भए पनि घर घरमा पानी आउँदा स्थानीय खुसी भएको उनले बताइन । २ करोड ३ लाख २५ हजार ८ सय ९९ रुपैयाँको लागतमा ढोरफिर्दी खानेपानी आयोजना निर्माण सम्पन्न भएको समितिले जनाएको छ ।

प्रकाशित : चैत्र ५, २०७५ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?