चामल किन्दा बोरा छुट

कान्तिपुर संवाददाता

गोरखा — सहुलियत दरको चामल खरिद गर्ने उपभोक्ताबाट नेपाल खाद्य संस्थानले लिँदै आएको बोराको मूल्य अब तिर्नु नपर्ने भएको छ । यसअघि ३० केजी चामल खरिद गर्दा संस्थानले बोराको २० रुपैयाँ लिँदै आएको थियो ।

खाद्य संस्थानको गोरखा शाखाको डिपोमा रहेको जापान सरकारले अनुदानमा उपलब्ध गराएको चामल । तस्बिर : हरिराम उप्रेती/कान्तिपुर

खाद्य संस्थान केन्द्रीय कार्यालयले फागुन ५ मा गरेको शुल्क छुट दिने निर्णयको परिपत्र गोरखा शाखामा प्राप्त भएपछि यहाँका माछाखोला र सिर्दिवास डिपोबाट चामल खरिद गर्ने उपभोक्तालाई राहत भएको छ ।

Citizen

२०३१ सालबाट खाद्य संस्थानले सहुलियत दरमा दुर्गम क्षेत्रका स्थानीयहरूलाई चामल उपलब्ध गराउँदै आएको छ । बोरासहित १४ सय ६० रुपैयाँमा बिक्री मूल्य तोकिएको सिर्दिवास डिपोबाट ३० केजी चामल खरिद गरेका उपभोक्ताले अब १४४० मा एक बोरा चामल खरिद गर्न सक्नेछन् । सोही परिमाणको चामलको १३ सय ७० प्रतिबोरा बिक्री मूल्य तोकिएको माछाखोलामा भने अब १३ सय ५० रुपैयाँमै चामल बिक्री गर्ने संस्थानका शाखा प्रमुख नवीनबस्नेतले बताए ।

‘पत्र प्राप्त भइसकेको छ,’ उनले भने, ‘यसअघि चामल किन्दा बोराको पैसा पनि एकैचोटी जोडेर लिन्थ्यौं, अब चामलको मात्र लिन्छौं ।’ यसअघि पनि खुद्रा खरिद गर्दा भने बोराको मूल्य तिर्न नपर्ने व्यवस्था मिलाइएको थियो । चामलसँगै बोराको मूल्य तिर्नुपरेको भन्दै उपभोक्ताले असन्तुष्टि जनाउँदै आएका थिए । ‘सहुलियतमा चामल बिक्री गर्ने संस्थानले बोराको पैसा लियो भनेर कम्पलेन पनि बढी नै आउँथ्यो,’ बस्नेतले भने, ‘संस्थानको यो निर्णयले दुर्गमका स्थानीयलाई राम्रै सहुलियत हुन्छ ।’

यहाँको सिर्दिवास र माछाखोला डिपोबाट दुर्गम क्षेत्रका स्थानीयलाई खाद्य संस्थाने सहुलियत दरको चामल उपलब्ध गराउँदै आएको छ । चालु वर्ष सिर्दिवास डिपोमा ढुवानी भएको चामल अपूग भएपछि कोटा थपको प्रस्ताव गरिएको छ । चालु आर्थिक वर्ष सिर्दिवास डिपोका लागि कोटा अनुसार चामल ढुवानी भइसकेको पनि बस्नेतले बताए ।

उत्त डिपोमा दुई हजार क्विन्टल कोटा तोकिएको थियो । ‘सिर्दिवासमा कोटाअनुसार चामल ढुवानी भएर बिक्री जारी छ,’ उनले भने, ‘अहिले ढुवानी भएको चामल अपुग हुने देखियो, जनताको पनि उच्च माग छ, थप दुई हजार क्विन्टल कोटा थपका लागी प्रस्ताव गरेका छौं ।’ गाउँपालिकाको कोटा थपको पत्रसहितको प्रस्ताव शाखाले केन्द्रमा पठाएको छ ।

अबको एक साताभित्रै कोटा थपको निर्णय आउने संस्थानले जनाएको छ । हालसम्म उक्त डिपोमा ढुवानी भएको मध्ये १२७८ क्विन्टल चामल बिक्री भइसकेको छ । सिर्दिवास डिपोबाट सिर्दिवाससहित ल्हो, बिही, प्रोक, छेकम्पार, चुम्चेत र सामागाउँका बासिन्दालाई सहुलियत दरको चामल बिक्री हुँदै आएको छ ।

छेकम्पार र सामागाउँबाट सिर्दिवाससम्म आइपुग्न दुई दिन खर्चनुपर्ने भन्दै स्थानीयहरूले उपल्लो भेगकै पायक पर्ने स्थानमा डिपो राख्न पनि माग गर्दै आएका छन् । स्थानीयको मागको आधारमा पायक पर्ने स्थानमा डिपो थपका लागि प्रस्ताव गरिएको पनि संस्थानले जनाएको छ ।

चालु आर्थिक वर्ष माछाखोला डिपोमा २५ सय क्विन्टल चामल ढुवानी गर्ने लक्ष्य राखेको संस्थानले हालसम्म पाँच सय क्विन्टल मात्र पठाएको छ । गत आर्थिक वर्षको तीन सय ९० क्विन्टल मौज्दात चामल नै यस वर्ष बिक्री भइरहेको छ ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

महिलाका हातमा धनुबाँण

कान्तिपुर संवाददाता

कास्की — पुरुषले धेरै अघिबाट जंगली जन्तु सिकारका लागि चलाउँदै आए । सरकारको वन्यजन्तु संरक्षणको कानुन र अरू सजिला हतियारको विकासले धनुबाँण यतिबेला खेलकुदका लागि मात्रै प्रयोग भएको देख्न पाइन्छ । जहाँ देखिन्छ, धनुबाँण पुरुषकै हातमा हुन्छ ।

मे त्हले दिवसको अवसरमा पाँचौं बृहत् अन्तर तमु समाज एवम् एकल मे त्हले (धनुष बाँण) प्रतियोगितामा महिलासमेत सहभागी भएका छन् । तमु प्ये ल्हु संघ जिल्ला समितिको आयोजनामा बुधबार पोखरामा भएको प्रतियोगितामा महिला सहभागिता भएको हो ।

‘धनुष बाँण महिलाले छोए पाप लाग्छ भन्ने भनाइ छ, अब त्यस्तो भनाइ भन्दै हामीले महिलालाई पछि पार्न मिल्दैन,’ संघका अध्यक्ष उमबहादुर गुरुङले भने, ‘आमाले पढे परिवारले पढ्छ भन्ने भनाइ आत्मसात गरेर समुदायको संस्कार नयाँ पुस्तामा पुर्‍याउन महिलालाई पनि धनु बाँणको प्रतियोगितामा भाग लिन हौसला दिएका हौं ।’

गुरुङ समुदायको संस्कार र पम्परा केलाउँदा पुरानो हतियार धनुषबाँण नै भएको उनले बताए । ‘यो हाम्रो संस्कृतिभित्र पर्छ,’ उनले भने, ‘५ वर्षदेखि यस्तो कार्यक्रमको आयोजना गर्दैछौं । महिलाहरूलाई भने पोहोरदेखि सहभागी गराउन थालेका हौं ।’ अहिलेको अवस्थामा जुनसुकै प्रतियोगिता महिला–पुरुष दुवैको समान सहभागिता हुनुपर्ने उनले बताए ।
‘पोहोर धनुबाँण पहिलोपल्ट समातियो,’ सहभागीमध्येकी रनमाया गुरुङले भनिन्, ‘पोहोरजस्तो डर योपल्ट लागेन ।’ एउटा हातले धनुष समातेर अर्को हातले वाँण हुत्याउनुपर्ने भएकाले बल बढी नै लाग्ने भए पनि यो खेलमा तरिका र अनुशासनको आवश्यकता आफूले बुझेको उनले बताइन् । ‘महिलाले नसक्ने भन्ने होइन रहेछ,’ उनी भन्छिन्, ‘तरिका पुर्‍याउन सक्नु/नसक्नुचाहिँ खुबी रहेछ ।’

जुनसुकै प्रतियोगितामा भाग लिनका लागि इच्छुक महिलालाई सहभागिता गराउँदा प्राप्त हुने अवसरले उनीहरूलाई हौसला मिल्ने तमु प्हेल्हुसंघ न्यूयोर्क शाखाका संस्थापक अध्यक्ष नरवीर गुरुङले बताए ।

संघका केन्द्रीय सल्लाहकार बलबहादुर तमुले धनुवाँण विशेषगरी गुरुङ, थकाली र तामाङ समुदायको संस्कार भएको बताए । बिहीबार सम्पन्न हुने प्रतियोगितामा गौरव तमु समाज रूपाकोट, क्होला दीप समाज, क्होला ट्होधीं रामबजार र प्येल्हु संघ केन्द्रीय युवा संघलगायतका १४ समूह सहभागी छ । एकलतर्फ, रनमाया गुरुङ, शान्ति गुरुङ, गौरी गुरुङ र मणिलाल गुरुङलगायत सहभागी छन् ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT