कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुम्बा बनाउन घरदैलो

गोरखा — भूकम्पले भत्काएको बौद्घ गुम्बा पुनर्निर्माणको क्रममा पैसा नपुगेपछि यहाँ घरदैलो सुरु गरिएको छ । गोरखा बौद्घ समूहले सोमबार गोरखा नगरपालिका–८ चाइनिज धाराबाट घरदैलो सुरु गरेको हो । 

गुम्बा बनाउन घरदैलो

२०५६ मा गोरखा नगरपालिका–५ सतीपीपल बनाइएको गुम्बा २०७२ वैशाख १२ को भूकम्पले भत्काएको थियो । २०७४ चैतबाट सुरु भएको पुनर्निर्माणको काम अझै पूरा भइसकेको छैन । निर्माण समितिका अनुसार करिब दुई करोडको लागतमा गुम्बाको पुनर्निर्माण सक्ने लक्ष्य थियो ।


गुम्बा पुनर्निर्माणका लागि गोरखा नगरपालिकाले दुई आर्थिक वर्षमा ३० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । अपुग रकम संघसंस्था, शुभचिन्तक र घरदैलो कार्यक्रमबाटै संकलन गर्ने लक्ष्य राखिएको गोरखा बौद्घ समूहका अध्यक्ष विष्णु थापामगरले बताए । ‘नगरपालिकाको अनुदान र श्रमदानबाट पहिलो ढलान सकेर २४ पिल्लर उठाइसक्यौं,’ उनले भने, ‘स्वेच्छिक दानबाट उठेको रकमले बाँकी काम पूरा गर्छौं ।’ एक वर्षको अवधिमा करिब ४५ लाख रुपैयाँ बराबरको काम सकिएको उनले बताए । आर्थिक स्रोत जुटाउँदै अबको दुई वर्षभित्र पुनर्निर्माण सक्ने समूहले लक्ष्य लिएको छ ।


भूकम्पले जिल्लाका १०५ गुम्बामा क्षति पुर्‍याएकाले यसका लागि सरकारले पनि रकम उपलब्ध गराउने समूहले अपेक्षा लिएको छ । ‘भूकम्पले भत्किएका गुम्बा पुनर्निर्माणका लागि सरकारले पनि केही रकम दिन्छ कि भन्ने अपेक्षा छ,’ उनले भने, ‘घरदैलोबाट केही उठ्छ, देश विदेशमा रहेकालाई पनि सहयोगका लागि अपिल गर्छौं ।’


सोमबार पहिलो दिन शक्तिचोकका विष्णु थापा मगरले ५० हजार ५ सय र चाइजिनधाराकी तिलु गुरुङले २५ हजार नगद सहयोग गरेका छन् । ‘इच्छाअनुसार १०, २० देखि ५० हजारसम्म रकम उठेको छ,’ संस्थाकी कोषाध्यक्ष दिलकुमारी गुरुङले भनिन्, ‘सकेसम्म गोरखा आसपासका सबै घर पुग्छौं । गुम्बा बनेपछि यहाँको पर्यटक बढ्छन्, यहाँको आर्थिक समृद्घिमा समेत टेवा पुग्छ भन्ने विश्वास लिएका छौं ।’


करिब ५० लाख रुपैयाँ घरदैलोबाट संकलन भए गुम्बा निर्माणले गति लिने अपेक्षा राखिएको छ । ‘गुम्बासँगै हल पनि बन्छ, हामी यो धर्म ऊ धर्म नभनी सबैलाई विवाह व्रतबन्धमा प्रयोग गर्न मिल्ने खाले संरचना बनाउँछौ,’ उनले भनिन् । पश्चिमकाली हुँदै गुम्बा अवलोकन गरेर रामशाह चौतारो हुँदै गोरखा दरबारसम्म पुग्ने पर्यटक पुग्न सक्ने उनले बताइन् ।


गुम्बा निर्माण स्थलबाट उत्तरको मनास्लुलगायतका हिमश्रृङ्खलाको पनि अवलोकन गर्न मिल्ने भएकाले पर्यटकको रोजाइमा पर्ने समूहका अध्यक्ष थापा बताउँछन् । ‘यसको निर्माण सम्पन्न गर्न सके बौद्घ धर्मालम्बीको मात्र नभई पर्यटककै आकर्षणको केन्द्र बन्छ,’ उनले भने, ‘धार्मिक पर्यापर्यटन वृद्घि हुनेमा पनि कुनै दुईमत छैन ।’ उक्त गुम्बा निर्माणका लागि स्थानीय भोलारत्न शाक्यले १ रोपनी ३ आना ३ पैसा जग्गा दान गरेका थिए ।

प्रकाशित : चैत्र १२, २०७५ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?