कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाहुनालाई लालीगुराँसले स्वागत

प्रकाश बराल

बागलुङ — सदरमुकाम बागलुङका मञ्जुल शाक्यका लागि भकुन्डे क्षेत्र नौलो होइन । उनले सार्वजनिक बिदाको दिन पारेर भकुन्डे घुम्ने होमस्टे (घरवास) मा बास बस्ने योजना बनाए । पहिल्यै खबर गरेर पुग्दा होमस्टेमा स्थानीयले फूलमालाले स्वागत गरेर आन्तरिक पर्यटकको आतिथ्य गरेको देख्दा भने निकै रमाइलो माने ।

पाहुनालाई लालीगुराँसले स्वागत

भकुन्डेमा होमस्टे सुरु भएको दशक पुगेको छ । अतिथि सत्कारबाट पाहुना रिझाउने गाउँलेको चलनलाई घुमन्ते (पर्यटक) ले मन पराएका छन् । होमस्टेमा पर्यटक पनि बढेका छन् । पाहुना बढेपछि स्थानीयले घरमा बाँडेर खाना खुवाउने र बास दिने गरेका छन् । होमस्टेसहित पर्यटकीय क्षेत्रका सूचक धेरै भएकाले सरकारले १ सय १ गन्तव्यमा भकुन्डे सूचीकृत गरेको छ । जिल्लाले पनि भकुन्डेलाई घुमघामको राम्रो गन्तव्यको सूचीमा दोस्रो नम्बरमै राखेको छ ।


गण्डकी प्रदेशले आगामी ५ वर्षभित्र ३ सय होमस्टे निर्माण र प्रवर्द्धन गर्ने योजना अगाडि सारेपछि यहाँका होमस्टे सञ्चालक अझै हौसिएका छन् । ‘पर्यटक बढाउन सकियो भने छोराछोरी विदेशिनु पर्दैन । गाउँमै बसेर व्यावसायिक बन्न सकिन्थ्यो,’ भकुन्डेकी अप्सरा थापाले भनिन्, ‘खानेपानीको व्यवस्थापनमा नगरपालिकाले सहयोग गरेमा अरू धेरै काम हामी गर्छौं ।’

सडकको स्तरोन्नतिका लागि पनि पहल भइरहेको उनले बताइन् । केही समयअघि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले यहाँको होमस्टेमा आएर नयाँ व्यवस्थापनबारे छलफल पनि गरेका थिए । भएकालाई सुधार गर्ने, व्यावसायिक बनाउने र जागिरका लागि अन्यत्र जानै नपर्ने बनाउन सकिने सम्भावनाबारे स्थानीयसँग छलफल पनि भएको थियो । पाँच वर्षभित्र २० लाख पर्यटक गण्डकी प्रदेशमै ल्याउने योजनामा होमस्टे नै प्राथमिकतामा रहने नीति भएकाले सञ्चालकले घर थप्न पहलसमेत गरेका छन् ।


सरकारले अर्गानिक खेती विस्तार, विद्युत् र पानीको व्यवस्थापन तथा सामुदायिक भवन निर्माणमा लगानी गर्ने प्रतिबद्धता गरेको छ । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री विकास लम्सालले पनि होमस्टे प्रवर्द्धनमा तालिमका प्याकेज ल्याउने भनेपछि स्थानीयले घर थप्ने तयारी गरेका छन् ।

यहाँ ९ घरले छुट्टै पाहुना कोठा बनाएका छन् अन्यमा सामान्य भएको स्थानीय मुना थापाले बताइन् । बागलुङ नगरपालिकाको वडा १० मा पर्ने भकुन्डेमा ५० जना पाहुना बसाल्ने क्षमता छ । अब उक्त क्षमता बढाएर तेब्बर बनाउने अभियान थालेर विदेशी पाहुना भित्राउन अगुवाइ भइरहेको हो । गाउँ छाडेर सहर झरेकालाई होमस्टे सञ्चालन गरेर व्यावसायिक बन्न सञ्चालकले बोलाएका छन् ।


नगरपालिकाले खानेपानी योजना ल्याएर गाउँलाई व्यावसायिक बनाउने अभियानमा साथ दिने प्रमुख जनकराज पौडेलले पनि आश्वासन दिएका छन् । ‘गाउँमै रोजगारी बढाउने योजनालाई खानेपानीकै कारण असर नपरोस् भनेर योजनाको छनोट भइरहेको छ’ पौडेलले भने, ‘स्रोत खोजेर केही संकलन ट्यांकीसमेत बनाउने र पानी विरतण गर्ने गरी काम गर्छौं ।’ मगर संस्कृतिमा आधारित गीत, संगीत र नृत्यहरू देखाउने, स्थानीय जातको खाना खुवाउने भएकाले बिदाको दिन सदरमुकामका कर्मचारीसमेत भकुन्डे जान रुचाउँन थालेका छन् ।


यहाँ बागलुङ, पर्वत र म्याग्दीको सदरमुकाम देखिने गरी भ्यूटावर पनि निर्माण गरिएको छ । भकुन्डेबाट १२ वटा हिमश्रृंखला हेर्न सकिने भएकाले होमस्टेमा पुगेका पर्यटक भ्यूटावर पनि पुग्ने गर्छन् । यहाँका ४० घरमा होमस्टे बनाउन सकिने पूर्वाधार छ । खाना पकाउने, सरसफाइ र पाहुना स्वागतका लागि उनीहरूले तालिमपछि पाएको प्रमाणपत्र र घरघरमा होमस्टेको बोर्ड बनाएर राखिएको छ । होमस्टेसँगै यहाँका ९ वटा घरमा भने छुट्टै पाहुना कोठा पनि निर्माण गरिएको छ । थापासहित प्रेमबहादुर थापा, अप्सरा थापालगायतले अझै लगानी बढाउने योजना बनाएको बताए ।


जापानी र कोरियाली भकुन्डे नियमित पुग्छन् । काठमाडौंस्थित विभिन्न ट्रभल्स एजेन्सी र कजेलका विद्यार्थीहरूको भ्रमणमा पनि भकुन्डे रोजाइमा पर्न थालेको होटल संघका अध्यक्ष नीलेश राजभण्डारीले बताए । ‘मेरै होटलमा आएर बसेका धेरै विद्यार्थीहरू दुईदेखि पाँच दिनसम्मको प्याकेज बनाएर भकुन्डे पठाएको छु’ राजभण्डारीले भने, ‘होमस्टेको प्रवर्द्धनका लागि संघ र जेसीजले पनि प्रवर्द्धनात्मक काम गरेका छौं ।’ २२ सय मिटर अग्लो भकुन्डेमा गर्मी मौसममा पनि शीतल वातावरण पाइन्छ ।

प्रकाशित : चैत्र १८, २०७५ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?