कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रातिराति काम

कार्यालय खोल्ने समय १०–५ भए पनि बेलुका ८ बजेसम्मै कर्मचारी व्यस्त छन् । चालु वर्षको बेरुजु फर्छ्योट गर्न उनीहरुलाई भ्याइनभ्याइ छ ।
प्रकाश बराल

बागलुङ — योजना सम्झौता गर्न दिउँसो नगरपालिकाको कार्यालय आएका गंगाबहादुर थापा प्रमुख प्रशासकीय अधिकृतलाई नभेटेर फर्किए । उनीजस्तै अरू पनि केही सेवाग्राही त्यसरी नै फर्केका थिए । 

रातिराति काम

आइतबार बेलुकी ८ बजे प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर कार्यालयमा थिए । त्यतिबेला उनीसहित प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदी र लेखा अधिकृत कृष्ण आचार्यले धमाधम काम गरिरहेका थिए । दिउँसो सम्झौताको फाइल ल्याएकाहरू फर्किए पनि पहुँचवालाको भुक्तानी र बेरुजु घटाउने काम कर्मचारीले बेलुकी अबेरसम्म कार्यालयमा बसेर गरिरहेका छन् ।


सामान्यतया सरकारी कार्यालय खोल्ने समय बिहान १० देखि साँझ ५ बजेसम्म मात्र हो । कुँवरले भने दिउँसो नभ्याएर राति पनि काम गर्नुपरेको दाबी गरेका छन् । ‘कतिपय काम दिउँसो भ्याइँदैन, त्यसैले राति गरेका हौं,’ उनले भने, ‘बेरुजु घटाउने काम भइरहेकाले धेरै फाइल रुजु भएको हो ।’ लेखा अधिकृत आचार्य भने सरुवा भएका छन् । साताअघि नै उनको स्थानमा अर्का अधिकृत आइसके पनि उनले काम पाएका छैनन् । राति राति कार्यालय खोलेर काम गर्दा सुरक्षा जोखिम हुने भन्दै प्रहरी प्रमुखले बन्द गर्न भनेपछि आइतबार राति सवा ८ बजे मात्र कार्यालय बन्द भएको थियो ।


नगरपालिकामा बारम्बार रातमा काम भइरहेको उपप्रमुख सुरेन्द्र खड्कासहित वडाध्यक्षहरू बताउँछन् । योजनाको काम लिएर आएका उपभोक्ताहरू प्राविधिक र लेखाको काम सकेर पनि हाकिम नभेटेपछि रोकिन्छन् । कार्यालयमा तल्लो तहका कर्मचारीलाई जिम्मेवारी नदिँदा धेरै काम रोकिने गरेको हो । ‘भएका कर्मचारीलाई जिम्मेवारी छैन, हाकिम कार्यालयमा बस्दैनन्’ एक कर्मचारीले भने, ‘कतिपयलाई फोनमा कुरा गर्न सल्लाह दिने गरेका छौं ।’


कुँवरले चालु वर्ष बेरुजु र्फ्छ्योटमा लागेकाले धेरै व्यस्तता भएको भन्दै कार्यालयको समय अघि–पछि काम गरेको दाबी गर्छन् । ‘यो वर्ष बेरुजु कम गर्छौं, त्यसका लागि धेरै काम गर्नुपरेको छ’ कुँवरले भने, ‘कतिपयले रकम फिर्ता गरिरहेका छन् ।’ बेरुजु घटाउने क्रममा नक्कली बिलभरपाई गरेर लगेका रकम पनि फिर्ता हुन थालेका छन् ।


लेखा अधिकृत आचार्यका अनुसार बागलुङ नगरपालिका वडा नं. ४ का अध्यक्ष ध्रुवबहादुर केसीले दोहोरो भुक्तानी लिएको १३ लाख ७ हजार फिर्ता गरेका छन् । केसी सभापति रहेको नेपाल नेत्रज्योति संघले कामै नगरी नक्कली बिल बनाएर उक्त रकम भुक्तानी लिएको थियो । महालेखाको निर्देशनपछि उनले रकम फिर्ता गरेका हुन् । बागलुङ नगरपालिकाले आर्थिक नियमावली र कार्यविधि ऐनविपरीत खर्च गरेको १ करोड १६ लाख रुपैयाँ फिर्ता गर्न महालेखाले अघिल्लो महिना निर्देशन दिएको थियो । ठहर भएका अन्य बेरुजु पनि फिर्ता हुन थालेका छन् ।


केही समय आलटाल गरे पनि धेरै विरोध आउन थालेपछि केसीले पहिलोपटक रकम फिर्ता गरेका हुन् । अनियमितता भएको देखिएको झन्डै १५ करोडमध्ये धेरैजसो भने कागजात नपुगेका योजना थिए । सदरमुकामस्थित नेत्रज्योति संघको भवन निर्माणमा नगरपालिकाले अघिल्लै वर्षको कामलाई दुई पटक भुक्तानी दिएको थियो ।


अघिल्लो वर्ष बनिसकेको भवन देखाएर संघले १३ लाख रुपैयाँ थप भुक्तानी मागेको हो । ढलान गरेको, भर्‍याङ बनाएको, ढोकाको चौकोसलगायतको काम गरेको नक्कली बिल भरपाई संघले पेस गरेको महालेखाले भेटाएको थियो । केसीले प्राविधिक कारणले त्रुटि भएकाले रकम फिर्ता गरेको दाबी गरे ।


‘अघिल्लो वर्ष बजेट पाउनका लागि काम गरेको बनायौं, दोस्रो वर्ष खर्च गरेका हौं’ केसीले भने, ‘रकम भ्रष्टाचार गरेका भने होइनौं ।’ प्रक्रियागत त्रुटिलाई आर्थिक अनियमितता भएको भनेर महालेखाले बुझेको दाबी उनले गरे । एउटै काममा दुईपटक भुक्तानी लिनु भ्रष्टाचार भएको अधिवक्ता राम शर्माको भनाइ छ । ‘जनप्रतिनिधिजस्तो व्यक्तिले त्यस्तो काम गर्न नहुने थियो,’ उनले भने, ‘अनियमितता गर्न कसैलाई पनि छुट छैन । यो कामचोर प्रवृत्ति हो ।’


लेखा शाखाका अनुसार अहिलेसम्म ४७ लाख ९४ हजारभन्दा बढी रकम फिर्ता भइसकेको छ । उनीहरूले नगरपालिकाको खातामा रकम जम्मा गरिदिएको आचार्यले बताए । सामाजिक सुरक्षा भत्ता वितरण गरेका वडा सचिवले पनि बेरुजु रकम फिर्ता गरिरहेका हुन् । हाल निर्माणाधीन बसपार्कमा पनि नगरपालिकाले कामै नभएको भुक्तानी गरेको भेटिएपछि निर्माण समितिले १० लाख ३६ हजार फिर्ता गरेको छ ।


१ सय ७५ घनमिटर माटो कटिङ गर्नुपर्ने सम्झौतामा १ सय ६४ घनमिटर मात्र कटिङ गरेको, ३ हजार ३ सय १२ घनमिटर माटो पुर्नुपर्नेमा कटिङकै माटो लगेर मेसिनले पुरेको भेटेपछि १० लाख ३६ हजार अनयिमितताको ठहर गरेको थियो । नगरपालिकाले काम पूरा नभए पनि उपभोक्ता समितिलाई ४० लाख भुक्तानी दिएको थियो । त्यही ठाउँमा हाल ठेकेदारमार्फत बसपार्क निर्माणको काम सुरु भइसकेको छ ।


अनियमितता र लागत स्टिमेटभन्दा बढी भुक्तानी दिएका झन्डै पाँच करोड रुपैयाँ फिर्ता हुनुपर्ने महालेकाको ठहर छ । त्योमध्ये १ करोड ८९ लाखको प्रतिस्पर्धाबिना सामान खरिद गरेको पनि फिर्ता गर्न भनिएको छ । ‘अहिले मेयरको तोकको भरमा कारोबार गरेको व्यापारी भागदौडमा छन्’ कार्यपालिकाका एक सदस्यले भने, ‘तोकआदेशको भरमा कानुन मिच्दा यस्तो अवस्था आयो ।’


बढी भुक्तानी लगेकाहरू धमाधम फिर्ता गर्न आएकाले ती बिल नक्कली भएको प्रमाणित हुन थालेको आचार्यले बताए । ‘भ्रष्ट्राचार त नभनौं, अनियमितता भने भएको हो’ आचार्यले भने, ‘म भर्खरै आएकाले गत वर्षका धेरै कारोबार हेर्न बाँकी छ ।’ महालेखाले जेष्ठ नागरिक दिर्घ सेवा सम्मान, बहुक्षेत्रीय फोषण कार्यक्रम, गरिबसँग विश्वेश्वर कार्यत्रम तथा स्थानीय शासन तथा सामुदायक विकास कार्यक्रमको बजेट खर्च नगरी नगरपालिकाले खातामा जम्मा गरेको समेत भेटाएको थियो । महालेखाले आर्थिक कार्यविधि ऐन २०५५ को दफा १९ (१) बमोजिम ३५ दिनमा फिर्ता नभए कारबाही प्रक्रिया थाल्ने भनेपछि फिर्ताको क्रम सुरु भएको हो ।

प्रकाशित : चैत्र १९, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?