कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपांगता परिचयपत्रमा अझै अलमल

विना थापा

कास्की — साबिकको महिला तथा बालबालिका कार्यालय खारेज भयो । त्यसका सबै जिम्मेवारी स्थानीय तहमा सरेको छ । पोखरा महानगरपालिकाको कार्यालयले अपांगता भएकाहरूलाई परिचयपत्र वितरण गर्न थालेको पनि तीन महिना भयो । तर, परिचयपत्रको खाँचो परेकाहरू महिला तथा बालबालिका कार्यालयले छाडेको भवनमा पुग्न छोडेका छैनन् ।

महानगर क्षेत्रभित्रका मात्रै होइन गाउँपालिकाहरूबाट पोखरा आइपुगेकाहरू पनि अझै झुक्किने गरेका छन् । संघीयता कार्यान्वयनसँगै सामाजिक सुरक्षा भत्ताका लागि दिइने परिचयपत्र वितरणको जिम्मेवारी स्थानीय तहमा विषयत एकाइका रूपमा आएको छ । स्थानीय तहहरूले पनि सरोकारवालासम्म परिवर्तनको जानकारी सहज रूपले प्रवाह नगर्दा धेरैले हैरानी खेप्ने गरेका हुन् ।


कास्कीमा पोखरा महानगरसँगै गाउँपालिकाहरू अन्नपूर्ण, माछापुच्छ्रे, मादी र रूपाले आफ्नो क्षेत्रभित्रका अपांगता भएकाहरूलाई परिचयनपत्र वितरण गरिरहेका छन् । ‘थाहै थिएन, महिला बालबालिका अफिस पुग्दा पो त्यो अफिस उठिसकेको थाहा भयो,’ पोखरा–२५ का प्रेमबहादुर गुरुङले भने, ‘छोराको कार्ड बनाउन गएको थिएँ । पछि पो नगरपालिकामै पाइन्छ भन्ने थाहा भयो ।’ यस्तै सास्ती पाएकी पोखरा–३१ की सीता भट्टराइले नगरपालिकामा वितरण हुन्छ भन्ने जानकारी सबैमा नपुगेको बताइन् । ‘वडा अध्यक्षहरूले भनिदिने गरे पनि कति राम्रो हुने,’ उनले भनिन्, ‘वडा वडामा अपांगता भएकाहरू धेरै पनि त हुँदैनन् ।’


अपांगता भएकाहरूलाई अवस्था पहिचान गरी परिचयपत्र वितरण गर्न पोखरा महानगरपालिकामा उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा समिति छ । समितिमा वडासदस्य, सुरक्षाकर्मी, डाक्टर र अपांगता भएकाहरूका प्रतिनिधिलगायत ७ सदस्य छन् । अपांगले बुझाएको फारमलाई समितिले अवस्था पहिचान गरेर रातो, नीलो पहेंलो वा सेतो कार्ड उपलब्ध गराउने महानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले बताइन् । ‘महानगरपालिकाले गएको माघदेखि बाँड्न थालेको हो,’ उनले भनिन्, ‘अहिलेसम्म करिब सयवटा वितरण भइसक्यो ।’ प्रत्येक महिनाको सोमबार दिनेगरी कार्ड वितरणको पालो मिलाइएको उनले बताइन् ।


परिचयपत्रका लागि आवेदकले वडा कार्यालयको सिफारिस, सरकारी स्वास्थ्य संस्थामा जाँच गरेको पुर्जी, नागरिकताको प्रतिलिपि र चारवटा पासपोर्ट साइजको फोटो पेस गर्नुपर्छ । महानगरले वितरण थाल्नुअघि पोखरामा अपांगता परिचयपत्र पाउनेको संख्या करिब ६ हजार जना छ । त्यसो त कार्यविधि बनाएर परिचयनपत्र वितरण थाल्ने कास्कीमा पोखरा नै अगाडि छ । चारवटा गाउँपालिकाले कार्यविधिको तयारीमा समय लागेको भन्दै ढिलाइ गरेका छन् ।


अन्नपूर्ण गाउँपालिकामा आइतबारदेखि परिचयपत्र वितरण सुरु गरिएको अध्यक्ष युवराज कुँवरले बताए । ‘पहिलो दिन दुई जनालाई कार्यालयबाटै दियौं,’ उनले भने, ‘बाँकीलाई वडा कार्यालयबाट दिने व्यवस्था गर्दै छौं । निकै अशक्त भएकालाई घरमै गएर पनि दिन्छौं ।’ कार्यविधि तयारीमा समय लागेकाले माछापुच्छ्रे गाउँपालिकाले आगामी साताबाट परिचयपत्र वितरण थालिने जनाएको छ । ‘सबै तयारी गरेका छौं, आउने हप्ताबा दिन थाल्छौं,’ अध्यक्ष कर्णबहादुर गुरुङले भने ।


मादी गाउँपालिकाले वडावडामा फारम पठाउनले सकिएकाले वैशाखको पहिलो हप्तामा वितरण थालिने जनाएको छ । रूपा गाउँपालिकाले पहिलो चरणमा वडावडामा शिविर राखेर वितरण थाल्ने अध्यक्ष नवराज ओझाले बताए । मादी गाउँपालिकाले पनि तयारी पूरा गरेकाले वैशाख १५ भित्र वितरण थालिने अध्यक्ष वेदबहादुर गुरुङले बताए ।

प्रकाशित : चैत्र २७, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?