कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ वर्ष मान्न होटल रिसोर्टमा भीड

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीका पर्यटकीय क्षेत्रका होटल तथा रिसोर्टमा आन्तरिक पर्यटक भरिएका छन् । नयाँ वर्षमा परिवार र साथीहरूसँग घुम्नका लागि यहाँ मुलुकका विभिन्न भूभागबाट पर्यटक आएका छन् । 

बजार क्षेत्रका होटलहरूमा भन्दा नारायणी किनार र मध्यवर्ती क्षेत्रमा रहेका रिसोर्टमा पर्यटकको आकर्षण छ । चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, चरा दृश्यावलोकन, डुंगा सफारी, थारू, बोटे, माझीको मौलिक संस्कृति र खानाको स्वाद लिँदै नयां वर्ष मनाउन काठमाण्डौं, पोखरालगायत स्थानबाट समेत यहां घुम्न आएका छन् । साना कटेजदेखि महँगा होटलहरूसमेत एक हप्तासम्मका लागि बुक भएको छ ।


काठमाडौंबाट नयाँ वर्ष मनाउन सपरिवार अमलटारी आएका दिनेश श्रेष्ठलाई यहाँको प्राकृतिक सुन्दरता र थारु जातिको मौलिक खानाले लोभ्यायो । प्रायः छुट्टीको समयमा परिवारसहित सौराहा र पोखरा जाने उनी यसपटक भने अमलटारीमा छन् । ‘तराईको क्षेत्र कस्तो होला भन्ने थियो तर, नारायणी किनारको दृश्यावलोकन, बोटिङ र सफारी गर्न पाउँदा निकै खुसी लाग्यो,’ उनले भने, ‘थारु जातिको भेषभुषा, नाच र शान्त वातावरणमा नारायणी नदीमा डुंगामा सयर गर्न पाउँदा निकै रमाइलो भयो ।’


नारायणी किनारमा मध्यम र साना कटेज गरेर सयवटा भन्दा बढी पर्यटकीय होटल सञ्चालनमा छन् । पूर्वपश्चिम राजमार्गबाट नजिकै भएकाले होटल तथा रेस्टुरेन्ट खुल्ने क्रम बढ्दो छ । कावासोती १५ मा रहेको बोटे कटेजका सञ्चालक तजबिज बोटेले नेपाली नयाँ वर्ष मनाउनका लागि भारतीयसँगै विभिन्न जिल्लाबाट पाहुनाले अग्रिम बुकिङ गरेको बताए । ‘हरेक वर्ष यो क्षेत्रमा आउने पर्यटकको संख्या बढिरहेको छ,’ उनले भने, ‘नयाँ वर्ष, चाडपर्व र बालबालिकाको बिदा भएको समयमा पर्यटकको माग पूरा गर्न पनि धौधौ हुने गर्छ ।’


अहिले यस क्षेत्रमा नेपालकै महँगा भनिने टाइगर टप्स थारु भिलेज, टेम्पल टाइगर, मचान भिल्ला र आइसल्यान्ड जंगल रिसोर्टले सेवा दिइरहेका छन् । बोटे कटेज र रिभर साइडजस्ता सुविधा सम्पन्न रिसोर्ट पनि सञ्चालनमा छन् भने मध्यम र साना कटेज खुल्ने क्रम बढ्दो छ ।


होटल व्यवसायी संघ नवलपुरका अध्यक्ष बालकृष्ण पौडेलका अनुसार पहिले जस्तो विदेशी पर्यटकको भरमा बस्नुपर्ने अवस्था छैन् । स्वदेशी पर्यटकहरूको बसाइ लम्बयाउन सक्ने हो भने यस क्षेत्रमा अन्य समय पनि पाहुनाको खाँचो हुँदैन । ‘नयाँ वर्षको पूर्वसन्ध्यामा जिल्लाको पर्यटकीय क्षेत्र नारायणी किनारमा रहेका होटल तथा लज भरीभराउ छन् ।’ उनले भने, ‘पहिले पहिले सिधै होटलमा पुगेपछि बुक गर्नेले अहिले एक हप्ता पन्ध्र दिन अगाडि नै अग्रिम बुकिङ गर्नुपर्ने अवस्था छ ।’


स्वागत गर्न पोखरा तयार

पोखरा (कास)– पर्यटकीय क्षेत्र लेकसाइड नयाँ वर्ष मान्न आउने पाहुनालाई स्वागत गर्न झकिझकाउ छ । यही बेला वर्षेनी आयोजना गर्ने नव वर्ष फेवा महोत्सव पनि शुक्रबार सुरु हुँदै छ ।


महोत्सवको तयारी पुरा भएको आयोजक पश्चिमाञ्चल होटल संघले जनाएको छ । लेकसाइडको कोमागाने पार्कमा हुने महोत्सवको १६ औं संस्करण नेपाली परिकार प्रवर्द्धनमा केन्द्रित रहने संघ अध्यक्ष विकल तुलाचनले बताए । ‘यही बेला पारेर आउने पाहुनाका लागि हामीले बसाइ मितव्ययी बनाउने प्याकेज तयार गरेका छौं,’ कोमागाने पार्कमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आफ्नो बजेटअनुसार पाहुनाले प्याकेज रोज्न सक्छन् । घुमघाम र खानाका लागि पनि छुटको व्यवस्था गरेका छौं ।’ लेकसाइड क्षेत्रमा वर्षेनी होटल रेस्टुरेन्ट थपिएका छन् । त्यसको तुलनामा विदेशी पाहुनाको आगमन दर बढेको छैन ।


यस्तो अवस्थामा आन्तरिक पर्यटकले व्यवसायलाई ठूलो आडभरोसा दिएको अध्यक्ष तुलाचनले बताए । ‘हामीले महोत्सवको अवधिलाई तीन दिनमा छोट्याए पनि सेवा व्यवसायमा गुणस्तर दिने प्रयास गरेका छौं,’ उनले भने, ‘यसपटकको महोत्सव पनि आन्तरिक पर्यटकको रुचिलाई ध्यानमा राखेर डिजाइन गरिएको छ ।’


होटल रेस्टुराँमा खाना, बास र घुम्ने व्यवस्थापनका लागि संघले चार प्रकारको प्याकेज बनाएको जानकारी उनले दिए । त्यसैअनुसार सबै पर्यटक व्यवसायीले पाहुनालाई छुट दिने सहमति छ । तीनदिने महोत्सवमा डुंगा दौड, पर्यटक दौड र लोक दोहोरीका कार्यक्रम पनि छन् । पहिलो दिन शुक्रबार पोखरा र आसपास क्षेत्रका बासिन्दाको सांस्कृतिक झाँकीसहित महोत्सव उद्घाटनको कार्यक्रम छ ।

प्रकाशित : चैत्र २९, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?