सानैमा विवाह, अहिले पछुतो

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको कावासोती १५, शेरगन्जकी २१ वर्षीया कल्पना मुसहरको काखमा ६ वर्षका छोरा छन् । उनको दैनिकी घरधन्दा र परिवारको स्याहारसुसारमा नै बित्छ । माइतीमा हुँदा विवाहपछि श्रीमान्को कमाइ खान पाइने र राम्रो लगाउन पाइने उनलाई आशा लागेको थियो ।

सानैमा विवाह, अहिले पछुतो

गाउँमा पनि अभिभावकले यस्तै भन्ने गर्दथे । १५ वर्षमै विवाह गरेकी मुसहरका पति मजदुरी गर्दछन् । ‘विवाह गरेपछि श्रीमान्को कमाइ खान पाइने, राम्रो लगाउन र सुख पाइने आसमा सानै उमेरमा विवाहमा गरियो,’ उनले भनिन्, ‘विवाहपछि घरपरिवारको हेरचाह गर्नुबाहेक अन्य केही भएन् । खेतीपाती गर्न जग्गा पनि छैन, अहिले बल्ल पछुतो लागेको छ ।’


कलिलैमा विवाह गर्न हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि सुख पाइने आशामा अभिभावकले पनि विवाहका लागि दबाब दिए । एक पटक बिहे गरेरै जानुपर्ने भन्दै रजस्वला हुनेबित्तिकै यस समुदायमा बालिकाको सानै उमेरमा बिहे गरिदिने चलन छ । कल्पना जस्तै शेरगन्जकै अस्मरिया मुसहरको विवाह १४ वर्षमा नै भयो । २२ वर्ष हुँदा उनी तीन सन्तानकी आमा भइसकेकी छन् । आफ्नै इच्छाले विवाह गरेकी उनलाई अहिले पछुताउनुबाहेक अन्य केही उपाय छैन ।


शेरगन्जमा कल्पना र अस्मरिया जस्तै अन्य बालिकाको पनि सानैमा विवाह हुने गरेको छ । घरपरिवारको आर्थिक अवस्था कमजोर हुने र बीचमा नै पढाइ छाड्नुपरेपछि किशोरीहरूले सानै उमेरमा आफनै इच्छाअनुसार विवाह गर्ने गरका छन् । अभिभावकले छोराछोरीको इच्छाअनुसार लालनपालन गर्न नसकेपछि सुख पाउने आसमा विवाह गर्ने गरेका छन् ।


यस समुदायमा अहिले पनि ९० प्रतिशत बालविवाह हुने गरेको मुसहर समुदायका अगुवा सन्तबहादुर माझीले बताए । ‘गाउँमा अभिभावकहरूलाई सानैमा विवाह गराउनुहुन्न भनेर विभिन्न संघसंस्थाले अभियान चलाउने गरेका छन्,’ उनले भने, ‘कार्यक्रममा सहभागी हुँदा बुझेझैं गरेर हुन्छ, हस् भने पनि पन्ध्र वर्ष पुगेपछि अब बिहे गर्नुपर्छ पढ्ने होइन भनेर विवाहको तयारी गर्छन् ।’


पहिलेभन्दा बालविवाह केही कम भए पनि नगरपालिकाभित्रकै समुदायमा बालविवाह हटाउन सकिएको छैन । ८५ घरधुरी रहेको यस शेरगन्जमा ३ सय ३७ माझी मुसहर समुदायको बसोबास छ । कावासोती नगरपालिकाको वडा नम्बर ७, ११, १२, १३ र १५ नम्बर वडामा पनि यो समुदायको बसोबास छ । चेतना अभावमा पुर्ख्यौली पेसामा मात्रै निर्भर हुँदा आर्थिक अवस्था दयनीय छ ।


बालविवाह न्यूनीकरणका लागि नगरपालिका र विभिन्न समुदायसँग समन्वय गरेर चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंखर मर्दनियाले बताए ।

प्रकाशित : चैत्र ३०, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?