कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिकेनन् मुढा, बन्दी निराश

कैद भुक्तानसागै ब्यवसायिक काम थालेका बन्दीले बनाएका मुढा राख्ने ठाउाको अभाव
हरिराम उप्रेती

गोरखा — तीन महिनाअघिसम्म मुढा बुनेर बजार पठाउन गोरखा कारागारभित्र कैदीबन्दीबीच हानथाप चल्थ्यो । सीप सिकेर पोख्त भएकाहरूले दुई दिनमा एउटा मुढा तयार पार्थे । सीप सिक्न इच्छुकले बाँस ताछ्ने र रङरोगन गर्ने सहायक कामसँगै विस्तारै बुन्न मेलो ल्याउँथे । 

बिकेनन् मुढा, बन्दी निराश

केही दिनयता उनीहरूले मुढा बनाउने काममा जाँगर चलाएका छैनन् । फुर्सदिला बस्छन्, बुन्दैनन् । तयारी अवस्थाका पाँच सयभन्दा बढी मुढा कारागार परिसरमै थन्किएका छन् । मुढाले बजार नपाएपछि समस्यामा परेको चौकीदार गोपाल बरामले बताए । ‘मुढा बिक्न छाडेको दुई महिना भयो,’ उनले भने, ‘व्यापारीसँग कन्ट्याक गरेर गोरखादेखि नारायणगढ बजारसम्म पठाउँथ्यौं । अहिले व्यापारीले बिक्दैन भनेर लान आनाकानी गरेका छन् ।’


दुई महिनाअघिसम्म मासिक ४/५ सयवटाभन्दा बढी मुढा बिक्री हुने गरेको थियो । कुनै–कुनै वर्ष मागअनुसार तयार पार्नै हम्मेहम्मे पनि पर्थ्यो । अहिले मुस्किलले मासिक सयवटा हाराहारी बिक्री हुने गरेको छ । ‘तयारी अवस्थाका चार पाँच सय स्टक छन्, राख्ने ठाउँ छैन,’ बरामले भने, ‘धेरै तयार पारेर पनि के गर्नु, खुला ठाउँमा छाडे पानी परेर कुहिएला भन्ने पीर हुन्छ, मुढा नबिकेको समस्या जेलरसापलाई पनि जानकारी गराएका छौं, अहिले तयार भएको बिक्री नहुँदासम्मका लागि काम रोकेका छौं ।’ कच्चापदार्थ किन्ने र उत्पादित मुढा बजारसम्म पुर्‍याउने व्यवस्था आफूहरूले मिलाउँदै आएको उनले बताए ।


यहाँका कैदीबन्दीले मुढा बुनेरै मासिक ५ हजारदेखि २० हजार रुपैयाँसम्म कमाइ गर्दै आएका थिए । ‘चियापानी खान सजिलो थियो,’ जेल जीवन बिताइरहेका चेतबहादुर भुजेलले भने, ‘बचेको पैसा बालबच्चा, परिवार भेट्न आउँदा हातमा राखिदिन्थें । मुढा नबिकेपछि परिवारलाई पैसा दिन नपाएको पनि दुई महिना भयो ।’


मुढा बिक्री नभएपछि बनाउने जाँगर हराएको उनले बताए । मुढा बुन्नमा तल्लीन भेटिने कैदीबन्दी हिजोआज खेलेर र गफिएर दिन कटाउन थालेका छन् । ‘एक–दुईवटा मुढा लैजान कारागारमै पनि मान्छे आउँथे, यहाँ आएर किन्दा बजारमा भन्दा २०–३० रुपैयाँ फरक पर्छ,’ भुजेलले भने,‘ बजारभन्दा यहाँ तयार पारेको गुणस्तरीय मुढा सात आठ वर्षसम्म टिक्छ ।’


कारागारमा तयार भएको मुढा चार सयदेखि आठ सय र डाइनिङ टेबल १० हजारदेखि १६ हजार सम्ममा बिक्री हुने गरेको चौकिदार बरामले बताए । ‘साइज अनुसार भिन्न–भिन्न मूल्य छन्,’ उनले भने । बाँस, टायर, धागो वीरगन्ज, चितवनबाट लगायतका सहरबाट ल्याएर यहाँका कैदीबन्दीले मुढा तयार पार्थे । उक्त मुढा बनाउने कच्चापदार्थ भने आफ्नै लगानीले किन्ने गरेको उनले सुनाए ।


३५ क्षमताको पुरुष कक्षमा क्षमताभन्दा बढी ९३ जना छन् । तीमध्ये आधाजसोले मुढा बुनेरै दिन काट्ने गरेका थिए । ‘अहिले क्यारेमबोड खेलेर दिन कटाउनुपर्ने अवस्था छ,’ चौकिदार बरामले भने । एउटा मुढा बिक्री हुदाँ सयदेखि डेड सयसम्म नफा हुने गरेको थियो । एउटै टायरको ३० रुपैयाँ पिस पर्ने उनले बताए । ‘बाँसहरू चाहिँ यतैको गाउँबाट मगाउँछौं, रसी बजारमा पाइन्छ, मुढा बनाउनेले माग गरेअनुसार सामान ल्याइदिने गरेका छौं,’ बरामले भने ।


अन्य सीपमूल तालिमको कैदीबन्दीलाई आवश्यकता परेको उनले बताए । ‘६ महिना जति ढाकाको बुन्ने तालिम पनि दिइएको थियो, ६ महिने तालिम पर्याप्त भएन,’ बरामले भने, ‘पोख्त हुने गरेर सिकाए फुर्सदिलो समयमा ढाका बुनेर पनि राम्रो आम्दानी हुन्छ ।’ टेलरिङको तालिमको पनि उनीहरूले माग गरे ।


पुरुष कक्षमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सुत्न समस्या परेको यहाँका कैदीबन्दीको गुनासो छ । चैत महिना सुरु भएपछि खानेपानीको पनि समस्या रहेको उनले सुनाए । ‘लाइनको पानी कहिले आउँछ कहिले आउँदैन,’उनले भने, ‘दुई–तीन दिनयता केही मान्छे थपिए, अहिले सुत्ने ठाउँको पनि अभाव छ, नयाँ आएकाहरू खाना खाएर सफा गरेपछि त्यही ठाउँ ओछ्यान लगाएर सुत्ने गरेका छन् ।’

प्रकाशित : वैशाख ३, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?