कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्मचारी पुरस्कृत गर्दै प्रदेश सरकार

पोखरा — गण्डकी प्रदेश सरकारले २६ कर्मचारीलाई उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गर्ने भएको छ । सरकार गठन भएको दिन फागुन ४ मा पुरस्कृत गर्ने योजना रहे पनि कर्मचारी छनोटमा ढिलाइ भएको भन्दै स्थगीत भएकोमा बुधबारको मन्त्रिपरिषद् बैठकले कर्मचारीलाई पुरस्कृतको निर्णय गरेको हो । 

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतका अनुसार बुधबार मात्रै अनिवार्य अवकाश पाएका प्रदेशका प्रमुख सचिव लक्ष्मीराम शर्मालाई प्रशंसापत्रले सम्मान गरिनेछ । यसैगरी आन्तरिक मामिला तथा कानुन सचिव फणीन्द्रमणि पोखरेल र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठा ७५ हजार नगदसहित पुरस्कृत हुनेछन् । सचिव पोखरेलको गृहमन्त्रालयमा सरुवा भएकाले शुक्रबार रमाना लिएर जाँदैछन् ।


त्यस्तै ५० हजार नगदसहित ११ कर्मचारी पुरस्कृत हुनेछन् । स्याङ्जा जिल्ला अस्पतालका मेसु अमृत पोखरेल, गृष्म न्यौपाने कास्की, शिवकुमार सापकोटा तनहुँ, नारायण बराल भौतिक पूर्वाधारका डिभिजनल इन्जिनियर, दयाराम अधिकारी पर्वत उक्त पुरस्कार पाउनेमा छन् ।


यस्तै नारायण कुसुम लमजुङ, नवीनकिरण भुषाल सामाजिक विकास मन्त्रालय, विष्णुप्रसाद आचार्य मुख्यमन्त्रीको कार्यालय, बालकृष्ण सुवेदी आर्थिक मामिला मन्त्रालय, आमोद दाहाल आन्तरिक मामिला, हरिबहादुर धिताल लमजुङ पनि ५० हजार राशिको पुरस्कार पाउनेमा छन् ।


सरकारले अन्य १२ कर्मचारीलाई २५ हजार रुपैयाँको पुरस्कार दिने निर्णय गरेको हो । बैठकले प्रदेशमा सामाजिक विकास मन्त्रालयको पोषण तथा खाद्य सुरक्षा निर्देशन समिति गठन गरेको छ । समितिको संयोजक नीति तथा योजना आयोगका उपाध्यक्ष अध्यक्ष रहेका छन्, भने सदस्यमा सामाजिक विकास मन्त्रालय, भौतिकपूर्वाधार, उद्योग, भूमिव्यवस्था र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका योजना सचिव सदस्य रहनेछन् । अध्यक्षले सम्बन्धित विज्ञ २ जना सदस्यको रुपमा मनोनीत गर्न सक्नेछन ।

प्रकाशित : वैशाख ५, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?