कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गडहरे गुफामा भीड

स्याङ्जा — घुमन्ते फाट्टफुट्ट मात्रै पुग्ने गरेको भीरकोट–८ ओकादीको गडहरे गुफामा आइतबार एकैदिनमा ७ सय जनाभन्दा बढी पुगेका छन् । नयाँ वर्षको अवसर पारेर भीरकोट नगरपालिकाले गुफा उद्घाटन गर्दै अवलोकनका लागि खुला भएको घोषणा गरेको हो । 

खुला गरिएपछि गुफाभित्र प्रवेश गरी अवलोकन गर्नेको भीड रह्यो । २५ वर्षअघि स्थानीयले गुफा पत्ता लगाएका हुन् । विज्ञ टोलीबाट परीक्षणपछि अवलोकन खुला गरिएको नगरपालिका कार्यालयले जनाएको छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही गुफाभित्र बस्ने गरेको स्थानीय बताउँछन् ।


गुफाभित्र २ किलोमिटर हिँडेपछि भित्तामा माओवादीका नारा भेटिने भएकाले उनीहरू गुफाभित्र बसेको पुष्टि हुने वडाध्यक्ष तनबहादुर गुरुङले बताए । उनका अनुसार स्थानीय पर्शुराम गुरुङले गाई चराउने क्रममा वर्षाको भेलले गाई बगायो । गाई खोज्ने क्रममा उनले गुफा देखेका थिए । गाई गुफाभित्र खसेको थियो ।


खुट्टा र करङ भाँचिएको गाईलाई बाहिर निकाल्न सकिएन । तर, गुफा पत्ता लाग्यो । ‘कसैले भन्छन् दाऊरा चिर्न जाने क्रममा बन्चरो खसेकाले खोज्ने त्रममा गुफा फेला परेको थियो,’ उनले भने, ‘स्थानीय एक जना गुरुङ व्यक्ति नै हुन् उनले आँसी बनाउने काम गर्थे । बन्चरो खस्यो र लिन जाँदा गुफा भेटाए भन्ने उनको कुरा कसैले विश्वास गरेनन् । गाई खसेपछि मात्र बल्ल सबैले आफ्नो क्षेत्रमा गुफा रहेछ भनेर विश्वास गरेका हुन् ।’


बिहानको ११ः३० बजे गुफा प्रवेश गरेका स्थानीय खेम गुरुङले २ बजेर ४८ मिनेट जाने बेलासम्म गुफाभित्र हिँडिरहँदा पनि समाप्ति कहाँ हो भन्ने पत्ता लगाउनै नसकिएको बताए । स्थानीयले गडहरे गुफा एसियाको मात्रै नभई विश्वकै लामो रहेको अनुमान गरेका छन् । यसो त कसैले तनहुँसम्म निस्किन सकिन्छ पनि भन्ने सुन्नमा आएको स्थानीयले बताए ।


‘गुफाभित्र एउटा ताल पनि छ,’ उनले भने, ‘बाटो कहीं सजिलो छ भने कहीं अप्ठ्यारो । कत्तै त बसेर मात्रै हिँड्नुपर्छ । ठाउँ भने फराकिलो छ ।’ चुनढुँगा, चराचुरुङ्गी, मिलेको पहाड र देवीदेउताका मूर्तिसमेत गुफाभित्र देख्न सकिने उनले बताए । उनका अनुसार पहाड रसाइरहने भएकाले ताल परेको हुन सक्छ । गुफाभित्र प्रवेश गर्न अप्ठ्यारो भएकाले केही दिनअघि मात्रै फलामको भर्‍याङ जडान गरिएको भीरकोट नगर प्रमख छायाराम खनालले बताए । गुफा प्रवेशद्वार र सिँडी पनि बनाइएको छ ।


उनले ३ लाख रुपैयाँ खर्चिएर गुफा प्रवेश गर्ने भर्‍याङ् र सिँडी बनाइएको जानकारी दिए । ‘धेरै वषर् पहिले पत्ता लगाएर पनि हामी मौन थियौं,’ नगरप्रमुख खनालले भने, ‘बीचको समयमा पर्यटन विकास बोर्ड, जिल्ला विकास समितिको सहयोगमा स्थानीय क्लबले गुफाको व्यवस्थापन गरेका थिए । केही संख्यामा मानिस आउने–जाने काम पनि भइरहेको हो ।’ उनले भीरकोट नगरपालिकाले यसलाई विशेष योजनाको रूपमा अघि बढाउने उनले बताए । भूगोलविद्ले अध्ययनसमेत गरेको यस गुफा जोखिम नरहेको बताएको उनले जानकारी दिए । ‘विद्हरूले पस्नै नहुने छैन नडराउनुस् भनेका छन्,’ उनले भने ।


प्रवेश सःशुल्क राखिने बताउँदै उनले बिनाजानकारी प्रवेशमा रोक लगाउने, गाइडको व्यवस्था गर्ने र गुफा अवलोकन गर्नेको अभिलेख राखिने साथै सुरक्षाको समेत व्यवस्था गरिने बताए । यसो त यहाँ पर्यटकीय गन्तव्य बनाउनका लागि होटल व्यवसायको प्रबर्द्धन गर्ने उनको भनाइ छ । उनका अनुसार फराकिलो चौर भएकाले पनि पर्यटकलाई टेन्टको समेत व्यवस्था गरिनेछ । यो आर्थिक वर्षमा नै पार्क निर्माण गरिने उनको भनाइ छ ।

प्रकाशित : वैशाख ६, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?