कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाषा र संस्कृति सिक्दै युवापुस्ता

प्रकाश बराल

बागलुङ — बडिगाड गाउँपालिका–५ की नीरा पुनले आफ्नै भाषा जानेकी थिइनन् । बाबुआमाले बोलेको भाषा युवापुस्ताले बोल्नै छाडेपछि मौलिकता कसरी जोगिएला भन्ने चिन्ता पनि थियो । जलजलाका गणेश थापाले पाको उमेरकै भए पनि आफ्नै भाषा जानेका छैनन् । भाषा लोप हुन लागेको भन्दै अहिले भने उनीहरू संगठित भएका छन् । 

भाषा र संस्कृति सिक्दै युवापुस्ता

केही समयदेखि यहाँका युवा र केही पाकाले मगर भाषा सिक्न थालेका छन् । गाउँपालिकामा बाहुल्यता रहेको मगर समुदायको भाषा लोप भएपछि सबै मिलेर जोगाउने भन्दै अभियान थालेपछि उनीहरू सहभागी भएका हुन् । भाषाका लागि सिकाउने शिक्षकसमेत अभाव भएपछि गाउँपालिकाले ३ महिनाका लागि तनहुँबाट बोलाइएको गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले बताए । तनहुँको ऋषिङका आशबहादुर थापामगरले तीन महिनादेखि यहाँ बसेर भाषा सिकाएका छन् । उनले काइते, मगर ढुट र खाम भाषा सिकाइरहेका हुन् ।


बोल्न र लेख्नका लागि लिपि पनि उनले सिकाएका छन् । यो तालिममा महिलाहरू बढी छन् । युवाहरू विदेशमा भएकाले तालिमका सहभागी हुनेमा महिला धेरै भएको पाइजाले बताए । तालिम लिएकाहरूले घरघरमा अभिभावकसँग मगर भाषामा कुरा गर्न थालेका छन् । ‘पहिले अप्ठ्यारो लाग्थ्यो, अहिले बुबाआमाले पनि बोल्न थाल्नुभएको छ,’ नीरा पुनले भनिन्, ‘बिर्सिएको कुरा सम्झेझैं बोल्न थालेपछि छिमेकीले पनि चासो राख्न थालेका छन् ।’ युवापुस्ता र विद्यालय तहका बालबालिकालाई पनि भाषा सिकाउन सकेमा संस्कृति बचाउन सकिने उनले बताइन् ।


गाउँमा महिलाहरू बढी भएकाले उनीहरूलाई सिकाएमा बालबालिकाले पनि सिक्ने गाउँपालिका उपाध्यक्ष अमरबहादुर श्रीषले बताए । गाउँपालिकाले भाषा मात्र नभई संस्कृति जोगाउने अभियानमा पनि लगानी गरेको छ । यहाँ प्रचलित मगर समुदायको घाँटु र सोरठी तथा कुमाल समुदायको ह्याम्फे नाच संरक्षणका लागि पनि गाउँपालिकाले लगानी गरेको हो । ‘कला संस्कृति र भाषाको संरक्षण भएमा हामी धनी बन्न सक्छौं,’ अध्यक्ष पाइजाले भने, ‘पर्यटकीय क्षेत्रको विकाससँगै ती स्थानमा मौलिक संस्कृति देखाउन सक्नुपर्छ भन्ने मान्यता राखेका हौं ।’ कुमाल समुदायले पनि आफ्नै भाषा बोल्ने गरेको इतिहास भेटिएमा लगानी गरेर संरक्षणमा लाग्ने उनले बताए ।


भाषासँगै उनीहरूले लगाउने पोसाकको संरक्षणमा पनि लगानी गर्न सकिने श्रीष बताउँछन् । यहाँका बाहुन–क्षक्री, जनजाति र दलित समुदायले संयुत्त रूपमा मनाउने न्वागी मेलालाई पनि संरक्षणका लागि यो वर्षदेखि महोत्सवको रूप दिन थालिएको प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए । धार्मिक र ऐतिहासिक स्थलहरूको पुनर्निर्माण, मर्मत र पदमार्ग निर्माण गरेर ती स्थानमा पुग्ने काममा पनि लगानी बढाइएको छ ।


यहाँस्थित चमेरे गुफालाई पर्यटकीय गन्तव्य बनाउन पनि गाउँपालिकाले लगानी गरेको छ । मुख्य सडकदेखि गुफासम्म पदमार्गले

जोडेर पर्यटक जाने बनाउने योजना अनुसारको काम भइरहेको उनले बताए । गाउँपालिकामा आएका पाहुनालाई पनि मुख्य–मुख्य गन्तव्यसम्म लगेर प्रचार गर्ने काम गरिरहेको सुवेदीले बताए ।

प्रकाशित : वैशाख ७, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?