१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

वालिङ नगर ‘पेपर लेस’

स्याङ्जा — आर्थिक कारोबारमा सूचनाप्रविधिका माध्यमको प्रयोग बढाउन वालिङ नगरपालिका र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको छ । वालिङ नगरपालिकालाई पेपरलेस र क्यासलेस नगरका रुपमा अगाडि बढाउनका लागि सम्झौता भएको हो ।

सम्झौतापत्रमा वालिङ नगरप्रमुख दिलीपप्रताप खाँण र हाउसका कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् । सेवाग्राहीले नगरलाई भुक्तानी गर्नुपर्ने वा नगरपालिका कार्यालयले सेवाग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम अब चेकबाट नभई अनलाइनबाट भुक्तानी गर्ने कार्यका लागि दुई पक्षबीच सम्झौता भएको वालिङ नगरप्रमुख खाँणले बताए ।


नगर प्रमुख खाँणले भने, ‘नगरपालिकाले पहिलो चरणमा नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेका छौं । भने आगामी दिनमा अन्य संस्थासँग पनि सहकार्य गर्दै लगिने छ ।’ वालिङको नगरबासी काम विशेषले वालिङभन्दा बाहिर अन्य कुनै पनि ठाउँबाट नगरपालिकाले निर्माण गरेको एप्सको माध्यमबाट सेवा लिन सक्ने र सोको भुक्तानी पनि मोबाईलबाट घरमै बसेर गर्न सकिने नगरप्रमुख खाँणले बताए ।


‘अनलाइन सेवाका लागि नगरपालिकाको टिम तयारी सकेर बसेका छौं’ उनले भने, ‘डिजिटल सिग्नेचरको पर्खाइमा छौं, अनुमतिप्राप्त हुनासाथ कार्यान्वयनको चरणमा अगाडि बढ्छौं ।’ वालिङ नगरपालिकाले वृद्धभत्ता, कर्मचारी तथा तलब, निवृत्तिभरण तथा सेवाग्राहीलाई नगद एवम् चेकमार्फत गरिने भुक्तानी अब सेवाग्राहीको बैंक खातामा सिधै जम्मा गरिदिने वा नगरपालिकालाई सेवाग्राहीले भुक्तानी गर्नुपर्ने रकम अनलाईनबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने नेपाल क्लियरिङ हाउसका कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले बताए ।


‘सेवाग्राही कार्यालयमा आउनै नपर्ने र लाइनमा बस्नुपर्ने झन्झट नभई घरबाटै सेवा लिने र घरबाटै अनलाइनमार्फत आफ्नो बैंकको खातामार्फत नगरपालिकाको बैंक खातामा पठाउन सकिन्छ,’ कार्यकारी अधिकृत प्रधानले भने, ‘सेवा लिएबापत सेवाग्राहीले अनलाइनमार्फत सरकारको राजश्व खातामा रकम जम्मा गरिदिने र सेवाग्राहीलाई नगरपालिकाले भुक्तानी गर्न चेक काट्नुपर्ने झन्झटको अन्त्य हुनेछ ।’


केन्द्रीय तहमा कार्य गर्दै आएको नेपाल क्लियरिङ हाउसले अनलाईन भुक्तानी तथा यससम्बन्धी अन्य गतिविधिहरू पहिलोपटक स्थानीय तहको हकमा स्मार्ट सिटीकोरुपमा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकासँग गरेको कार्यकारी अधिकृत प्रधानले बताए ।


नगरपालिकाले अगाडि सारेको पेपरलेस अभियान र अनलाइन भुक्तानी सेवाका बारेमा नगरबासीलाई अभिमुखीकरण तालिम प्रदान गरिने वालिङ नगरपालिकाले जनाएको छ ।

प्रकाशित : वैशाख १२, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?