कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरियो स्कुलको मुहार

आश गुरुङ

लमजुङ — भुइँमा गुन्द्री बिछ्याएर विद्यार्थी बसेका छन् । खरले छाएको कोठालाई चित्राले बारिएको छ । कक्षकोठामा हावाहुरी र असिनापानी छिरेपछि विद्यार्थी भागेर घर पुग्छन् । 

फेरियो स्कुलको मुहार

कास्कीसँग सीमा जोडिएको सिङदी गाउँका शिक्षक युवराज गुरुङले आफ्ना बाल्यलकाल सम्झिँदै भने, ‘आफैं पढेको स्कुल, पहिले कस्तो थियो, अहिले कस्तो भयो ।’


२०१७ मा स्थापना भएको स्कुलमा दुई दशकअघि सम्म सीमित कक्षा कोठा थिए । पाठ्यक्रम पढ्ने बाहेक व्यवहारिक ज्ञान विद्यार्थीमा हुने थिएन । स्रोत र साधन थिएन । अहिले तिनै विकट सिङदी गाउँका विद्यार्थी गाउँमा सुविधाले पढ्न पाएका छन् । यसका लागि बेलायती एक नागरिकको ठूलो योगदान छ ।


क्व्होलासोंथर गाउँपालिका ५ सिङदीको हिमालय मावि अहिले सहरका कुनै स्कुल भन्दा कम सुविधा सम्पन्न छैन । पहार ट्रष्ट नेपालको समन्वयमा बेलायतका संरक्षक टिम मिचेलले आफ्नो देशमा जुटाएको सहयोग सिङदीबासीका लागि बरदान सावित भएको छ ।


करीब एक दशक अघिसम्म सिङदीका बालबालिका कक्षा ८ पढेपछि १० कक्षा पढ्न कि पसगाउँ जानु पर्थ्यो कि छिमेकी कास्कीको गोर्जे तथा पोखरा । तिनै मिचेलको सहयोगमा भवन बनेपछि अहिले १० कक्षासम्म गाउँमै पठनपाठन हुन्छ । ८ कक्षा पढेपछि पढाई छोड्नुपर्ने बाध्यता टरेको छ । टिमको मात्रै स्कुलमा डेढ करोड रुपैयाँ बराबरको सहयोग रहेको विद्यालयले जनाएको छ ।


मिचेलले भौतिक संरचना निर्माणसँञगै शिक्षकलाई तालिम, नीजि शिक्षकको तलव तथा विद्यार्थीलाई छात्रवृत्ति सहयोग गर्दै आएका छन् । विद्यालयका प्रधानाध्यापक शुभराज खनालका अनुसार मिचेलले २ तले विद्यालय भवन, पुस्तकालय बनाइदिनुका साथै विज्ञान सामाग्री, निजी शिक्षकको तलव, विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्री लगायत सहयोग गरेका छन् ।


बेलायतस्थित वेस्टवेरी अन ट्राइम सिई एकेडेमी र ब्रिटोल फ्रि स्कुलका विद्यार्थीले स्वतःस्फूत चन्दा संकलन गरी मिचेलमार्फत विद्यालयमा पठाउँथे । मिचेलको सहयोगले विद्यार्थीमा पढ्ने वातावरण मिलेको र शैक्षिक गुणस्तरमा सघाउ पुगेको प्रअ खनालले बताए । ‘मिचेलले बालबालिकालाई आफ्नै बालबच्चा जस्तै ठान्नुभयो । उहाँको सहयोगले विद्यालय यो ठाउँमा आएको छ’ उनले भने ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुकुमबहादुर गुरुङले सरकारी सहयोगले मात्रै विकटको स्कुलको विकास हुन नसकेको बताए । टिम मिचेलेको सहयोगबाट भुइँमा बसेर पढेका विद्यार्थी बेन्चमा बसेर पढ्न थालेको बताए । ‘कोठा सानो, भवन थोरै भएकाले पठनपाठनमा समस्या थियो । गुन्द्री विछ्याएर पठनपाठन गर्नुपर्ने बाध्यता थियो । विद्यार्थी टिकाउनै पनि गाह्रो थियो’ उनले भने, ‘अहिले भवन पर्याप्त छ । शिक्षक तालिम प्राप्त छन् । कम्युटर कक्षा छन् । विज्ञान प्रयोगशाला छन् । बेञ्चमा बसेर पढ्छन् ।’


मिचेलले विद्यालयमा २० बर्षदेखि सहयोग गर्दै आएका छन् । क्व्होलासोंथर गाउँपालिका ५, सिङदीका वडाअध्यक्ष गीतबहादुर गुरुङका अनुसार मिचेलले २०५५ सालदेखि विद्यालयको शैक्षिक सुधारका लागि सहयोग गर्दै आएका छन् । पहार ट्रष्ट नेपालको समन्वयमा सुरुवातमा सिङदी आउँदा पहार ट्रष्ट युकेका मेडिकल अफिसरको रुपमा कार्यरत थिए । टिमले सिङदी गाउँका विद्यार्थीका लागि असल अभिभावकको भूमिका निर्वाह गरेको गुरुङले बताए ।


‘अभिभावकले छोराछोरीको लागि गर्नुपर्ने सबै कुरा मिचेलले गर्नुभएको छ । उहाँको सहयोगले विद्यार्थीमा पढाईप्रचि रुचि र चासो देखिएको छ’ उनले भने, ‘विद्यार्थीमा पढाई पनि राम्रो हुँदै गएको छ । पहिलेको एसएलसी र पछिल्लो एसईईमा राम्रो अंक ल्याएर विद्यार्थी उत्तीर्ण हुने गरेका छन् ।’

प्रकाशित : वैशाख १२, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?