कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्ने भो खानेपानीका संरचना

दिप्ती सिलवाल

पर्वत — सडक खन्ने क्रममा भत्किएका खानेपानीका संरचना मध्यपहाडी लोकमार्ग आयोजनाले बनाइदिने भएको छ । सदरमुकाम कुश्मा बजारमा बितरित खानेपानीका संरचना आयोजनाले क्षतबिक्षत पारेपछि स्थानीय उपझोक्ता आत्रोशित भएका थिए ।

स्थानीय प्रशासनको विशेष पहलमा पटकपटक भएको खानेपानी उपभोक्ता समिति र आयोजना बीचको बार्तापछि अन्त्यमा आयोजनाले बिग्रिएका संरचना बनाउन तयार भएको हो । ‘दशैको फुलपातीदेखि यो समस्या बल्झिरहेको थियो,’ प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले भने, ‘दुबै पक्षलाई राखेर छलफल गराएर सहमतिमा पुगिएको हो ।’


मध्यपहाडी लोकमार्गको कुश्मास्थित आयोजना कार्यालयका पदाधिकारी, इन्जिनियर, कुश्मा खानेपानीका अध्यक्ष बाबुराम जोशी, प्रबन्धक राजेन्द्र रोका लगायत सरोकारवालाको बार्तापछि आयोजनालले संरचना बनाउन तयार भएको हो । सहमति अनुसार आयोजना कार्यालयले सडक चौडा पार्ने क्रममा खानेपानीको मुख्य पाइप लाइन, शाखा लाइन, बितरण च्याम्बर लगायतको काम गर्नेछ ।


गत वर्षदेखि निर्माणाधिन पर्वत खण्डको मध्यपहाडी राजमार्गको कुश्मा बजारखण्ड चार लेनको बन्दैछ । शुरुमा दुई लेनको सडक मापन गरिएकोमा पछि आयोजना कार्यालयले बजारक्षेत्रको आवश्यकतालाई ध्यानमा राख्दै कुश्माको खरेहा गेटदेखि चिलाउनेचौतारास्थीत जिल्ला प्रहरी कार्यालयसम्म चार लेनको बनाउने स्टमेट गरेको थियो । स्टमेट अनुसार काम अघि बढाउने क्रममा सडक छेउबाट कुश्मामा ल्याइएको खानेपानीको पाइपमा क्षती पुगेको हो ।


समिति अध्यक्ष जोशीका अनुसार करिव एक करोडको क्षती पुगेको छ । मध्यपहाडी आयोजना कार्यालयले खानेपानी उपभोक्ता समितिको प्राविधिक सहयोगमा क्षतीग्रस्त पाइप, बितरण जक्सन बक्स, भल्ब, च्याम्बर लगायतका फिटिङ उपकरण उपकरण उपलव्ध गराउने भएको छ ।


खानेपानीले माग गरे बमोजिमको बजेटमा केहि कमी हुनसक्ने भन्दै आयोजना प्रमुख आशिष थापामगरले अपुग रकम सम्बन्धित निकायमा माग गर्नुपर्ने बताए । ‘उपभोक्ता समितिको ९९ लाख स्टमेट छ,’ उनले भने, ‘हामीसंग त्यो बजेट छैन । सकेको सहयोग गर्छौं । अपुग रकम जुटाउन सबैले पहल गर्नुपर्छ ।’ अपुग रकमका लागि कुश्मा नगरपालिका र प्रदेश सरकारसंग माग गर्ने निर्णय भएको प्रजिअ ढकालले बताए ।


मध्यपहाडी आयोजनाले बजारक्षेत्रमा सडक बिस्तार गर्न शुरु गरेपछि विगत २ महिनायता कुश्मामा खानेपानीको अभाव छ । मुख्य र बितरण पाइपलाइन नै बिग्रिएपछि पातीखोलादेखि ल्याइएको पानी बिचमै टुटेको हो ।


बजारका करिव २ हजार उपभोक्तालाई अहिले पानीको प्यास मेटाउन नसकिएको कुश्मा खानेपानी उपभोक्ता संस्थाका प्रबन्धक राजेन्द्र रोकाले बताए । आयोजना पक्ष सहमत भएकोले अबको दुई महिनाभित्रै कुश्मामा साबिक बमोजिम पानी उपवल्ध गराउने गरि काम अघि बढाउने सहमति भएको संस्थाले जनाएको छ ।

प्रकाशित : वैशाख १५, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?