कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँदरको उपद्रोले हैरान

विना थापा

कास्की — महानगर बनेपछि पोखराभित्र बजारभन्दा बढी ग्रामीण क्षेत्र छन्  । केही यस्ता क्षेत्र छन्, जहाँका किसानलाई बाँदरले दुःख दिएर खेतीपाती गर्न नै हतोत्साही बनाएको छ  ।

स्थानीयलाई बाँदरको हुलले टेर्दैन । घरमा राखेको मकै सबै लिएर जाने पोखरा ११ काहुँकी भवानी बस्नेत बताउँछिन् । 'खेतीकिसानी गर्नेले सधैं घरभित्रै बसिराख्न कहाँ पाइन्छ, बाहिर निस्केका बेला बाँदरको बथान आएर खान मिल्ने खाने नमिल्ने सबै चीज बिगारिदिन्छ,' उनले भनिन्, 'बाँदरले सताएकाले धेरैजसो बारी बाँझै छन् । अहिले घरमै आएर दुःख दिन थाल्यो ।' लखेटे पनि नभाग्ने भएकाले आजित बनाएको उनले बताइन् ।


आलु त नखाला भनेको सबै बोट उखेलेर फालिदिएको पोखरा- १९ को अकलादेवी मन्दिर नजिककी मैती गुरुङले पीडा पोखिन । 'लखेट्न गयो टेर्दैन' उनले भनिन्, 'बाँदरले धुरुक्क रुवाएको छ ।' अरू तरकारी लगाउँदा कोही खाने कोही फालिदिने गरेकाले आलु लगाउन थालेको उनले बताइन् । अरूको जग्गामा घर खर्चका लागि केही होला भनेर आफैं तरकारी लगाउँदै आएको थिए, बढी भएको बिक्री गरी आएको खर्च दुःख बिरामी र केटाकेटीलाई पढाइ खर्च हुन्थ्यो । अहिले बाँदरका नोक्सानीले घाटा लागेको छ । 'पहिले यस्तो थिएन गाउँ पाखामा जब बारी बाँझो हुन थाल्यो त्यसपछि, बाँदर बजार र्झन थालेको हो,' उनले भनिन्, 'यो पनि त, पोखरा सहरभित्रै पर्छ ।


पाखोबारीमा अरू बाली लगाउनभन्दा तोरी सजिलो होला भनेर लगाएको, सबै बाँदरले मिचिदिएकेा र दैनिक बाँदरको हेरालो बस्नुपर्ने बागमाराकी भगवती आचार्य भन्छिन् । 'आफैं धाउँछु, घरका सबै छोराबुहारी बाबु पढाउन बजारमा झरे, छोरीहरू बिहे गरेर गए, घरमा कोही नभएकाले आफैं खटिएकी छु ।'

पछिल्लो समय बाँदर घरमै आउने उनको भनाइ छ । कुकुरलाई नदेखे छोरी मान्छेलाई फिटिक्कै नटेर्ने भन्दै उनले कुकुरको सहारा लिएर धपाएको बताएन् । दुई तीन वर्षदेखि यस्तो हैरानी खेप्नुपरेको उनले सुनाइन् । एक छिन आँखा छल्न हुँदैन आफू नखाए पनि सबै विध्वंस गरे छाड्छन् । खेती नगरौं बाझोबारी राम्रो देखिँदैन । बसिराख्नुभन्दा थोरै भए पनि खेती गरेको उनले बताइन् । 'अलिअलि लगाएको खेती पनि जोगाउनै गाह्रो भयो,' उनले भनिन्, 'जति डाँडा कटाएर धपाए पनि फेरि फर्केर आउँछ ।'

प्रकाशित : वैशाख १८, २०७६ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?