कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामुदायिक विद्यालय अपांगमैत्री

प्रकाश बराल

बागलुङ — भर्ना अभियान सञ्चालन भइरहेका बेला यहाँको एक सामुदायिक विद्यालयले अपांगमैत्री छात्रावासको व्यवस्था र पढाइ थालेको छ । सदरमुकाम बागलुङ बजारको रामरेखा आधारभूत विद्यालयले शारीरिक अपांगमैत्री छात्रावास सञ्चालनमा ल्याएको हो ।

सामुदायिक विद्यालय अपांगमैत्री

साथै अपांगता भएका बालबालिकालाई नयाँ भवनका सबै कक्षाकोठामा पहुँच बढाउन भर्‍याङ -र्‍याम्प) पनि निर्माण थालिएको प्रधानाध्यापक धनकुमारी पराजुलीले बताइन् । शारीरिक अपांगताको स्रोत विद्यालयको रूपमा स्वीकृत पाएकोले यहाँ २० जनासम्म अपांगलाई समावेशी रूपमा पढाउन सकिने व्यवस्था छ ।


अपांगलाई खान, ेबस्ने व्यवस्थाका लागि पूर्वाधार बनिसकेको छ । प्लान इन्टरनेसनल नामक संस्थाले १ करोड रुपैयाँ लागतमा बनाइदिएको छात्रावास भवनमा खाने, बस्ने व्यवस्था पनि छ ।


विद्यालयको भुइँ तलालाई बढाएर थप १० कोठा निकालिएको छ । नेपाल ट्रस्ट यूकेको ३६ लाख रुपैयाँको लागतमा भवन बनेको हो । भवनका सबै कोठामा ह्वीलचियर लिएर जान सकिने बनाउन यहाँको धौलागिरी एकीकृत ग्रामीण विकास केन्द्र नामक गैरसरकारी संस्थाले १६ लाख रुपैयाँ दिएपछि विद्यालयले र्‍याम्पको काम थालेको हो । उक्त रकममध्ये ९ लाखले र्‍याम्प बनाएर बाँकी रकमले फर्निचर, शैक्षिक सामग्री र पुस्तक किन्ने योजना बनाइएको केन्द्रका व्यवस्थापक शालिकराम शर्माले बताए ।


भवन अपांगमैत्री भएपछि बागलुङ नगरपालिकामा मात्र चार प्रकारका अपांगता भएका व्यक्तिको लागि स्रोत विद्यालय भएको नगर बनेको छ । यसअघि आवासीय बहिरा विद्यालय सञ्चालनमा छ । त्यस्तै सुस्तमनस्थिति भएकाहरूको आवासीय विद्यालय पनि सञ्चालित छ भने बागलुङ नगरपालिका- १४ को नारायणस्थानस्थित जनता धन माविमा दृष्टिविहीनका लागि स्रोत कक्षा सञ्चालनमा ल्याइएको छ ।


'चारै प्रकारका अपांगता भएका व्यक्तिलाई राखेर पढाउन र खाने, बस्ने व्यवस्था भएका विद्यालय देशैभरि कतै छैन,' शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कुश्मराज उपाध्यायले भने, 'पूर्वाधारको रूपमा हामी सम्पन्न भएकोले अब अपांगता भएकै कारण पढाइबाट वञ्चितलाई कक्षाकोठामा भित्र्याउनुपर्छ ।' अपांगता भएका बालबालिका विद्यालय ल्याउने काममा सबै अभिभावक र बौद्धिक वर्गले योगदान गर्नुपर्ने उनले बताए ।


अपांगता भएकै कारण नेपालमा सबैभन्दा धेरै बालबालिका विद्यालय तहमा भर्ना हुनबाट वञ्चित छन् । हाल भर्ना हुन नसकेका ३ प्रतिशत बालबालिकामध्ये सबैभन्दा धेरै अपांग र दलित समुदायका भएको उपाध्यायले बताए । सडक बालबालिका, मजदुरका छोराछोरी र अपांगता बालबालिकालाई विद्यालयमा सहजै लैजान सक्दा शिक्षाको गुणस्तरमा मात्र ध्यान दिन सकिने उनले बताए ।


'अपांगता भएकै कारण घरबाट बाहिर जान नदिनेसम्मका घटना भएका छन्,' पराजुलीले भनिन्, 'अपांग जन्मेकाले आमाले दूध नचुसाएकी बालिका हामीले ल्याएर विद्यालयमा भर्ना गरेका छौं ।' समाजमा अझै अपांगप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्न जागरण अभियान चलाउनुपर्ने उनले सुझाव दिइन् ।

प्रकाशित : वैशाख १९, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?