घाँटु सिक्दै युवती
दमौली — दशक अघिसम्म तनहुँका मगर बाहुल्यता गाउँमा घाँटुको रौनक देख्न पाइन्थ्यो । युवापुस्ताको वेवास्ताका कारण पछिल्लो समय भने यो नाच हराउँदै गएको छ ।
नाचै लोप हुने अवस्थामा पुगेपछि उक्त समुदायका नयाँ र पुराना पुस्ता संरक्षणमा जुटेका छन । संस्कृति लोप हुन नदिन भिमाद नगरपालिका– २ रघु गाउँका महिला घाँटु संरक्षणमा लागेका हुन ।
‘दश वर्ष अघिसम्म गाउँमा बेस्सरी घाटु नचाइन्थ्यो, नाचकी गुरुआमा गोमाया रानाले भनिन्, ‘पछिल्लो पुस्ताले चासो देखाउन छाडेपछि हराउन थालेको छ । पुरानो संस्कृति हराउन नदिन दिदीबहिनी कस्सिएका छन ।’ गाउँमा होमस्टे संचालित छ । आउने पाहुनालाई देखाउन घाँटु जोगाउन अनिवार्य भएकाले अभियान थालिएको उनले बताइन ।
उनका अनुसार परम्परागत संस्कृतिविनाको होमस्टे खल्ल्लो हुने देखेर अभियानमा लाग्नु परेको हो । त्यसैले युवतीलाई नाच्न सिकाइएको हो । गाउँका १५ वर्षीया रस्मिता, लुकमाया र फानुमाया थापाले घाँटु जानिसकेका छन । अरु युवती तथा किशोरीलाई पनि नाच सिकाउँदै जाने योजना छ । गुरुआमा गोमायासंग जसमाया थापा, सन्तमाया, गोमाया राना लगायतले गीत गाउँछन ।
रस्मिता, लुकमाया र फानुमाया नाच्छन । फानुमाया ‘राजा’ को अभिनयमा नाच्छिन । चण्डीमाई देवताका कथामा आधारित नाच नाच्न केही गाह्रो हुने गरेको लुकमायाले बताइन । गीतको शब्द अनुसार नाच्नु पर्छ । जो कोही नाच्न सक्दैन । घाँटु नाच्नेलाई घाटुसारी भन्छन् । पूरानो संस्कृतिबारे बुझन पाउँदा खुसी लागेको फानुमायाले बताइन ।
शिरमा शिरफुल र शिरवन्दी, नाकमा ढुंग्री लगाउने, रातो चोलो, पंहेलो पटुकी, सेतो फरियामा सजिएर नाच्छन । राजा भने कालो फरिया, रातो पछ्यौरी, घलेक, चोलामा सजिन्छन । विशेष गरेर ३ देखि १३ जनासम्म किशोरी नाच्छन । संख्या भने विजोर हुन्छ । गीत गाउने गुरुआमा ५ देखि ३० जनाको संख्यामा हुन्छन । माली गाईको दूध दुही ल्याउन, बाउ भैया भाइलाई दूध भात खुवाउन भन्ने गीत गाउँदा सबैको आँखा रसाउँछ । गीतका तालमा भाइहरूलाई घाटुसारीले दूध र भात खुवाइदिन्छन । यो समयमा भाई नभएका घाटुसारी र गुरुआमा मार्मिक भएर आँसु नै खसाल्छन ।
‘यो क्षणमा दाजुभाईको नीकै याद आउँछ,’ गोमायाले भनिन्, ‘गीत गाउँदा भए पनि दाजुभाई भएको महसुस हुन्छ ।’ नाच विशेष गरी चण्डीपूर्णिमाको अवसरमा नाचिन्छ । त्यसैले चण्डीमाईको कथामा आधारित भएर गीत गाएर नाचिन्छ । अरु समयमा पनि नाचिन्छ ।
प्रकाशित : वैशाख २५, २०७६ १२:५५