कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरबासको सेवा बदलिँदै

आश गुरुङ

लमजुङ — घरबासको अंग्रेजी रूप होमस्टे हो । प्रचलनमा होमस्टे प्रख्यात छ । लमजुङमा होमस्टे सञ्चालनको इतिहास करिब २ दशकको छ ।
स्मार्ट भिलेजउन्मुख घलेगाउँका स्थानीयले २०५६ सालबाट पर्यटन प्रवर्द्धनका कार्यक्रम संचालन गरी ०५७ बाट होमस्टे संचालनमा ल्याएका थिए ।

‍पर्यटकलाई स्वागतसत्कार गरी घर भित्र्याउने, घरमा पकाएको खानेकुरा उनीहरूलाई खुवाउने, भोलिपल्ट विदाई गरी पठाउने तरिकाबाट होमस्टे सुरुवात भएको मानिन्छ । पारिवारिक वातावरणमा परिवारसंगै बसेर खाने र सफा ठाउँमा सुत्ने व्यवस्था होमस्टेमा गरिन्थ्यो । घलेगाउँका अगुवा प्रेम घलेका अनुसार आफ्ना आफन्त घर आउँदा मिठो मसिनो खुवाउने, राम्रो ठाउँमा सुत्न लगाउने कार्यबाट होमस्टेको सुरुवात भएको हो ।


'गाउँमा धेरै आफन्त आउनुहुन्थ्यो, आउने गर्छन् । परिवारसंगै खाना खुवाएर छुट्टै ठाउँको सुताउने गथ्र्यौं' उनले भने, 'पछि गाउँ हेर्ने भनेर अलि टाढाको साइनो रहेका आफन्तहरू आए । उनीहरूलाई पनि व्यवस्थित तरिकाले राख्यौं ।' आफन्त आउने गाउँमा अब टाढाटाढाका पाहुनालाई बोलाउन पाए हुन्थ्यो भन्ने हेतुले होमस्टेको सुरुवात गरिएको उनले बताए । 'टाढा-टाढाबाट आएर उहाँहरू यतिकै बस्नुहुन्न । २/४ पैसा छोड्नुहुन्छ झैं लाग्यो' उनले भने, 'गाउँमा पाहुना आउन थालेपछि हामीले स्वागत गरी घरमै राख्यौं । यसलाई व्यवस्थित गर्ने भन्दै अघि बढ्यौं । यहींबाट हाम्रो होमस्टेको सुरुवात भयो ।'


होमस्टेका लागि छुट्टै कोठा बनाउन आवश्यक छ । भुइँतलामा कोठा, कोठाभित्र खानेपानी, सफा बेडसेट, ऐन, विजुली हुन आवश्यक छ । विजुली नहुँदा बैकल्पिक स्रोत हुनुपर्छ । नजिकै शौचालय र बाथरुम, कोठामा आउनेजाने बाटो राम्रो हुनुपर्छ । घरभित्र धुवाँ नहुने चुल्हो, गुन्द्री, राडी हुन आवश्यक छ ।


प्रेम घलेले आफ्नो सुरुवाती अनुभव सुनाउँदै गर्दा घलेगाउँ आएका वरपरका होमस्टे संचालक मन्त्रमुग्ध भएर बसेका थिए । घलेगाउँ र प्रेम घलेले चालेको कदमबारे सुन्न घलेगाउँबासीले वरपरका होमस्टे संचालकलाई बोलाएका थिए । भुजुङ, पसगाउँ, घनपोखरा, ढगैं, सिउरुङ, खासुर, गिलुङ, घाम्राङ लगायत गाउँका हामेस्टे संचालक आएका थिए । सहजकर्ता ग्रामीण सामुदायिक विकास केन्दका अध्यक्ष राजेन्द्र बोहराले होमस्टेलाई व्यवसायिकरण गर्न र आत्मनिर्भरसंग जोडै लानुपर्ने बताए ।


'हिजो हामी पाहुनालाई बास दिन्थ्यौं । खाना पकाएर खुवाउँथ्यौं । सुताउँथ्यौं र विदाई गरेर पठाउँथ्यौं,' उनले भने, 'घरबास -घरमा बसाउने) मात्रै होइन होमस्टे, अब घरमा धेरै दिन पाहुनालाई बसाउन सक्ने योजना र पूर्वाधार बनाउन आवश्यक छ ।' उनका अनुसार गाउँमा सहरका जस्तो शौचालय, नुहाउने कोठा खोज्ने भएकाले त्यस्ता कोठाको व्यवस्थापन गर्नुपर्ने बताए ।


'गाउँघरमै उत्पादित स्थानीय खाद्यवस्तुलाई मिठो बनाएर खुवाउन सकिन्छ । बढीभन्दा बढी तालिम लिन आवश्यक छ । सहरमा उत्पादिन वस्तु खुवाए होमस्टेको स्वाद आउँदैन,' उनले भने, 'सुत्ने कोठा, शौचालय कोठासम्म हिँड्ने बाटो भने होटलजस्तै सहज हुन आवश्यक छ ।'


पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष बलराम गुरुङका अनुसार सरकारी सहयोगबिना होमस्टेको पूर्वाधार तयार पार्न गाह्रो छ । 'पूर्वाधारले होमस्टे सुविधायुक्त देखिन्छ । भौतिक संरचना निर्माणका लागि सरकारी सुविधा आवश्कय छ' उनले भने । गण्डकी प्रदेश सरकारको १० लाख रुपैयाँ अनुदान पाएको उनले बताए ।


उनका अनुसार यो होमस्टेको पूर्वाधारका लागि भनिएपनि होमस्टेकै लागि भने होइन । 'पहिले १८ घर होमस्टे चलाएका थियौं । सरकारी सेवासुविधा नपाउँदा र गाउँमा पर्यटक नहुँदा अहिले १० वटामा झरेको छ' उनले भने । उनले पाहुनालाई घरमा बास दिएरमात्रै होमस्टे नहुने बताए । 'होमस्टे चलाउन होमस्टेको प्रचारप्रसार हुनु पर्‍यो । गाउँ आउने बाटो सहज हुनु पर्‍यो ।


यसअघि स्याङजा सिरुबारीमा मात्रै होमस्टे थियो । करीब २ दशक अघिको होमस्टे र अहिलेको होमस्टेमा के फरक आए भनेर घलेगाउँमा छलफल गरिएको छ । घलेगाउँ महोत्सव आयोजनाको २० औं संस्करणमा स्थानीयले वरपरका होमस्टेसंग मंगलबार अनुभव सुनाउँदै छलफल गरेका हुन् ।

प्रकाशित : वैशाख २७, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?