कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँच सय दिँदा पनि आएनन् विद्यार्थी

आश गुरुङ

लमजुङ — भर्ना हुने वित्तिकै विद्यार्थीको हातैमा ५ सय रुपैयाँ । महिनैपिच्छे ५ सय रुपैयाँ पाइने । स्कुल धनी भएर दिइएको भने होइन । स्कुलमा विद्यार्थी संख्या घटै गएपछि विद्यार्थीलाई आकर्षित गराउन दोर्दी गाउँपालिका १, भारते सिरुबारीको महादेव आधारभूत विद्यालयले विद्यार्थीलाई मासिक पैसा दिने जुक्ति निकाल्यो ।

मासिक पैसा दिने भएपछि विद्यार्थी आउँछन् र सहर बसेकाहरू फर्किन्छन् भन्ने सोंच निकालेर भर्ना हुन आउने विद्यार्थीलाई मासिक ५ सय रुपैयाँ दिने निर्णय स्कुलले गरेको थियो । तर, विद्यार्थी बढ्नुका सट्टा घटेको प्रधानाध्यापक बेदप्रसाद अधिकारीले बताए । ‘हामीले अभिभावक भेला, विद्यालय व्यवस्थापन समितिको निर्णय गरेर नयाँ सोंचले भर्ना अभियान चलायौं । तर, विद्यार्थी सोंचेजस्तो आइदिएनन्,’ उनले भने ।


१ देखि कक्षा ८ सम्मको उक्त स्कुलमा अहिले १ देखि ५ कक्षासम्म खाली छ । नयाँ शैक्षिक सत्रमा भर्ना हुने कुनैपनि विद्यार्थी भएनन् । बालविकासमा पनि छैनन् । ५ कक्षामा पढ्ने २ विद्यार्थी ६ कक्षामा पास भए । १ जना स्कुलमै छन् । १ जना चितवन गए । ६ मा ७, ७ मा ४ र ८ मा ९ मात्रै विद्यार्थी छन । ६ कक्षामा भने ६ जना विद्यार्थी अन्य विद्यालयबाट आएका हुन् । ‘गाउँका घर ताला लागेको छ । बुहारी भोटेओडार, बेंसीसहर, चितवन, पोखरा, काठमाडौं छन्’ उनले भने, ‘पैसा दिए फर्किन्छन् कि भन्ने आश थियो । सोंचेजस्तो भएन ।’


गतबर्ष विद्यालयमा २६ जना थिए । प्रधानाध्यापक अधिकारीका अनुसार २०५३ बाट विद्यार्थी घट्ने क्रम सुरु भएको हो । उक्त स्कुलमा ३४ वर्ष गुजारेका प्रअ अधिकारीका अनुसार स्कुल २०१० सालमा स्थपना भएको हो । ‘हामीले २०५१ बाट निमावि चलाएका थियौं । २०५२ सालमा कक्षा ६ मा मात्रै ५२ जना विद्यार्थी थिए । स्कुलभरी करीब २ सय विद्यार्थी थिए’ उनले भने, ‘त्यसपछि के भयो, के भयो । गाउँले सहर झर्ने, युवा विदेशिने क्रम बढ्यो । सायद द्वन्द्वले पनि होला ।’


स्कुल वरपर २ सय घर छन् । पहिले एकै परिवारका २ जना पढ्थे । पहिले विद्यार्थी धेरै थिए । अहिले कक्षा खाली भएको उनले बताए । पहिले ११ जना दरबन्दीका शिक्षक थिए । अहिले प्रावि ३ र निमावि ३ छन् । कार्यालय सहयोगी र बालशिक्षिका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्पना अधिकारीले जसै गरे पनि विद्यालयमा विद्यार्थी बढाउन नसकिएको बताइन् ।


‘५ सय रुपैयाँ दिने भनियो । यो विद्यार्थीलाई खाजाको लागि थियो । अनेक गरेर छात्राबृत्तिको कुरा गरियो’ उनले भनिन्, ‘जति बिन्ती गरे पनि सकिएन । छोड्नेले गाउँ छोडेर गए । फर्किन आग्रह गर्दा पनि मानेनन् ।’

प्रकाशित : वैशाख ३०, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?