कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेयरको वडामा ५० योजना

प्रतीक्षा काफ्ले

स्याङजा — सदरमुकाम पुतलीबजार नगरपालिका– ३ नयाँबजारको लत्रेपिपलमा १ करोड ८१ लाख रुपैयाँको लागतमा ढडुवा–बिचारीडाँडा लिफ्टिङ खानेपानी योजना संचालन हुँदैछ  । यो वडाको ठूलो योजना हो  ।

टेन्डर भइसकेको योजनामा संघीय सरकार र नगरपालिकाको ४०/४० प्रतिशत् र उपभोक्ताको २० प्रतिशत लागत रहनेछ ।


यो नगरप्रमुख सीमा क्षेत्रीको वडा पनि हो । नगरका १४ वडामध्ये सवैभन्दा बढी ५० योजना यही वडामा रहेका छन । नगरको यति धेरै योजना सञ्चालन भएको यो एउटै हो ।

वडाले सडक, खानेपानीलाई प्राथमिकतामा राखेर योजना बनाएको छ । वडामा ती योजनाका लागि दिनहुँजसो सम्झौता, मूल्यांकन र फरफारकका लागि आउने गर्छन । धेरै योजना छनोट भए पनि बजेट भने न्यून रहेको वडाध्यक्ष अमृत श्रेष्ठको दावी छ । ‘बजेट कम भएकाले सबै काम सोचेजसरी पूरा नहुने भए’ उनले भने, ‘वडाकै कतिपय योजना प्रदेश र संघीय सरकार समक्ष पेश गरेका छौं ।’


प्रगतिनगर–वाहाकोट–काल्खु सडकखण्डका लागि ४० लाख रुपैयाँको योजना पनि सोही वडामा छ । बाडखोलाको सामाग्रीचोकबाट हमालडाँडा पुग्ने भित्री ग्रामीण सडकको पनि कालोपत्रे गरिने काम केही दिनअघि मात्रै सम्पन्न भएको छ । ४ सय ९ मिटर कालोपत्रे र ८० मिटर लामो नयाँ नाला निर्माण गरिएको वडाध्यक्ष अमृत श्रेष्ठले बताए । श्रेष्ठका अनुसार नगरपालिकाको २० र जनसहभागिताको ६ लाख गरी २६ लाख लागतमा उक्त काम सम्पन्न गरिएको हो ।


सदरमुकामसँगै जोडिएको वडा भएपनि सबै वडामा जस्तै २५ लाख बराबर समान बजेट पाएको वडाले जनाएको छ । वडामा एकदेखि २ लाखसम्मका साना र ३ लाखदेखी १ करोड बढीसम्मका ठूला योजना छ ।

गतवर्ष नयाँ ट्रयाक खोलिएको गोद्गोदे–गुडीखोला–नुवाकोट ग्रामीण सडकको निर्माण कार्य धमाधम अगाडि बढेको भए पनि आगामी आर्थिक वर्षमा नगरपालिकाबाट बजेट सम्बोधन हुन्छ हुदैन कुनै एकिन नरहेको हुँदा प्रदेश सरकारसँग पेश गरिएको वडाले जनाएको छ । कार्यालयका अनुसार १९ करोडको डिपिआर तयार भएको यस सडकको लागी नगरपालिकाले गतवर्ष ३० र चालु वर्ष १४ लाख रुपैयाँ विनियोजन गरेको थियो ।


प्रदेश राजधानी पोखरा जोड्ने छोटो सडकमा रूपमा रहेको यो सडक निर्माणको कार्य रोक लगाउनका लागि नगरपालिका स्वयंले निर्देशन दिएको स्रोतले जनाएको छ । बजेट र समयले भ्याएसम्मका काम भने पूरा गरिने वडा सदस्य तेजप्रसाद शर्मा बताउँछन् ।

पुतलीबजारले सामान्य २० हजार रुपैयासम्मका योजना आफैले सम्झौता गर्ने, रकम भुक्तानी गर्ने गरेकाले स्थानीयले झन्झटिलो प्रक्रियामा त्यति चासो नदेखाउने जनप्रतिनिधिको गुनासो छ । यसैरी नै वडाले बजार क्षेत्रको खानेपानी एकद्धार प्रणलीबाट लैजाने योजना पनि संगसंगै अगाडि बढाएको बताएको छ ।

साना–ठूला सवै योजनाको काम सुरु गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । नगर कार्यपालिकाको अनुसार जनसंख्या र भूगोलले पनि ठूलो वडा भएकाले यहाँ धेरै योजना परेका हुन् ।

वडा कार्यालयका अनुसार ४१ वटा वडास्तरीय योजनामध्ये ३९ वटाको कार्यक्रम सम्झौता भइसकेको छ भने २० वटा योजनाको निर्माण कार्य सम्पन्न भइसकेको योजना अधिकृत ताराचन्द्र ढकालले बताए । उनका अनुसार वडा ३ मा ९५ प्रतिशत योजनाको काम सम्पन्न भइसकेको छ ।


ढकालका अनुसार सबैभन्दा बढी योजना वडा ३ र ५ मा ४१/४१ छन । सबैभन्दा कम १३ वडामा २४ योजना छ । सबै वडामा १५ वटा नगर गौरवमका योजना छ ।

त्यस्तै एक सय ८६ नगरस्तरीय योजना छन । पुतलीबजार–१ का विमल खाँतीले सदरमुकामको वडा भएकाले एक नम्बरमा बढी रकम विनियोजन भएको हुनसक्ने बताए । वडा कार्यालयले पाउने २५ लाख रुपैयाँअन्तर्गतका साना योजना पनि वडास्तरीयमा समावेश गरिएको नगरफालिकाका योजना अधिकृत ढकालले बताए ।

प्रकाशित : जेष्ठ १, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?