कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्रामीण बस्तीमा थ्रीजी विस्तार

बागलुङ — नेपाल टेलिकमले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सबै ग्रामीण बस्तीमा थ्रीजी सेवा विस्तार गरेको छ । टेलिकम बागलुङ शाखाले चालु वर्ष १ सय ३ वटा टावरमार्फत थ्रीजी सेवा विस्तार गरेको हो ।

यसअघि सबै टावरमा टुजी मात्र थियो । पुराना टावरको क्षमता बढाएर ८१ वटा र १३ वटा नयाँ थपेर ९२ स्थानमा थ्रीजी सुरु भएको हो । असार मसान्तभित्र अन्य थप १० स्थानमा टावर बनाएर सेवा बिस्तार गरिने वरिष्ठ इन्जिनियर तथा शाखा प्रमुख केशव शर्माले बताए ।


उपल्लो मुस्ताङको चराङ, घमी तथा जोमसोममा नयाँ टावर निर्माण भइरहेको छ । त्यस्तै बागलुङको खुंखानी, नागबेलीखोला र निसीको भलकोट तथा रुकुम सिमासम्म टावर बनिसकेका हुन् । केहीअघि भकुन्डे, रायडाँडा, खुंगा, रिघा र बिजौरेमा टावर निर्माण गरेको शर्माले बताए । पर्वतको आर्थर डाँडाखर्कमा पनि नयाँ टावर निर्माण भइरहेको छ । म्याग्दीको सिंगा तातोपानी र चिमखोलामा भने टावर निर्माण भइसकेकोले असारभित्रै सेवा विस्तार हुनेछ ।


टेलिकमले सेवा विस्तार गरेपछि इन्टरनेट प्रयोगकर्ताले एक सय गुणाभन्दा धेरै प्रयोग क्षमता बढाएका छन् । शाखाको तथ्यांकअनुसार २ वर्ष अघिसम्म २४ घण्टामा ७० जिबी प्रयोग गरेकाले गत वर्ष १ हजार ७ सय जीबी र चालु वर्ष ३ हजार ४ सय जीबी प्रयोग गरेका छन् ।


१० वटा टावर थप गर्दा आगामी आर्थिक वर्ष यो क्षमता ४ हजार जीबीमा पुग्ने शर्माले बताए । ‘इन्टरनेटको माग बढे पनि भौगोलिक कठिनाइले क्षमता बढाउन सकेका थिएनौं’, शर्माले भने, ‘अहिले भने धमाधम काम भइरहेकाले सहज सेवा पुग्नेछ ।’ बागलुङका अधिकांश ग्रामीण बस्तीमा इन्टरनेट सुविधा नभएपछि बजार क्षेत्रमा झरेर सेवा लिनुपर्ने बाध्यता थियो ।


बुर्तिवाङ बजारमा पनि थ्रीजी अभावमा धेरै कार्यालय र निजी क्षेत्रले समेत इन्टरनेट सेवा लिन नपाएको गुनासो गर्न थालेपछि टेलिकमले क्षमता बढाएको हो । ‘हाल भइरहेका टावरमा क्षमता र नयाँ प्रविधि थपेर सेवा दिन लागेका हौं’ शर्माले भने, ‘थ्रीजीका लागि असारसम्ममा सबै व्यवस्था भइसक्नेछ ।’


नयाँ थप गर्न लागिएका टावरमा भने सुरुबाटै ४ जी सेवा जडान हुनेछ । सबै टावर ठडिँदा चालु वर्षभित्र १ सय ३५ टावरबाट धौलागिरी क्षेत्रको सेवा सञ्चालन हुनेछ । टेलिकमले चालु वर्षभित्रै सक्नेगरी बागलुङ बजारमा तामाको ताररहित सेवा विस्तार गर्न लागेको छ । अप्टिकल फाइबरमार्फत सेवा दिन जडानको काम सुरु भएको छ ।


‘यो वर्ष कम्तीमा २ हजार ५ सय २० डिभाइस जोडेर सेवा दिंँदैछौं’ शर्माले भने, ‘सेवा सुरुपछि इन्टरनेटको क्षमता बढ्नेछ ।’ अप्टिकल फाइबरमार्फत सेवा प्रवाह गरेर टेलिभिजन हेर्न सकिनेछ ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?