कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थीबाटै शैक्षिक सामग्री

पोखरा — यहाँको कुमुदिनी होम्स स्कुलमा अध्ययनरत विद्यार्थीले सामुदायिक विद्यालयमा पढ्ने आफूजस्तै विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री सहयोग गर्दै आएका छन् । माछापुच्छ्रे गाउँपालिकामा रहेका हिमालयन र बाराही आधारभूत विद्यालयका विद्यार्थीलाई केही वर्षयता यस्तो सहयोग गरिरहेका हुन् ।

हिमालयनमा अध्ययनरत ३९ र बाराहीका ५० विद्यार्थीलाई कापी, इरेजर, पेन्सिल कटर, पेन्सिल विद्यालयले हस्तान्तरण गर्‍यो । कुमुदिनीका अध्यक्ष अशोक पालिखेले विद्यार्थीमा समाज सेवा र कमजोर आर्थिक अवस्थाका विद्यार्थीलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास गर्न विद्यार्थीबाट शैक्षिक सामग्री जुटाएर उपलब्ध गराइएको बताए ।


हिमालयनमा यस्तो सहयोग ७ वर्ष र बाराहीमा ४ वर्षदेखि हुँदै आएको छ । दुवै विद्यालयका विद्यार्थीलाई दिवा खाजाका लागि प्रतिविद्यालय २ लाख १६ हजार रुपैयाँ उपलब्ध गराइन्छ । जर्मनीस्थित लोटस फाउन्डेसनका अध्यक्ष रैनर कुवेराले यो सहयोग गरेका छन् ।


कुमुदिनीको पहलमा दुवै विद्यालयका ३०/३० विद्यार्थीलाई बर्सेनि ड्रेस पनि उपलब्ध गराइने पालिखेले बताए । कुवेराले विद्यार्थीलाई १० कक्षासम्म आवासीय सुविधासहित जनही वार्षिक साढे ५ लाख रुपैयाँ खर्च बेहोरिदिएर दुई विद्यार्थीलाई निःशुल्क पढाएका छन् ।


माछापुच्छ्रे–२ भुर्जुङखोलाका प्रतीक पौडेल र विष्णुमाया आलेलाई यस्तो सहयोग उपलब्ध भएको हो । पहिला हिमालयनमा पढ्ने दुवै विद्यार्थी अहिले कुमुदिनीमा आवासीय रूपमा पढ्छन् । ४ र ३ कक्षामा पढ्ने उनीहरूलाई ३ वर्षदेखि यस्तो सहयोग उपलब्ध भएको हो ।


‘विद्यार्थीले आफूजस्तैलाई सहयोग गरेर पढ्ने हौसला दिएकोमा निकै खुसी छौं,’ हिमालयन र बाराहीका प्रधानाध्यापक माधवप्रसाद गौतम र रामप्रसाद आचार्यले भने, ‘यो सहयोगले विद्यार्थी पनि हौसिएका छन् ।’

प्रकाशित : जेष्ठ १२, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?