कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वडा कार्यालय पुग्न सास्ती

प्रकाश बराल

बागलुङ — रायडाँडाको वडा कार्यालयसम्म पुग्न सदरमुकामदेखि ४ सय रुपैयाँ भाडा तोकिएको छ । रामतोला र आफ्रे पुग्न वडा कार्यालयबाट थप डेढ सय रुपैयाँसम्म भाडा लाग्छ । त्यो पनि सवारी पाउनै मुस्किल । नपाएमा स्थानीयले वडा कार्यालयको सेवा लिन ३ देखि ५ घण्टा पैदल यात्रा गर्नुपर्छ । 

वडा कार्यालय पुग्न सास्ती

सदरमुकामदेखि २० किमी परको रायडाँडामा सडक खन्न चालु वर्ष १ करोड रुपैयाँ खर्च भएको छ । सोचेजस्तो प्रगति भने हुन नसकेको वडाध्यक्ष ज्ञानेन्द्र गौतम बताउँछन् । ‘भूगोलको समस्याका कारण एक करोड खर्चंदा सबै बस्तीलाई वडा कार्यालयमा ट्रयाक खोलेर जोडिएको छ,’ गौतमले भने, ‘सडक स्तरोन्नति र दिगो बनाउन करोडौं खर्च लाग्छ ।’


बर्षात् लागेकाले हिउँदमा खनिएका ट्रयाकमा पहिरो खस्ने क्रम शुरु भैसकेको छ । गत महिना खसेको ठूलो ढुंगाले महाविद्याजन माविमा पढ्न आउने झण्डै डेढ यस विद्यार्थीलाई अवरोध पुर्‍यायो । सडक अवरुद्ध हुँदा बालबालिकाले डेढ घण्टा लगाएर विद्यालय आउन बाध्य भए । ढुंगा फोडेर सडक खुलाइए पनि समस्या अझै रहेको गौतमले बताए । भएको बजेटले नपुगेपछि ऋण खोजेर सडक खुलाउने काम गरिएको उनको भनाइ छ ।


एक करोडमध्ये वडास्तरीय योजनामार्फत बस्ती जोड्न ५० लाख र नगरस्तरीय योजनामार्फत वडा कार्यालयलाई सदरमुकाम जोड्न ५० लाख खर्च भएको हो । ५० लाख खर्चेको मूल सडक चौडा पार्ने काम भएको छ । तर ढुंगैढुंगा भएकाले पटक पटकका बर्षातले ढुंगा र पहिरो खसेर हैरान पार्छ । ढुंगा खस्दा तल्लो बस्तीका धेरै घर जोखिममा पर्ने खतरा पनि छ ।


‘धेरै स्थानमा खोलिएकोले बर्षातमा जोखिम हुने संकेत देखियो,’ गौतमले भने, ‘नियमित मर्मत र नाली काटेर भए पनि वर्षातमा जीप चल्ने बनाउन नगर कार्यपालिकामा कुरा उठाएको छु ।’ बिरामी र बूढाबूढीलाई सदरमुकाम आउनका लागि उक्त सडक नियमित चल्ने बनाउन आवस्यक भएको स्थानीय कुमारी थापाले बताइन् ।


‘सुत्केरी समस्या भएर सदरमुकाम लैजानु पर्दा कसरी पुर्‍याउने नगरले बुझ्नुपर्छ,’ थापाले भनिन् । सडक अभावमा उत्पादित कृषि फसल पनि समयमा बजार पठाउन नपाएको गुनासो गर्छन् । डोकोमै बोकेर बजार झार्नुपर्ने अवस्था छ ।


वडास्तरीय योजनामार्फत चालु बर्ष रामतोलादेखि जैमिनी नगरपालिकाको कुश्मीसेरा जोडिएको छ । दमेक जोड्ने सडक बजेट अभावमा अलपत्र छ । नगरपालिकाले सदरमुकामदेखि रायडाँडा, दमेक हुँदै बरेङ गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणको योजना बनाएको नगरप्रमुख जनकराज पौडेलले बताए ।


‘गुल्मीको शान्तिपुर जोड्ने छोटो बाटो बनाउन लागिएकाले नियमित लगानी बढाउने योजना छ,’ पौडेलले भने, ‘तत्काल नियमित जिप चल्ने बनाउने र दीर्घकालिन रूपमा कालोपत्रे सडकको योजना भएकाले केही वर्षमा पूरा गरेर छाड्छौं ।’

प्रकाशित : जेष्ठ २५, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?