घरघरै स्वरोजगार
बागलुङ — उमेरले बुढ्यौली लागे पनि ताराखोला गाउँपालिका–५ की सपनादेवी बुढाको जोस भने तन्नेरी छ । जंगलमा पुगेर चाल्ने सिस्नो (अल्लो) ल्याउने, प्रशोधन गर्ने र धागो कात्ने काममा उनको दैनिकी बित्छ । २० वर्षदेखि परम्परागत रूपमा गरेको कामलाई उनले वैज्ञानिक बनाएको छ ।
उनी संलग्न जनतारा लघु उद्यमी समूहलाई गाउँपालिकाले मेसिन सहयोग गरेको छ । मेसिनबाट उनले धागो कात्ने र कपडा बुन्ने काम जानेकी छन् । ताराखोलामा ३ वटा अल्लो समूहका ३० बढी महिलाले धागो र कपडा बुनेर रोजगार बनेका छन् । ताराखोलाकै अमृता रोकाले भाङ्ग्रो बुनेर दैनिकी चलाएकी छन् ।
मगर समुदायको विवाह, जन्म र मृत्यु संस्कारमा बढी प्रयोग हुने भाङ्ग्रोले उनीजस्तै १० महिला रोजगार छन् । विदेशमा बसेका युवाले पनि अर्डर गरेर मगाएपछि उनीहरूले वर्षभरि नै फुर्सद पाउँदैनन् । रहरले मगाउने र लगाउने पनि बढेकाले रोजगारीको अवसर बनेको उनले बताइन् ।
बीस वर्षकी अमृता छन्त्यालले बुटिक भर्ने काम थालेकी छन् । साथीहरूको समूह बनाएर बुटिक भरेका सामान घरबाटै बेचेर उनले कमाउन थालेको बताइन् । ‘हजारौं खर्चेर बजारबाट ल्याउने सामान गाउँमै बनाउन थालेका छौं,’ छन्त्यालले भनिन्, ‘किनेर लगाउनेभन्दा आफैं उत्पादन गरेर बजार पठाउने गरी काम थालेका हौं ।’ उनीहरूले बनाउने अल्लो, भाङ्ग्रो र बुटिक भरेका कपडा बजारका जस्ता आकर्षक छैनन् । तर बलियो र सांस्कृतिक महत्त्वका छन् । त्यसैले ग्रामीण बस्तीमा धेरै रुचाइन्छन् ।
महिलाले झैं पुरुष युवालाई पनि गाउँपालिकाले रोजगारीका अवसर दिन थालेको छ । बेरोजगार बसेका युवालाई सडक निर्माणसहित अन्य उत्पादनमूलक क्षेत्रमा काममा लगाउने योजना अगाडि सारेको अध्यक्ष प्रकाश घर्तीले बताए । ‘चालु वर्ष ढिला गरी काम थालिएकाले जेठ र असार महिनामा कम्तीमा १ सय युवालाई २२ दिनको रोजगारी दिइनेछ,’ घर्तीले भने, ‘आगामी वर्षदेखि वर्षमा ८ देखि ९ महिना रोजगारी दिन सकिने क्षेत्रको खोजी भइरहेको छ ।’ चालु वर्षका लागि भने गाउँपालिकाभित्रका मुख्य सडकको नाली निर्माण, सोलिङ गर्ने तथा सिंचाइ योजना निर्माणमा काम लगाइएको उनले बताए । नेपाल सरकारले दिने ५ सय १५ रुपैयाँको ज्यालामा थप गरेर प्रतिदिन ७ सय रुपैयाँ दिने व्यवस्था गरेको उनले बताए ।
गाउँपालिकाले घरघरमा उद्यमी उत्पादनको काम थाल्ने कार्यक्रम बनाएको छ । युवामा पनि जोस पलाएको छ । आफ्नो कार्यकालभित्र कम्तीमा ३ हजार ९ सय युवालाई आत्मनिर्भर व्यवसायमा लगाउने योजना घर्तीले सुनाए । गाउँपालिकाले संघीय सरकार, प्रदेश र जिल्लाका अन्य सरकारी तथा गैरसरकारी संस्थामा समन्वय अगाडि बढाएको उपप्रमुख डिलकुमारी पुनले बताइन् ।
यो अभियानलाई घरेलु तथा साना उद्योग विकास समिति, लघु उद्यम विकास कार्यक्रम, जिल्ला लघुउद्यमी समूह संघलगायतले सहयोग गरेका छन् । ‘गाउँभर उद्यमी बनाउने लहरै चलेको रहेछ, त्यसैले हामीले तालिम र स्वरोजगार बढाउने अभियानमा साथ दियौं,’ उद्यम विकास सहजकर्ता छमाया घर्तीले भनिन्, ‘व्यवसायमा आकर्षित गर्न १० दिने उद्यमशीलता तालिम र व्यवसाय छनोट गरेकालाई ४५ दिने व्यावसायिक तालिम दिइरहेका छौं ।’ यस्तो तालिमपछि उद्यमीले उत्पादन गर्ने वस्तुको बजारीकरणमा पनि संस्थाले पहल गरिदिएका छन् ।
युवा सिस्नोको पाउडर बनाउने, पछ्यौरालगायत कपडामा बुटिक भर्ने, फर्निचर व्यवसाय, ढुंगाखानी सञ्चालन र सिकर्मीको काम गरेर रोजगार बन्न थालेका छन् । उनीहरूको आकर्षणबाट गाउँपालिकाले सोचेको लक्ष्य समयमै पूरा हुने आशा पलाएको घर्तीले बताए । उनीका झोला बुन्ने, गलैंचा बनाउनेलगायतका काममा महिला उद्यमीलाई पुरुषले पनि साथ दिएका छन् ।
घरघरमा र समूहमा बसेर पनि उद्यमीहरूले काम गरिरहेकाले केही समयमै आत्मनिर्भर र आर्थिक उन्नतिमा पुग्न सकिने घर्तीको विश्वास छ । यो अभियानमा गाउँपालिकाले आफ्नो बजेटको लगानी गरेको छ । उनीहरूले आवश्यकताको आधारमा व्यवसाय छनोट गरेर काम थालेका हुन् । गाउँपालिकाले जस्ता पाता ल्याउन रोक लगाएकाले स्थानीय ढुंगा खानीले एक सयभन्दा बढी युवालाई रोजगार दिइसकेको छ ।
प्रकाशित : जेष्ठ २६, २०७६ ०९:५५