अप्ठेरामा पनि निरन्तर सिर्जना

प्रतीक्षा काफ्ले

स्याङ्जा — उमेरले ५ दशक काटिन् । काम गर्ने इच्छाशक्ति भने कुनै युवाको भन्दा कम छैन । सानै उमेरदेखि साहित्य र कला क्षेत्रमा रुचि राख्दै आएकी संगीता सारथि दुर्घटनापछिको नयाँ जीवनमा कलम चलाउन थालेको बताउँछिन् । 

गीत छायांकन गर्न व्यस्त संगीता सारथि । तस्बिर : कान्तिपुर

शान्तिनगर, झापा घर भई १८ वर्षदेखि स्याङ्जाको पुतलीबजार–१ प्रगतिनगर बस्दै आएकी उनी पेसाले शिक्षिका हुन् । कलाकारसँगै साहित्यकारको सूचीमा पनि उभ्याउन सफल भएकी छन् ५१ वर्षीया सारथि । ०६५ सालमा उनलाई ब्रेन हेम्ब्रेज भयो । टाउकामा किराको अन्डा परेकाले २ पटकसम्म शल्यक्रिया गर्नुपर्‍यो । बाँच्ने आस हराइसकेको थियो । उनले भनिन्, ‘सबैले मरी भन्दाभन्दै पुनर्जन्म पाएँ । बाँकी जिन्दगी समाजमा केही गर्नुपर्छ भन्ने भएर कलम चलाउन थालेँ ।’ जीवनको ग्यारेन्टी नहुँदा इच्छाशक्ति भएर पनि प्रस्तुत गर्न नसकेको अवस्थामा शल्यक्रियाले हिम्मत जुटाइदिएकोउनले बताइन् ।

बीएड उत्तीर्ण उनी २०४५ सालदेखि अध्यापनमा सक्रिय छिन् । दुर्गादेवी आधारभूत विद्यालय देवीस्थानमा पढाउँछिन् । उनका कुँडिएका मन २०६७, अनुभूति जीवन अनि मृत्युको २०७२ कथासंग्रह बजारमा आएका छन् । माइतै रमाइलो २०७२ लगायत ५ वटा तीजका गीत, २०६८ मा आधुनिक गीत एल्बम माया र मनलाई बाँध्न खोज्छु बजारमा ल्याइसकेकी छन् । प्रत्येक गीतमा शब्द र स्वर उनकै छन् । उनले जिल्लाको पर्यटकीय र धार्मिक क्षेत्रलाई समेटेर २०६८ सालमा वृत्तचित्र पनि बनाइन् ।

कथामा समाजमा हुने घटना, सामाजिक विसंगतिलाई समेटिएको छ । उनले निकालेको दोस्रो कथा संग्रहमा भने केही भाग आफ्नै टाउकाको शल्यक्रिया हुँदाको कहानी जोडेकी छन् । स्याङ्जा सांस्कृतिक कला केन्द्रको संस्थापक अध्यक्ष रहेकी सारथि ओमशान्ति सिर्जना नारी सीप विकास संस्थाको उपाध्यक्ष, नारी सचेतना केन्द्रको सचिव र प्रगतिशील लेखक संघको गण्डकी प्रदेश सदस्यलगायत विभिन्न सामाजिक संघसंस्थामा सक्रिय छिन् ।

काम गर्दै जाँदा आइपर्ने चुनौतीलाई सामना गर्दै जानुपर्ने बताउने उनले भनिन्, ‘सुरुसुरुमा मलाई धेरैले असहयोग गरे, विरोध गरे तर लेख्न पछि परिनँ । काम गर्दै गएँ, अहिले सहयोग गर्ने पनि विरोध गर्नेको संख्या बराबरी पाएकी छु ।’ उनी कविता पनि लेख्छिन् । तीनवटा आधुनिक गीत लेखेर छायांकन र एउटा किताब लेख्ने तयारीमा छिन उनी ।उनका श्रीमान्, २ छोरी र एक छोरा छन् । श्रीमान् पनि शिक्षक छन् ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:५३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

महानगरको भाडामा विभेद

विना थापा

कास्की — पोखरा महानगरपालिकाले विभिन्न स्थानमा लगाएको सटर भाडा विभेदपूर्ण भएको पाइएको छ । फरक–फरक भाडा लिई अन्याय गरेको गुनासो भाडामा बस्नेहरूले गर्दै आएका छन् । त्यसैमध्येकी एक हुन्, राष्ट्रबैंक चोकस्थित महानगरको भवनमा बस्दै आएकी लक्ष्मी श्रेष्ठ ।

कपडा पसल सञ्चालन गर्ने उनी मासिक ३५ हजार भाडा महानगरलाई बुझाउँछिन् । ‘पहिला सरकारी कार्यालय यतैतिर धेरै भएकाले चहलपहल हुन्थ्यो । व्यापार पनि फस्टाएको थियो । भाडा तिर्न समस्या हुन्थेन,’ उनले भनिन्, ‘अहिले चहलपहल घटेसँगै व्यापार पनि घटेको छ । भाडा घटाउ भन्दा महानगर मान्दैन ।’ उनले अन्यत्र भने महानगरले भाडामा व्यापक घटाएको बताइन् ।

जिल्ला मालपोत र नापी कार्यालय अघि पनि महानगरका ११ सर्टर छन् । त्यहाँको चहलपहलमा कुनै कमी छैन तर महानगरले भने ती सटरको भाडा ९ देखि १५ हजारसम्म घटाएको छ । ‘व्यापार उस्तै उस्तै हो,’ श्रेष्ठले भनिन्, ‘यस्तो विभेद किन ?’ भाडा घटाउन महानगरमा निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो उनको छ । राष्ट्रबैंकचोकमा १० सर्टर छन् ।

मालपोतअगाडिको सटरको भाडा के कारणले घटाए, थाहा नभएको राष्ट्रबैकचोककी अर्की लक्ष्मी पौडेलले बताइन् । उनले महानगरलाई मासिक २३ हजार ५ सय ५५ रुपैयाँ बुझाउँदै आएकी छन् । ‘मालपोत अगाडिकालाई मात्र भाडा घटाएकाले विभेद भएको छ, घटाए सबैलाई घटाउनुपर्छ,’ उनले भनिन्, ‘व्यापार उस्तै हो, सुविधा केही छैन, घर आफैं मर्मत गर्नुपर्ने अवस्था छ, बत्ती छैन । भवन जीर्ण छ तर कसैलाई ढाड सेक्ने गरी भाडा असुलेका छन् । कसैलाई घटाएका छन्, महानगरले भाडामा बस्नेलाई एकै रूपले हेर्नुपर्छ ।’

महानगरका कर अधिकृत शिवहरि शर्माले मालपोत कार्यालय लेखनाथमा पनि सरेको, संरचनामा केही क्षति पुगेको, विद्युत् र खानेपानी सुविधा नभएपछि भादादर घटाएको बताए । ‘पानी, बिजुलीको व्यवस्था आफैंले गरेका छन्, कतिकामा शौचालयसमेत छैन । अर्को व्यापारसमेत घटेको अवस्थाले भाडा घटाइएको हो,’ उनले भने, ‘अवस्था हेरेर भाडाको व्यवस्था गर्न सकिन्छ ।’

मालपोत अगाडिका सटरसँग पहिला २६ हजार ५ सय ५ भाडा लिएकामा घटाएर १० हजार एक सय ८० गराइएको छ भने १५ हजार भाडा भएकामा घटाएर ६ हजारमा झारिएको छ । मालपोत कार्यालय अगाडिको मात्र नयाँ भाडादर कायम भएको हो । उनका अनुसार महानगरका महेन्द्रपुलमा २५, अर्घौंचोकमा ४, सिर्जनाचोकमा १ भवन, राष्ट्रबैंक चोकमा १० र मालपोतअगाडि ९ गरी ४९ सटर भाडामा छन् ।

चालु आर्थिक वर्षको साउनदेखि जेठ २६ सम्ममा १ करोड ८६ लाख रुपैयाँ उठेको छ भने १ करोड ४० लाख उठ्न बाँकी छ । भाडाबाट उठेको पैसा आन्तरिक विकास निर्माण कार्यमाविनियोजन गरिन्छ ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT