कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वडाध्यक्षलाई मोटरसाइकल

लमजुङ — राइनास नगरपालिकाका जनप्रतिनिधिलाई सरकारी नम्बर प्लेट टाँसेर मोटरसाइकल चलाउने मोह बढेको छ । नगरपालिकाले १० वटै वडाका वडाध्यक्षका लागि एकै प्रकारको मोटरसाइकल खरिद गरेको छ । 

आवश्यकताअनुसार सचिव तथा वडा सदस्यले समेत चलाउन सक्ने भनिए पनि मोटरसाइकल वडाध्यक्षको नियन्त्रणमा छ । स्रोतका अनुसार वडाअध्यक्ष धेरै जनासँग सवारीचालक अनुमतिपत्र छैन । अधिकांशले राम्रोसँग चलाउन पनि जान्दैनन् । केहीले चलाउँदै चलाउँदैनन् । ‘मोटरसाइकल सवै वडाध्यक्षलाई दिइएको छ । चलाउन जान्दैनन् । जान्नेसँग पनि लाइसेन्स छैन । कसरी चलाउँछन् थाहा छैन,’ एक वडाध्यक्षले भने ।


नगरप्रमुख सिंहबहादुर थापाले दुई महिनाअघि किनेको स्कोर्पियो, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीले वर्ष दिनअघि किनेको टाटा पिकअप र उपप्रमुख धनकुमारी गुरुङले तीन वर्षअघि किनेको बोलेरो जिप चढ्दै आएका छन् । उपमेयर गुरुङले आफू चढेको गाडी पुरानो भएको र समस्या आएको गुनासो गर्दै आएकी छन् । तीनवटै गाडी प्रमुखले चढिसकेका छन् । प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखामा एयर कन्डिसन (एसी) राखिएकोमा स्थानीय केहीले जनप्रतिनिधि र कर्मचारी सौखिन भएको आरोप लगाएका छन् ।


नगरपालिकाका अनुसार वडाध्यक्षले वडा कार्यालय जान र अनुगमनलगायत काममा अप्ठेरो परेको परेको भन्दै नगरपालिकामा मोटरसाइकल किन्ने योजना प्रस्ताव गरेका थिए । चालु आर्थिक बर्षको सुरुवातमै बसेको कार्यपालिका बैठकले निर्णय गरेर सभामा प्रस्ताव पेश गरिएको थियो । नगरसभाले पारित गरेपछि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेर टेन्डर प्रक्रियामार्फत उक्त मोटरसाइकल किनिएको गाउँपालिकाले जनाएको छ ।


वडा २ का अध्यक्ष रामचन्द्र अधिकारीले मोटरसाइकल लगेर चलाउने गरिएको बताए । ‘पहिले बाइक थिएन । अहिले भएपछि कामकाजमा सजिलो भएको छ,’ उनले भने, ‘हामीले नै प्रस्ताव गरेर बाइक किनिएको हो । धेरै काम छ । सुविधा दिनु नराम्रो होइन नि ।’ नगरपालिकाको आन्तरिक कोषबाट उक्त मोटरसाइकल किनिएको उनले बताए । वडा ८ का अध्यक्ष कृष्णप्रसाद लामिछानेले सहयोगी लिएर मोटरसाइकल चलाएको बताए ।


‘मलाई चलाउन आउँदैन । सहयोगी लिएर चलाएको छु । सजिलो भएको छ,’ उनले भने । ९ का अध्यक्ष देवबहादुर थापाले मोटरसाइकल ल्याएर वडा कार्यालयमा राखेको बताए । ‘आफू बुढो पनि भइयो । २० वर्षअघि चलाएको कुरा । बाटो राम्रो पनि छैन, विर्सियो पनि होला,’ उनले भने, ‘मैले नलिउँ पनि भनेको हो । साथीहरूले हुँदैन भनेपछि हुन्छ भनिहालें ।’


प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीका अनुसार १० वटा वडाका लागि १५० सीसीको यामाहा मोटरसाइकल किनिएको छ । प्रतिमोटरसाइकल १ लाख ८० हजार रुपैयाँ परेको छ । आफ्ना लागि सवारीसाधन आएको डेढ महिना भएको भन्दै कुन शीर्षकको कुन बजेटबाट खरिद गरिएको हो भन्ने जानकारी नभएको दाबी उनले गरे । नगरपालिकाले सुशासन तथा संस्थागत विकास शीर्षकमा विनियोजित बजेटबाट वडा कार्यालयको मोटरसाइकल खरिद गरेको हो ।


उक्त बजेट आन्तरिक स्रोत (राजस्व) बाट व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख थापाले वडा कार्यालयको प्रशासनिक तथा विकास निर्माण कार्य प्रभावकारी बनाउन वडाध्यक्षको माग र आवश्यकता बमोजिम मोटरसाइकल उपलब्ध गराइएको बताए । ‘वडा कार्यालय र जनप्रतिनिधिको घर टाढा भयो । सार्वजनिक सवारी चल्दैन । कामकारबाही असहज भएको गुनासा आयो,’ उनले भने, ‘कार्यपालिका बैठक हुँदै नगरसभाले पारित गराएर टेन्डर प्रक्रियाबाट सवारीसाधन खरिद गरिएको हो ।’


आवश्यकताअनुसार अध्यक्ष, सचिव र वडासदस्यहरूले समेत प्रयोग गर्न सक्ने उनले बताए । ‘वडाको सम्पत्ति हो । दुरुपयोग र विना काममा प्रयोग गरे नगरेको म आफैं हेर्छु,’ उनले भने ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?