कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मानहुँडाँडामा पर्यटक बढे

प्राकृतिक दृश्यावलोकनका लागि बाह्र र आन्तरिक पर्यटकको आगागमन बढेको हो
प्रताप रानामगर

(दमौली) — तनहुँको मानुहुडाँडामा पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिका–५ मा प्राकृतिक दृश्यावलोकनका लागि आन्तरिक पर्यटक आउन थालेका हुन् । पछिल्लो समयमा पर्यटकको राम्रै चहलपहल भइरहेको स्थानीय रेवती थापाले बताइन् ।

मानहुँडाँडामा पर्यटक बढे

शुक्रबार र शनिबार दैनिक डेढसयसम्म पर्यटक आउँछन् । अरु दिनमा ३०/३५ जना आउने गरेका र फाट्टफुट्ट विदेशी पर्यटक पनि देखिन थालेका छन् । पर्यटकको चहलपहल भएसँगै मानहुँबासी सत्कार र खाजा खाना खुवाउन व्यस्त छन् । स्थानीयले चियाखाजा पसलदेखि होटलसमेत सञ्चालन गरेको थापाले बताइन् । स्थानीय जातको कुखुराको व्यवसाय पनि फस्टाएको छ । पर्यटकलाई खाजा खाना खुवाएर एका घरले १५ सयदेखि ७ हजार रुपैयाँसम्म दैनिक आम्दानी गर्न थालेको उनको भनाइ छ । आधा दर्जन घरले होटलको सुविधा दिएका छन् भने एउटा व्यवसायिक होटल पनि सञ्चालनमा आएको छ । पोखरा, काठमाडौ र जिल्लाकै विभिन्न स्थानबाट घुम्न आउने गरेका हुन । सडक कच्ची भए पनि सवारी साधन सहज रुपमा उपलब्ध हुन्छ ।


सडक पक्की भएपछि पर्यटक संख्या बृद्धि हुने स्थानीयको आशा छ । प्राकृतिक दृश्यावलोकनका लागि मानहुँडाँडा उपयुक्त भएको अमेरिकी पर्यटक जोसेफले बताए । ‘यहाँबाट ३६० डिग्री जस्तै पुरै दृश्य देखिने रहेछ,’ उनले भने, ‘मलाई एकदम मन पर्‍यो ।’ मौलिक खाना र संस्कृतिले लोभ्याएको उनले बताए ।


गाउँ पुग्ने सडक कालोपत्रे सुरु गरिएको छ । अलैचेबाट मानहुँकोटसम्म पुग्ने साढे ६ किमि बाटो कालोपत्रे गर्ने योजना हो । ६ महिना अघि शुरु नाला निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको वडा ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । ‘मानहुँकोटको पर्यटन विकासका लागि पूर्वाधारमा जोड दिएका छौ,’ उनले भने, ‘कालोपत्रेका काम सुरु गरेका हौं ।’ पदयात्रा गर्दै पनि मानहुँडाँडा पुग्न सकिन्छ । चापाघाटदेखि अलैचेसम्म पैदलमार्ग निर्माण गरिएको छ । पर्यटकलाई लक्षित गरेर अलैचेसम्म पैदलमार्ग निर्माण गरिएको र त्यसलाई विस्तार गर्दै मानहुँसम्म पुर्‍याउने लक्ष्य रहेको उनले बताए । मानहुँडाँडामा आफैमा भ्युटावर हो ।


यहाँबाट दमौली बजार र अन्य आसपासका ठाउँ प्रष्ट देख्न सकिन्छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै व्यास नगरपालिकाले डाँडाको छेउमा रेलिङ निर्माण गरेको छ । ३० लाख रुपैयाँको लागतमा निर्माण गरिएको रेलिङ अन्तिम चरणमा पुगेको छ । पुर्वधार विकासका आगमी आर्थिक बर्षका लागि एक करोड बजेट माग गरेको उनले बताए ।


धारापानीमा ट्यांकी निर्माण गरेर पानी सङलन गरी लिफटिङ प्रणालीबाट पानीको व्यवस्था गर्ने तयारी पनि थालिएको छ । खानेपानी व्यवस्था गर्नका लागि गण्डकी प्रदेश सरकारसंँग खानेपानीको माग गरिएको उनले बताए । ऋषिमुनीको तपोभुमी रुपमा मानहुँकोटलाई लिइन्छ ।


आदिकवि भानुभक्त आचार्यको मावलीगाउँ पनि हो यो । मगर समुदायको सांस्कृतिक सम्पदाले यतीबेला पर्यटकललाई लोभ्याउन थालेको छ । हिमशृंखला, फाँट, हरियाली डाँडाकाडा, मगर समुदायको सांस्कृतिक नाँच कौराहा र झाभुरा नाँचले पर्यटकलाई लोभ्याउने गरेको छ ।


सदरमुकाम दमौलीबाट डेढ घन्टामा हाइकिङ्ग गर्दै मानहुँडाँडा पुग्न सकिन्छ । पृथ्वीराजमार्गबाट लगभग सात किमी कच्ची सडकको प्रयोग गरी मोटरसाइकल र जीपमा आधा घण्टामा सहजै रुपमा पुगिन्छ । मानहुङ्गकोट, दमौली र सेरोफेरालाई २ रात ३ दिनको प्याकेज कार्यक्रम बनाइएको छ । व्यास परासर क्षेत्रको पुलबाट हाइकिङमा मानहुँडाँडाको रुट तयार गरेको मध्यनेपाल पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङले बताए ।

प्रकाशित : असार ७, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?