कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वडाध्यक्षले च्याते रातो किताब

पोखरा — कांग्रेसबाट निर्वाचित वडाध्यक्षले योजना र बजेट समेटिएको पोखरा महानगरको ‘रातो किताब’ च्यातेका छन् । पाँचौं नगरसभाको चौथो दिन बुधबार आएको रातो किताबमा संलग्न योजनाप्रति असन्तुष्टि व्यक्त गर्दै उनीहरूले च्यातेका हुन् । 

आर्थिक वर्ष २०७६/०७७ का लागि महानगरले प्रस्तुत गरेको बजेटसम्बन्धी छलफलमा योजना निर्माण र बजेट विनियोजनमा कांग्रेसले चुनाव जितेका वडालाई विभेद गरेको दाबी उनीहरूले गरेका छन् । उनीहरूको विरोधका कारण बुधबारको बैठक तनावपूर्ण बनेको थियो । नगरसभाका क्रममा कांग्रेसका एक वडाध्यक्षले सभास्थलमा रहेको टेबुल नै उचालेर फालिदिएका थिए ।


कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूको विरोधका बाबजुद नगरसभाबाट बजेट बहुमतले पारित भएको घोषणा गरियो । पोखरा महानगरका ११ वटा वडामा कांग्रेसबाट निर्वाचित अध्यक्ष छन् । महानगरका प्रतिपक्षी दलका नेता तथा वडा नम्बर ९ का अध्यक्ष रामराज रेग्मीले बजेटमा सबै योजना केन्द्रीकृत गरिएको र कांग्रेसले जितेका वडामा कम बजेट विनियोजन गरेको हुनाले रातो किताब च्यातेको स्विकारे ।


‘हामीले योजना केन्द्रीकृत नगर्नुहोस् र भेदभाव गर्न हुँदैन भनेर पटक–पटक आग्रह गर्‍यौं,’ उनले भने, ‘भेटमा उहाँ (मेयर मानबहादुर जीसी) ले त्यसै हुन्छ भन्नुभयो तर बजेटमा विभेद गरियो ।’ योजना छनोट र बजेट विनियोजन गर्दा समानुपातिक बाँडफाँट नभएकामा नेकपाका वडाध्यक्ष पनि असन्तुष्ट रहेको दाबी गरे ।


रातो किताब नभई सभा चल्न नदिने भन्दै विरोधमा उत्रिएका कांग्रेसबाट निर्वाचित वडाध्यक्षको मागअनुसार बुधबार करिब ३ बजे मात्रै रातो किताब वडाध्यक्षका हातमा परेको थियो । पोखरा–१२ का अध्यक्ष रामबहादुर कार्कीले रातो किताब आएको एक घण्टापछि बसेको बैठकमा विपक्षी दलका नेतालाई बोल्न दिने सहमति भए पनि नदिइएको बताए ।

प्रकाशित : असार १२, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?