कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रभावकारी भएन लागूऔषध न्यूनीकरण अभियान

कास्की — पोखरामा लागूऔषध दुरुपयोग ओसारपसार न्यूनीकरणमा अभियान प्रभावकारी नभएको सरोकारवालाले जनाएका छन् । सरकारी तथा गैरसरकारी संस्थाले लागूऔषधबारे विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि त्यसले कुनै प्रभाव नपारेको उनीहरूको भनाइ थियो । 

‘हामी पनि संस्थामा छौं घर–घर गएर सम्झाइबुझाइ गर्छौं । कुरा सुन्ने त परको कुरा, उल्टै हामीलाई नै सम्झाउन खोज्छन्,’ बगरकी अभियन्ता पवित्रा केसी भन्छिन्, ‘टोल विकास संस्था र घरपरिवारले जबसम्म यसलाई आफन्त र टोलको भएको नाताले छिपाएर राख्ने गर्छ तबसम्म लागूऔषध कारोबारको न्यूनीकरण हुँदैन ।’


पोखरा– ९ कृष्णटोल आमा समूहकी सदस्य सन्तमाया क्षत्री भन्छिन्, ‘बुबाआमाले नै यसको बहिष्कार गरी छोराछोरीले लागूऔषध प्रयोग गरेको पाए राम्रो सल्लाह दिएमा राम्रो हुन्छ ।’ संघसंस्थाले न्यूनीकरणका लागि धेरै कार्यक्रम र प्रचारप्रसार भए पनि त्यसको ठीक उल्टो भएको उनको भनाइ थियो । पछिल्लो समय प्रयोगकर्ता र बिक्रीवितरण गर्नेको संख्या बढेको घटनाले सचेतना कार्यक्रम प्रभावकारी नभएको उनले बताइन् । घरपरिवारले नै वास्तविकता लुकाएर राख्ने गर्दा समस्या भएको उनले बताए ।


लागूऔषधसहितको फोटो प्रमाण दिंदा प्रहरीले नुनको पोको भनेर फर्काएको समेत सम्झना उनले सुनाइन् । यसको अर्थ प्रहरीले पनि कतिपय घटना लुकाउने गरेको उनको भनाइ हो । लागूऔषध तथा मादक पदार्थ सेवनमा लाग्नुको मुख्य कारण साथीको दबाब, पारिवारिक बेवास्ता, बालबालिकालाई अनावश्यक पैसा दिनु लगायतका भएको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले बताए । विभिन्न कार्यक्रम गरी न्यूनीकरण प्रयास गर्दा पनि समस्या समाधान नएको उनले बताए । ‘यसका लागि घरपरिवार, टोल छिमेक, नागरिक र सुरक्षाकर्मी आआफ्नो ठाउँबाट सक्रिय हुनुपर्छ,’ उनले भने ।


लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा भएको साताव्यापी कार्यक्रम बुधबार समापन गर्दै उनले लागूऔषध प्रयोगकर्ता हेपाटाइटिस बी र सी तथा एचआईभी संक्रमित हुने उनले बताए । कार्कीका अनुसार कतिपय सवारी दुर्घटनाको कारण लागूपदार्थ तथा मादक पदार्थले हुने उनले जनाए ।

प्रकाशित : असार १२, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?