कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिद्धार्थ राजमार्गमा घरटहरा बाधक

प्रतीक्षा काफ्ले

(कास्की) — चीन– भारत नाका तथा गण्डकी र ५ नम्बर प्रदेशको राजधानी जोड्ने सिद्धार्थ राजमार्ग स्तरोन्नतिको चर्चा चलेको डेढ दशक पुगिसक्यो । सम्भाव्यता अध्ययन पनि नभएको होइन, राजमार्ग भने अझै उस्तै साँघुरो र जोखिमपूर्ण छ । 
स्थानीय सरकारले फराकिलो बनाउने बहानामा यति बेला ठाउँठाउँ डोजर चलाएका छन् तर बिनाइन्जिनियरिङ गरिएका यस्ता कामले जोखिम झन् बढाएको छ ।

सडक डिभिजन कार्यालय पोखराको सहकार्यमा स्याङ्जाका पुतलीबजार, वालिङ र फेदीखोला गाउँपालिकाले घुम्ती कटान गर्दै छन् ।


मुख्य समस्या सडकसँगै जोडिएका घरटहरा हुन् । स्याङ्जा खण्डको ८३ किलोमिटरमा मात्रै ८ हजार घरटहरा छन् । कास्की, पाल्पामा पनि त्यस्तै समस्या छन् । ‘सडक चक्लाउँदा घर झुन्डिन्छन् । सडक मापदण्डभित्रका घर बढी जोखिममा छन्,’ वालिङ नगरप्रमुख दिलीपप्रताप खाँड भन्छन्, ‘हाम्रो प्रयासले मात्र सडक स्तरोन्नति सम्भव छैन । अलि बढी अप्ठेरो ठाउँमा हामीले सहज बनाउने हो । स्थानीयको चित्त बुझाएर काम गर्नुपर्छ ।’

पुतलीबजार नगरपालिकाले फेदीखोला क्षेत्रमा घुम्ती–मोड केही फराकिलो बनाए पनि समस्या उस्तै छ । ‘सडक फराकिलो बनाउने बहानामा डोजर लगाउँदा कैयौं घर झुन्डिएको अवस्थामा छन्,’ पुतलीबजार–३ का शिक्षक धुव्र पौडेल भन्छन्, ‘स्थानीय सरकारबाट सडक स्तरोन्नति सम्भव छैन । काम देखाउन बजेट मात्र सकिएको छ ।’


वालिङ नगरले ८ मिटर चौडाइ कायम गर्न खोजे पनि घरकै कारण समस्या भएको जनायो । भीरकोट नगरपालिका पैदल मार्गमा मात्रै सीमित बन्यो । सडक फराकिलो बनाउन घर बाधक बनेकाले पेटी बनाएर छाडिएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुँगाना बताउँछन् । ‘नगरभित्र पर्ने राजमार्गको सबै भाग फराकिलो बनाउने योजना अगाडि सारेका थियौं,’ उनले भने, ‘राजमार्गसँग जोडिएर बनेका घरले समस्या बनायो ।’


राजमार्ग पछिल्लो समय झनै अतिक्रमण हुँदै गएको छ । यसले विकास निर्माणमा बाधा पुगेको भन्दै व्यवसायीले स्तरोन्नतिको माग गर्दै आएका छन् । स्याङ्जा चेम्बर अफ कमर्सकी अध्यक्ष नन्दकुमारी लम्सालले समग्र स्याङ्जाको विकासका लागि सडक आवश्यक रहेकाले स्तरोन्नतिको काम प्राथमिकतामा राख्न आग्रह गरिन् । ‘बारम्बार घर भत्काउने कुरा गरिन्छ तर सरकारले कहिल्यै योजना अगाडि सार्दैन,’ उनले भनिन् ।

प्रकाशित : असार १९, २०७६ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?