तोकिएको समयमै बन्यो पुल

कान्तिपुर संवाददाता

(गण्डकी) — एउटै ठेकेदारले धेरै योजनाको ठेक्का लिने । ठेक्का लिएर समयमा नै काम नगर्ने । अधिकांश योजना पुनः भत्काउनुपर्ने गरी काम गर्दै आएको अवस्थामा स्याङ्जाको आँधीखोला गाउँपालिका–५ मा निर्माण गरिएको मोटरेबल पुलको काम तोकिएको समयमा नै सम्पन्न भएको छ । 

नौडाँडा–बिचारीचौतारा–कार्कीनेटा सडकखण्डअन्तर्गतको जुग्लेखोलामाथिको पुल निर्माणको समय एक वर्षको भए पनि ८ महिनामै सकिएको हो । पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार उद्घाटन गरे । २२ मिटर लम्बाइको पुलको चौडाइ ६ मिटर रहेको छ ।

पुल २ करोड ९५ लाख ९१ हजारको इस्टिमेट गरे पनि ठेकेदारसँग सम्झौता भने २ करोड २० लाख ७० हजार रुपैयाँमा गरिएको थियो । पुलको २ इन्च उचाइ बढाइएकाले लागत बढेर २ करोड ४७ लाख ५४ हजार रुपैयाँमा सम्पन्न भएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचीव ईश्वरचन्द्र मरहट्ठाले बताए । पुल गजिन्द्र निर्माण सेवा प्रालिलेबनाएको हो ।
गत कात्तिक १९ मा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले पुलको शिलान्यास गरेका थिए । आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीर पौडेलले तोकिएको समयभित्रै पुल निर्माण गर्ने बाचा गरेअनुरूप काम भएको बताए । ‘जिल्लामै पहिलोपटक समयभित्रै पुल निर्माण भएको यो एउटै उदाहरण हो,’ उनले भने, ‘हामीले प्रदेश सरकार, ठेकेदार कम्पनीसँग सहकार्य गरी कामको निगरानी गर्दै आएका थियौं । त्यसको परिणाम हो यो ।’

पुलको उद्घाटन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयताको मर्मअनुसार गण्डकी प्रदेशले काम गरेको बताउँदै स्थानीय उत्पादनसँग जोडिनुपर्ने बताए । ‘हामीसँग सहकार्य गर्नुस्,’ उनले भने, ‘देशका तीन तहका सरकारमध्ये कान्छो सरकार प्रदेश सरकार हो । हामी जनताको घरघरमा पुगेका छौं । कहाँ छ सरकार भन्नेलाई हामीले गरेका काम देखाउँदै मुख्यमन्त्री कार्यालय आउनुहोस् । हामीसँग आएपछि फाइदा लिएर जानुहुनेछ ।’

उनले केही गर्छु भन्ने मानसिकता लिएर कार्यालय आए मात्र सरकारले लगानी गर्ने बताए । मुख्यमन्त्री गुरुङले शनिबारै सोही सडकको बासकोट खोलामा बन्ने पुल र सडकको पिच गर्ने कामको पनि शिलान्यास गरे । असार ६ मा सम्झौता गरिएको पुल निर्माणको अवधि ०७७ असार १७ सम्म छ । १ करोड १८ लाख ६० हजार लागतमा पुल बन्न लागेको हो । पुलको लम्बाइ १० मिटर र चौडाइ ६ मिटररहनेछ ।

०३५ सालमा बनेको सडकको स्तरोन्नति हुन नसकेका कारण विकासमा पछाडि परेको अध्यक्ष पौडेलले बताए । सडकको पिचका लागि गण्डकी प्रदेश सरकारले २६ करोड रुपैयाँ विनियोजन गरेको छ । सडकले पर्वत जोड्छ । कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, प्रदेश सांसद मीनप्रसाद गुरुङ र जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासलगायतले विकासले गति लिएको दाबी गरे ।

प्रकाशित : असार ३०, २०७६ १०:२६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

देश फर्किएर उद्यम गर्नेलाई पुरस्कार 

कान्तिपुर संवाददाता

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै उद्यम गर्ने ६ जनालाई आइतबार राष्ट्रिय उद्यमी पुरस्कार प्रदान गरेको छ ।

विदेशमा सिकेको सीप, पुँजीलाई सदुपयोग गरी उद्यम गर्नेहरूमध्येबाट छनोट गरी पुरस्कृत गरिएको हो । निजगढ, बाराका नवराज पौडेलले एक लाख रुपैयाँ राशिको उत्कृष्ट राष्ट्रिय उद्यमी पुरस्कार पाए ।

संयुक्त राष्ट्र इमिरेट्स (यूएई) को दुबईमा ११ वर्ष काम गरी फर्केका पौडेलले निजगढमा पोल्ट्री ब्रिडिङ फार्म चलाइरहेका छन् ।

निजगढ, बाराका नवराज पौडेलले उत्कृष्ट राष्ट्रिय उद्यमी पुरस्कार पाएका हुन् । संयुक्त राष्ट्र इमिरेट्स (युएई)को दुबईमा ११ वर्ष काम गरी फर्केका पौडेलले निजगढमा कान्तिपुर पोल्ट्रि ब्रिडिङ फर्म खोली कुखुराको चल्ला उत्पादन गर्दै आइरहेका छन् । ‘भारतबाट आउने गैरकानुनी चल्लालाई रोक्न हाम्रो फर्मले ठुलो योगदान गरेको छ । यसले हप्तामा ५० हजार स्वस्थ्य चल्ला उत्पादन गरी बजारमा पठाउने गरेको छ,’ पौडेलले भने, ‘वर्षमा १० करोड रुपैयाँ करोबार हुन्छ । जसमा ७० लाख रुपैयाँ नाफा कमाएको छ । फर्ममा ४८ जनाले रोजगारी पाएका छन् ।’

५० हजार रुपैयाँको राष्ट्रिय उद्यमी पुरस्कार पाउने उद्यमीमा फिट वेल गार्मेन्ट उद्योगका मनोजकुमार भारती, डायमण्ड स्टिल उद्योगका दिपक चापागाईं, मैत्री मंगल अर्गानिक कृषि फर्मका निरबहादुर राउत र एकबहादुर सिङतान, रामलक्ष्मण कृषि फर्मका सर्मिला अधिकारी र आलोक गार्मेन्ट उद्योगका त्रिलोक पनेरु रहेका छन् ।

निजगढका भारती ६ वर्ष दक्षिण कोरियामा काम गरी फर्केर तयारी गार्मेन्ट उद्योग खोलेका थिए । ‘मैले १२ वटा मेसिनबाट गार्मेन्ट खोलेको हो । हाल ७० वटा मेसिन छ । मासिक ४० हजार रुपैयाँ पाउने ९५ जना कामदार कार्यरत छन् । उत्पादन भएको ट्र्‍याकसुट नेपाली प्रहरीलाई दिँदै आइरहेको छु,’ उनले भने, ‘कोरियामा धेरै पटक रुनु परेको छ । हामीले केही वर्ष अरुको काम गरेपछि आफूले गर्नैपर्छ । कोरिया जस्तै दुख यहाँ गर्दा सफलता मिलेको छ ।’

धनगढी कैलालीका त्रिलोक पनेरु पनि कोरियाबाट फर्केका हुन् । उनीले धनगढीमै तयारी पोशाक र कोरियन भाषा प्रशिक्षण गर्न थालेका थिए । उनले १५ जनालाई रोजगारी उपलब्ध गरिएको छ ।

कन्काई–१, झापाका दिपक पनि दक्षिण कोरियाबाटै फर्केका हुन् । ‘झापामै फलामका काटी, नट वोल्ट रड स्टिल वनाउने उद्योगको साथै कवाडीबाट सामान उत्पदान र फोहोरबाट ग्यास उत्पादन कार्य शुरु भइसकेको छ,’ दीपकले भने,‘१७ जनालाई रोजगारी दिएको छु । हामीले स्थानीय स्तरमा फोहोर व्यवस्थापनको लागि नगरपालिकासँग मिलेर काम गरिरहेका छौं ।’
युएईको फाइमस्टार होटल छाडेर आएका भोजपुरका निरबहादुर राउत र मलेसियामा सामान्य कामदारको रुपमा गएका सिन्धुलीका एकबहादुरले संयुक्त रुपमा नागार्जुन–६ काठमाडौंमा एकसय २८ रोपनीमा अर्गानिक कृषि फर्म चलाएका छन् ।

‘हामीले एक थोपा विषादी प्रयोग गरेको छैनौं । शतप्रतिशत अर्गानिक खेती हो । दैनिक दुई सय क्रेट गोलभेडा, करेला लगायत तरकारी उत्पादन हुन्छ,’ निरबहादुरले भने, ‘हामी यसलाई एग्रो टुरिजम वनाउने योजनामा छौं ।’

उनले किसानले वास्तबिक मुल्य नपाउने र झोले किसानले मात्रै राज्यको सुबिधा लिइराख्ने प्रवृत्ति हुँदा आफूहरु जस्तो किसानहरु अन्यायमा परेको बताए ।

चार वर्ष आबुधावीमा ब्युटी पार्लर गरी फर्केकी शर्मिला अधिकारीले कीर्तिपुरमा १५ जना कामदार राखी पशुपालन र तरकारी फलफुलको उत्पादन गर्दै आएकी हुन् । ‘मेरो पेशा ब्युटिसियन भएपनि खेतीमा आर्कषित भए । १५ लाख रुपैयाँ लागतमा खेती शुरु गरेको हो । यसबाट सन्तुष्टी छु । आफ्नै देशमा पसिना बगाउन पाएकोमा गर्व लागेको छ,’ उनले भने, ‘सरकारले हामीजस्ता किसानले उत्पादन गरेको उत्पादन खरिद गरिदिने सुनिश्चित गरिदिए हामीलाई काम गर्न थप उर्जा मिल्थ्यो ।’

उद्यमीलाई पुरस्कृत गर्दे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले नेपालको जनशक्तिलाई नेपालमै प्रयोग गर्न सरकारले वाताबरण वनाइरहेको वताए । ‘विदेशमा कामदार नपठाउँदा देश वर्वादै भयो भन्ने गलत मानसिकता त्याग्न जरुरी छ । हामीले परनिर्भरता हुने मानिसिकताबाट मुक्त हुन जरुरी छ,’ उनले भने, ‘नेपालकै पुजी लगानी गरेर यहाँको श्रम यहाँ नै उपयोग गर्नुपर्छ । नेपालमै पर्याप्त अबसर र सम्भाबना छ । हामी शिर निहुरिएर श्रम गर्न गइराख्नु पर्दैन ।’

श्रम सचिव महेशप्रसाद दाहालले विदेशमा श्रम गरेर फर्किएका कामदारलाई राज्यले सहयोग गरिरहेको बताए ।‘विदेशबाट फर्केका झन्डै २० हजार युवाले सस्तो ब्याजदरमा पाउने १० लाख रुपैयाँ लिई उद्यम गर्न आवेदन दिएका थिए । अधिकांशका व्यावसायिक योजना कमजोर देखिए,’ उनले भने,‘जसको बलियो व्यावसायिक योजना छ । उनीहरूले सहुलियत ऋण पाउनेछन् ।’

प्रकाशित : असार ३०, २०७६ १०:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT