कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुत्केरीलाई भाले

‘अध्यक्ष सुत्केरी कोसेली भेटघाट कार्यक्रम’ लिएर जनप्रतिनिधि सुत्केरीको घरमै कोसेली बोकेर पुग्न थालेका हुन्
दिप्ती सिलवाल

पर्वत — महाशिला–५ हरियालीटोलकी सावित्री सुनार सुत्केरी भएको ८ दिन पुगेको थियो । शनिबार एकाएक गाउँपालिका अध्यक्ष राजु पौडेल, उपाध्यक्ष हीराकुमारी राना, वडाध्यक्ष जीवनविक्रम उचैठकुरी केही स्वास्थ्यकर्मी लिएर उनकोमा आए ।

सुत्केरीलाई भाले

उपाध्यक्ष रानाले हातमा कुखुराको भाले र केही अण्डा बोकेकी थिइन् । अध्यक्षले सुत्केरी सुनारको हातमा भाले र अण्डा थमाइदिए । अनि भने, ‘ल, आफ्नो र बच्चाको ख्याल गर्नू । केही समस्या परे हामीलाई खबर गर्नू ।’


महाशिलाले यसै वर्षदेखि सुरु गरेको ‘अध्यक्ष सुत्केरी कोसेली भेटघाट कार्यक्रम’ लिएर जनप्रतिनिधि सुत्केरीको घरमै कोसेली बोकेर पुग्न थालेका हुन् । साउन सुरु भएसँगै अध्यक्षसहितको टोली २ घरमा पुगिसक्यो । अघिल्लो साता महाशिला–५ चिसापानी टोलकी गुडिया विकलाई घरमै पुगेर कोसेली बाँड्ने कार्यक्रम सुरु गरेको महाशिलाले यो वर्षभरि कोसेली कार्यक्रमलाई निरन्तरता दिनेछ । गाउँपालिकाका अनुसार कार्यक्रमको प्रभावकारिता मूल्यांकन गरी आगामी वर्षहरूमा पनि निरन्तरता दिने योजना छ ।

गाउँपालिकाले आर्थिक वर्ष ०७६/०७७ का लागि ल्याएको नीति तथा कार्यक्रममा ‘अध्यक्ष सुत्केरी कोसेली भेटघाट कार्यक्रम’ लाई प्राथमिकतासाथ लागू गर्ने सर्वसम्मतिले पारित गरेको थियो । सोही योजनाअनुसार सुत्केरी महिलालाई घरमै पुगेर स्थानीय जातका कुखुराको भाले र गाई वा भैंसीको घिउ लिएर जनप्रतिनिधि घरमै पुग्ने गरेका हुन् ।


यो कार्यक्रमका लागि चालु वर्ष ५ लाख बजेट विनियोजन गरेको अध्यक्ष राजुप्रसाद पौडेलले बताए । महाशिलामा ६ वटा वडा छन् । सबै वडामा वर्षमा ८० देखि एकसय महिला सुत्केरी हुने अनुमानसहित गाउँपालिकाले प्रतिसुत्केरी दुई हजार रुपैयाँबराबरको पोषणयुक्त कुखुरा र घिउ कोसेली घरमै पुर्‍याउने निर्णय गरेको हो ।


‘कार्यक्रम ल्याउँदा सामान्यजस्तो लागेको थियो,’ पौडेलले भने, ‘सुत्केरी र परिवार हामीलाई देख्दा यति खुसी छन् कि हामीले अनुमानै गरेका थिएनौं । घरघरै पुग्दा कार्यक्रमको महत्त्व र प्रभावकारिताबारे बुझ्न पायौं ।’ सुत्केरी भेट्न अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष घरमै पुग्दा परिवारले गाउँपालिकाप्रति गरेको आदरभाव निकै सराहनीय भएको उनले बताए ।


गाउँपालिकाले यसरी वितरण गर्ने कोसेली संस्थागत सुत्केरीलाई प्राथमिकतामा राखेको छ । प्रवक्ता जीवनविक्रम उचैठकुरीका अनुसार महिलाले कम्तीमा ४ पटक गर्भ जाँच गराउनुपर्छ । सुत्केरी भएपछि २४ घण्टा, ४ दिन र ८ दिनमा ३ पटक आमा र बच्चाको स्वास्थ्य परीक्षण अनिवार्य छ । त्यस्तै स्वास्थ्य संस्थामा सुत्केरी गराउनैपर्छ । त्यसका लागि गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गरेको छ ।


एम्बुलेन्स सम्भव नहुने स्थानमा महाशिला स्वयंसेवकले स्ट्रेचरमा बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने व्यवस्था गरिएको ठकुरीले बताए । ‘कुनै घरमा सुत्केरी हुने अवस्था छ भने हामीले एम्बुलेन्स र स्वयंसेवक तयारी अवस्थामा राख्छौं,’ उनले भने, ‘एक घण्टाभित्रै नजिकको स्वास्थ्य संस्थामा पुर्‍याइन्छ । त्यहाँ सम्भव नभए अन्यत्र लैजाने व्यवस्था गाउँपालकाले नै गर्छ ।’ महाशिलाले सबै वडामा बर्थिङ सेन्टरको व्यवस्था गरेको उनले बताए ।


गाउँपालिकाले सुरु गरेको कार्यक्रमको चौतर्फी प्रशंसा छ । ‘सहयोगभन्दा उहाँहरू आउँदा धेरै खुसी लाग्यो,’ सुत्केरी गुडिया विकले भनिन्, ‘समस्या परेको बेला एउटा कुखुरा पनि लाखै भयो ।’ चुनावका बेला मात्रै भोट माग्न आउने राजनीतिक संस्कारमा परिवर्तन आएकोमा खुसी लागेको महाशिलाकै धनमती विकले बताइन् । ‘पहिला भोट माग्न आएका नेता अर्को चुनावमा मात्रै नमस्कार भन्दै आउँथे,’ उनले भनिन्, ‘अहिले कुखुरा बोकेर घरघरै आउँदा गाउँमा नेता रहेछन् भन्ने भएको छ ।’

प्रकाशित : श्रावण ६, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?