कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवकाशपछि स्वरोजगार

प्रकाश बराल

बागलुङ — दुई दशक अस्थायी शिक्षक भएर दैनिकी काट्दा उनको कमाइ थिएन । बरु दैनिक दुई छाक खाने समस्या थियो ।

नेपाल सरकारले ल्याएको गोल्डेन ह्यान्डसेक कार्यक्रम मार्फत उनले लामो जागिरे जीवनबाट बाहिरिएपछि उनले स्वरोजगारमूलक पेसा थालेका छन् । वर्षौंसम्म खाएको जागिरले नदिएको सन्तुष्टि उनले चार वर्षको पेसाबाट पाएका छन् ।


बडिगाड गाउँपालिका–५ जलजलाका भूपाल श्रीसले ४ वर्षदेखि इलेक्ट्रोनिक काम गरेर कमाइ बढाएका हुन् । त्यसअघि उनले वनस्पति माविमा पढाउँथे । ‘जागिरबाट भन्दा सानो भए पनि व्यवसाय गर्नुपर्ने रहेछ भन्ने लागेको छ,’ श्रीसले भने, ‘आफ्नै खुसीले समय मिलाएर कमाइ गर्न थालेको छु ।’ श्रीसले भाडाको घर लिएर घडी, रेडियो मर्मत केन्द्र खोलेका छन् ।


चार वर्षअघि निर्माण सम्पन्न भएको चाचलघाट लघु जलविद्युत्पछि गाउँमा बिजुली बलेको थियो । बिजुलीका कारण घडी, रेडियो मर्मत केन्द्र विस्तार भएको छ । गाउँमा मोबाइल चलाउने बढेका छन् । त्यसैले मोबाइल र टेलिभिजन मर्मतको काम पनि मिलेको उनले बताए ।


गाउँघरमा अरू पसल नभएकाले सानो मर्मतको काम गर्न बुर्तिबाङ पुग्नुपर्थ्यो । त्यसका लागि एक दिन बिताउनुपर्ने भएकाले कतिपयले मर्मतको कामै गर्दैनथे । ‘टर्च लाइट, रेडियो र घडी बनाउने भन्ने हामीले जानेका थिएनौं, अहिले उनको पसल खुलेकाले सानो खर्चमा मर्मत गरेर पुनः प्रयोग गर्न सकिएको छ,’ स्थानीय ज्ञानबहादुर श्रीसले भने, ‘नयाँ सामान किन्नुपर्ने बाध्यता हटेको छ ।’ जलजला, सिसाखानी र रणसिंकिटेनीवासी उनको पसलमा आउँछन् । ‘काम भन्ने सानो ठूलो नहुने रहेछ,’ उनले भने, ‘हीनताबोध होलाजस्तो लागेको थियो, अहिले व्यवसाय बढाएर जाने हौसला मिलेको छ ।’


१ सय किलोवाट क्षमताको चाचलघाट लघुविद्युत्ले नपुगेर दोस्रोपटक ३० किलोवाट क्षमताको विद्युत् थपिएको छ । किसानले विद्युतीय सामग्री प्रयोगसँगै कुखुरापालन, ग्रिल उद्योग र अन्य घरेलु व्यवसाय पनि चलाउन थालेका छन् । ती व्यवसायबाट युवाको रोजगारीसमेत बढेको छ ।


अहिले उनले मासिक २५ हजार घरमै बसेर कमाउन सकेको बताए । दैनिक चिया खाजाको खर्च, घरभाडाजस्ता खर्चको हिसाब यसमा छैन । उनकै पेसाको कारण छोराछोरीले पनि विद्युतीय सामग्री बनाउन जान्ने भएका छन् । गाउँघरमा हाउस वायरिङको काममा पनि उनले रोजगारी पाउन थालेका छन् ।

प्रकाशित : श्रावण १२, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?