तीजको दरबारे प्रशासन–सरोकारवाला जुहारी

कान्तिपुर संवाददाता

पर्वत — हरितालिका तीजमा दर विकृति रोक्न प्रशासनले कडाइ गरेपछि महिला अधिकारकर्मीले विरोध जनाएका छन्  । गतसाता प्रशासनले विज्ञप्ति निकालेर तीजको दर खाने परम्परालाई फेसन र भडकिलो बनाउने प्रचलन रोक्न निर्देशन दिएको थियो  ।

भडकिलो हुने गरी तीज पर्व मनाएमा कारबाही गर्ने चेतावनी विज्ञप्तिमार्फत दिइएको थियो । प्रशासनले मौलिक परम्परा बिग्रने गरी तीज पर्वलाई भडकिलो बनाउने, ध्वनि प्रदूषण हुने गरी होटलमा कार्यक्रम गरी शान्तिसुरक्षामा खलल पुर्‍याउने खालका गतिविधि गर्नेलाई कारबाही गरिने चेतावनी दिएको थियो ।

प्रशासनले कडाइ गरेकोप्रति जिल्लाका विभिन्न सामाजिक संघसंस्थाले आपत्ति जनाएका छन्। ९ संघसंस्थाले संयुक्त रूपमा प्रसासन कार्यालयलाई ध्यानाकर्षण गराउँदै तीजमा गरिएको अवरोध स्विकार्य नहुने प्रतिक्रिया दिएका हुन् । प्रशासनले तीजमा तडकभडक नगर्न तथा पार्टी प्यालेस, होटलमा तीज नमनाउन र गहन प्रदर्शन नगर्न भन्दै बिहीबार सार्वजनिक सूचना जारी गरेको थियो ।

पर्वतले महिला प्रमुख जिल्ला अधिकारी पाएपनि महिलाप्रति संवेदनशील नभएको भन्दै महिलामैत्री बन्न महिला अधिकारवादीले सचेत गराएका थिए । ‘सामाजिक विकृतिप्रति हामी आफैं सजग छौं,’ स्थानीय माया अधिकारीले भनिन्, ‘मौलिक संस्कृति रोक्न मिल्दैन ।’ खुल्ला अर्थतन्त्र र समाज खुल्ने क्रम बढिरहेका बेला होटलमा खानै नहुने र पार्टी प्यालेसमा कार्यक्रम गर्न नदिनु गलत भएको उनले बताइन् ।

रवाफिलो शैलीमा तीजको दर विकास हुँदै गएको प्रचलन रोक्न यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन् । ‘तडकभडक र रवाफिलो शैलीलाई कम गर्नमात्रै खोजेको हो,’ उनले भनिन्, ‘हाम्रो सस्कांरले दिएका पर्व मनाउन कुनै अवरोध छैन ।’

गृह मन्त्रालयको निर्देशन बमोजिम नै आफूले विज्ञप्ति निकालेको उनले बताइन् । प्रजिअ नेपालले मौलिक संस्कृति बिगार्न वा परम्परालाई रोक्न प्रशासनले कहिल्यै छेकबार नलगाउने स्पस्ट पारिन् । पछिल्ला समयमा तीजको महिना दिन अघिदेखि नै दर खाने बाहनामा महिला गरगहना र दम्भ प्रदर्शन गर्ने, होहल्ला गर्ने लगायतका गतिविधि झाँगिँदै गएको गुनासो बढेपछि गृह मन्त्रालयले नै यस्तो निर्णय गरेको प्रशासनले जनाएको छ । सामाजिक सन्जालमा समेत प्रशासनको विज्ञप्तिलाई लिएर मिश्रित प्रतिक्रियाहरु आइरहेका छन्।

प्रकाशित : श्रावण २९, २०७६ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

महाकाली किनारमा पक्की तटबन्ध बने पनि जोखिम उस्तै

खोतिला पहिरोसँगै भारतमै निर्मित २ सय ८० मेगावाट क्षमताको धौलीगंगा जलविद्युत् परियोजनाको ड्यामले बाढीको जोखिम बढायो
मनोज बडू

दार्चुला — दार्चुलातर्फ महाकाली किनारमा पक्की तटबन्ध बने पनि भारतीय क्षेत्रको खोतिला पहिरोका कारण सदरमुकाम क्षेत्र अझै असुरक्षित छ  । नेपालतर्फ पक्की तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगे पनि भारतीय पक्षले पहिरो व्यवस्थापन गर्न सक्रियता नदेखाउँदा जोखिम कायमै छ  ।

पहिरो हटाउन भारतीय पक्षको आनाकानीले खलंगाका बासिन्दा महाकालीमा बाढीको जोखिम कायम रहेको बताउँदै आएका छन् । भारतीय पक्षले ०७३ असोजमा आएको सुक्खा पहिरो नपन्छाउँदा हरेक बर्खामा महाकाली तटीय क्षेत्रका स्थानीयलाई बाढीले त्रास कायमै रहेको छ ।

पहिरो हटाउनु नै दुबै क्षेत्रका लागि सुरक्षित मानिन्छ । तत्काल पहिरो हटाउन नसकिने भएपछि एकै पटक पहिरो खस्यो भने महाकाली थुनिने जोखिम छ । त्यहाँ पहिरो खसेमा दुबै क्षेत्रमा खतरा बढ्ने सम्भावना उच्च छ । उक्त जोखिम पहिल्यैदेखि औंल्याइँदै आए पनि भारतीय पक्षले भने हालसम्म काम सुरु नगरेकाले तटबन्ध बनेर पनि नेपालतर्फ जोखिम कायमै रहेको महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख मित्र बरालले बताए ।

महाकाली नदी नियन्त्रण आयोजनाकाअनुसार समान्य वर्षामा पहिरो खस्ने सम्भावना कमै छ । प्राविधिक दृष्टिकोणले हेर्दा पहिरो समान्य अवस्था नखस्ने देखिए पनि पहिरोका बीच भागमा रहेको ठूलो ढुंगा खस्यो भने फुट्ने र बिस्तारै खसे नदी किनारमै रहने सम्भावना हुँदा यतिसम्म जोखिम बढाउन भन्न नसकिए पनि जोखिम भने हटेको छैन ।

‘पहिरोको बीच भागमा ठूलो ढुंगा रोकिएको छ । ढुंगा जुनसुकै बेला तल खस्न सक्छ,’ आयोजना प्रमुख बरालले भने, ‘उक्त ढुंगा एकै साथ खसे महाकाली थुनिने र महाकाली जस्तो नदी थुनिएर पुरै सदरमुकाम क्षेत्र र महाकाली तटीय क्षेत्रमा बाढी जान सक्छ ।’ उक्त पहिरो सुक्खा समयमा आएको र पहिरो आएको वर्षदेखि नै भारतीय पक्षले पहिरो हटाउन मौखिक सहमति गर्दै आएको हो । विभिन्न समयमा प्रतिवद्धता गरेको भए पनि पहिरो पन्छाउने काम भने अझै सुर गरेको छैन ।

खोतिला पहिरो हटाउनका लागि स्थानीयस्तरमा हुने भारतीय र नेपाल पक्षबीचको द्विपक्षीय भेटघाट, सीमा बैठक, प्रदेश, संघीय विभागका सचिव र मन्त्रीस्तर बैठकमा यो विषयलाई उठाएको भएपनि अझै कार्यान्वयनमा ल्याएको छैन । भारतीय पक्षको भूगर्भविदको टोलीले स्थलगत अवलोकन गरेर पहिरोलाई समयमै व्यवस्थापन नगरिए ०७० सालको बाढीको जस्तै नोक्सानी व्यवहार्नुपर्ने बताएको थियो ।

खोतिला पहिरोसँगै भारतमै निर्मित २ सय ८० मेगावाट क्षमताको धौलीगंगा जलविद्युत परियोजनाको ड्यामले बाढीको जोखिम झन बढाएको नेपाली पक्षले अनुमान गरेको छ । ड्यामको माथिल्लो क्षेत्रमा वर्षा हुने बित्तिकै भारतीय पक्षले उक्त ड्यामका ढोका खोल्न गरेको छ ।

प्रकाशित : श्रावण २९, २०७६ १३:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT