कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाइले गरे दाजुभाउजूको हत्या

कान्तिपुर संवाददाता

बागलुङ — गाउँमा एक वर्षदेखि लिले कामी र सीता विकको अबैध सम्बन्धबारे हल्ला थियो । गाउँले बसेर विवाद अन्त्यको प्रयास पनि गरे । दाइको छोरा र भाइको बुहारीबीचको यो सम्बन्धले परिवारकै सदस्यको हत्याको रूप लिएको छ ।

गाउँले बसेर मिलाएको झगडा दोहोरिएर हत्याको रूप लिएको प्रहरीको अनुसन्धानमा खुलेको हो । पारिवारिक झगडा दोहोर्‍याएर ढोरपाटन नगरपालिका–८ का मसाने विकले आफ्नै दाइ भानबहादुर र भाउजू बिमाको हत्या गरेको खुलेको हो । मसानेले गत साता भाउजूलाई खुकुरी र दाइलाई बञ्चरो प्रहार गरेर हत्या गरेको बयान दिएका छन् ।


गत शनिबार बेलुकी घरमा खाना पकाइसकेपछि भाउजूसँग झगडा गरेका मसानेले दाउराको खलियोमा राखेको खुकुरीले हानेर हत्या गरेका थिए । खुकुरीको पहिलो चोटले कराएकी बिमाको आवाज सुनेर बारीबाट आउँदै गरेका भानबहादुरलाई वञ्चरो प्रहार गरेका थिए ।


मसानेले दुवैजनालाई दर्जनौं चोट हानेकाले टाउको छियाछिया भएको थियो । रातभर घरमै सुतेर बिहान छिमेकी बोलाएका मसानेले दाइभाउजूको हत्या भएको खबर गरे । प्रहरीले शंका गरी मसानेको घरमा खानतलासी गर्दा अघिल्लो दिन पकाएको खाना नखाएको देखेपछि सोधपुछ गरेका थिए ।


उक्त सोधपुछपछि उनले अन्य दुईजनाको नाम लिएर उम्कने प्रयास गरेका थिए । नाम लिएका दुवैलाई प्रहरीले नियन्त्रणमा लिए पनि कुनै संलग्नता नभएको पाएपछि छाडेको प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

‘हत्यामा संलग्न भएको कुनै प्रमाण भेटिएन, उनीहरू अर्कै काममा हिँडेको देखियो,’ भट्टले भने, ‘नियन्त्रणमा लिएर बयान लिँदा अभियुक्तले एक्लै हत्या गरेको खुलेको छ ।’ पारिवरिक झगडा भइरहेकोले प्रहरीले पनि मसानेलाई नै शंका गरेको थियो ।


घटनास्थल इलाका प्रहरी कार्यालय बुर्तीबाङदेखि ८ घण्टा पैदल दूरीमा पर्छ । मृतकका छोराछोरी भने ढोरपाटनस्थित नवी गाउँमा बस्दै आएका थिए । खेतीपातीका लागि आउने जाने गरेका दम्पतीलाई कोही नभएको मौकामा मसानेले हत्या गरेका थिए ।


मृतक भानबहादुर सामाजिक क्षेत्रको सूचना दिने व्यक्तिसमेत हुन् । गाउँलेले उनलाई रेडियो भन्थे । प्रहरीले बिहीबार मसानेलाई पक्राउ गरेको छ । उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थपेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित : श्रावण ३२, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?