कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

विपद् योजना तयार

प्रताप रानामगर

दमौली — तनहुँको म्याग्दे गाउँपालिकाले १० वर्षे विपद् तथा जलवायु उत्थानशील योजना तयार पारेको छ । विपद् तथा जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणका लागि विपद् तथा जलवायु उत्थानशील गाउँपालिकाका रूपमा स्थापित गर्न योजना बनाएको हो ।

आर्थिक वर्ष २०७५/०७६ देखि २०८४/०८५ सम्मको योजना तयार गरेको गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताइन् । ‘जलवायु परिवर्तन र प्राकृतिक विपद्ले जोखिम बढाएको छ,’ उनले भनिन्, ‘जोखिम न्यूनीकरण मुख्य उद्देश्य हो ।’ चट्याङ, बाढीपहिरो, भूकम्प, हिमपातजस्ता विपद्का समस्या पहिलेदेखि नै रहेको छ । यसको मुख्य कारण नै जलवायु परिवर्तन हो । म्याग्दे गाउँपालिका पनि अछूतो रहन नसकेको उनले बताइन् ।


स्थानीय सरकार सञ्चालन ऐन २०७४, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४, जलवायु परिवर्तन स्थानीय अनुकूलन कार्ययोजनाको राष्ट्रिय संरचना २०६८ र स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनाको मस्यौदा निर्देशिकालाई आधार मानी योजना बनेको हो । स्थानीय र सरोकारवालासँग प्रत्यक्ष अन्तरक्रिया गरी संकट क्षेत्र र घरधुरी पहिचान गरिएको उनले बताइन् ।


संकटग्रस्त क्षेत्र, वर्ग तथा समुदायले विशेष लाभ लिनेमा यो योजना कोसेढुंगा सावित हुने विश्वास छ । जिल्लाको जोखिम स्तरीकरणअनुसार म्याग्दे गाउँपालिका पनि विपद्को उच्च जोखिममा रहेको छ । चट्याङ, महामारी, असिना, हावाहुरी, आगोलागी, खडेरी, बाढीपहिरो, जनावरबाट अन्नबाली क्षतिलगायत जोखिमका रूपमा रहेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।


‘गाउँमा बसोबास गरेका समुदायको जीविकोपार्जनका स्रोतमा विपद्ले प्रत्यक्ष प्रभाव पारिरहेको छ,’ उनले भने,‘ त्यसैलै योजना बनाएका हौं ।’ योजनामा जलवायु परिवर्तन, विपद्सम्बन्धी योजना, वातावरणमैत्री स्थानीय शासनलाई एकीकृत रूपमा समावेश गरी योजना तर्जुमा गर्ने प्रयास गरिएको उनले बताए ।


योजनामा अति उच्च, उच्च, मध्यम र न्यून गरी विपद्का जोखिमलाई औंल्याइएको प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले बताए । असिना र हावाहुरी, पहिरो, खडेरी, आगलागी, रोगकीरा, भूकम्प, जनावर आतंकलाई उच्च जोखिममा राखिएको छ । बाढीलाई मध्यम र महामारी, चट्याङ र ढुङ्गा खस्ने विपद्लाई न्यूनमा समावेश गरिएको छ ।


म्याग्दे वडा १, ३ र ७ लाई अति उच्चमा राखिएको छ । जसमा ५२४ घरधुरी अति उच्च, वडा ४ देखि ६ सम्मका एक हजार ८ सय ६२ घरधुरी मध्यम र वडा २ का एक हजार ३ सय ६९ घरधुरी न्यून विपद् जोखिममा रहेको उनले बताए । भूकम्पले गाउँपालिकामा पहिराको जोखिम बढेको कार्ययोजनामा उल्लेख गरिएको छ । सातवटै वडाका करिब ३५ बस्तीका ५९१ घरधुरीका २ हजार ३ सय ५९ जनसङ्ख्या पहिराको जोखिममा छन् ।


खडेरी पनि गाउँपालिकाको अर्को प्रकोपका रूपमा छ । जलवायु परिवर्तन, जलवायु अनुकूलन प्रविधिको प्रयोगसम्बन्धी जनचेतनाको कमी र सिँचाइका पर्याप्त स्रोत नहुनाले खडेरीको प्रकोप बढेको जनाइएको छ । गाउँपालिकामा विपद्को जोखिम कम गर्न विभिन्न रणनीतिक क्रियाकलाप सञ्चालन गर्नका लागि कार्ययोजना बनाइएको छ ।


जैविक विविधता संरक्षण, अग्निरेखा निर्माण, पानीको स्रोत संरक्षण, वन, जलाधार, पोखरी संरक्षण र मर्मत–सम्भार, वृक्षरोपण, वातावरण तथा प्राकृतिक स्रोत सर्वेक्षण र संरक्षणलगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रकाशित : भाद्र १, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?