२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४९

मध्यविन्दु जिल्ला अस्पतालमा १२ घण्टा ओपीडी सेवा

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालले ओपीडी सेवा ८ घण्टाबाट बढाएर १२ घण्टा संचालन गरेको छ । यसअघि विहान १० बजेदेखि ५ बजे सम्म संचालन भएको ओपीडी सेवा बैशाख १ गत देखि विहान ७ बजेदेखि बेलुका ७ बजे सम्म संचालन भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जितेन्द्र कँडेलले बताए ।

मध्यविन्दु जिल्ला अस्पतालमा १२ घण्टा ओपीडी सेवा

यस सेवाबाट कार्यालयमा काम गर्ने सेवाग्राहीले पनि सहजै उपचार सेवा पाउने तथा मधुमेह तथा अन्य रोगका बिरामीलाई खालीपेटमा जाँच गर्नुपर्ने प्रयोगशालाको सेवा पनि ओपीडीबाट नै सहज हुने विश्वास लिइएको छ ।

रिफर गर्नुपर्ने, औषधि थप गर्नुपर्ने र प्रयोगशालामा परीक्षण गर्नुपर्ने बिरामीलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिएको र अब क्रमश विशेषज्ञ सेवा पनि बिस्तार हुने जनाइएको छ ।

ओपीडी सेवा १२ घण्टा संचालन हुने भएपछि सेवाग्राहीको घुँईचो कम हुने र सहज सेवा प्रदान गर्न सकिने अस्पतालले जनाएको छ । स्वास्थ्य बिमा लागु भएपछि अहिले जिल्ला अस्पतालमा दैनिक २ सय भन्दा बढी बिरामीले ओपीडी सेवा लिँदै आएका छन् ।

गैडाकोट नगरपालिकाले मध्यविन्दु जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरेको छ । मृगौला रोगको डायलासिस क्लिनर, उपचार कक्षको लागि एसी र स्वास्थ्य उपकरण राख्ने र्‍याक गरेर १५ लाख रुपैयाँको स्वास्थ्य उपकरण प्रदान गरेको हो । सोमबार एक कार्यक्रमबीच गैडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले अस्पताल प्रशासनलाई उपकरण हस्तान्तरण गरेका थिए ।

डायलासिस क्लिनर उपकरण थप भएपछि मिर्गौला रोगीको उपचारका लागि थप सहज हुने जिल्ला अस्पतालले जनाएको छ ।

प्रकाशित : वैशाख ५, २०८१ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?