कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटन र व्यापारमा ध्यानाकर्षण

माधव ढुंगाना

भैरहवा — नेपाल–भारतबीचको द्विपक्षीय पर्यटकीय विकास, व्यापार सहजीकरण र सीमा क्षेत्रमा देखापरेका समस्या औंल्याउँदै समाधानका लागि पहल गरिदिन नेपाली उद्योगी व्यवसायीले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको ध्यानाकर्षण गराएका छन् ।

उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको नेतृत्वमा सिद्धार्थ उद्योग वाणिज्य संघ, तौलिहवा, धनगढी, नेपालगन्ज उद्योग वाणिज्य संघ र प्रदेश ५ उद्योग वणिज्य महासंघका प्रतिनिधिसहितको टोलीले गत साता लखनउस्थित मुख्यमन्त्री कार्यालयमा योगीसँग भेट गरी ध्यानाकर्षण गराएको हो । नेपाल–भारतबीचको द्विपक्षीय विकासका लागि ९ बुँदे ध्यानाकर्षणपत्र नेपाली टोलीले योगीसमक्ष पेस गरेको छ ।


‘नेपाल–भारतबीचको व्यापारमा देखा परेका समस्यालगायत दुवै मुलुकलाई फाइदा पुग्ने विषयका बारेमा मुख्यमन्त्री योगीको ध्यानाकर्षण गराएका हौं,’ टोलीमा सहभागी सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले भने, ‘छलफलका विषयमाथि र हामीले पेस गरेको ध्यानाकर्षणप्रति मुख्यमन्त्री सकारात्मक भएको हामीले पायौं ।’


न्यौपानेका अनुसार भैरहवामा निर्माणाधीन एकीकृत चेक पोस्ट, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुट, विशेष आर्थिक क्षेत्रसम्म रेल सञ्चालन, भारततर्फ नजिक र पायक पर्ने स्थानमा क्वारेन्टाइनको स्थापना, ऊर्जा संकटको समाधान, भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा गरिने चेकजाँचबाट हुने गरेको आयात निर्यातमा ढिलाइलगायतका विषय नेपाली टोलीले उठाएको थियो ।


यस क्षेत्रका आयात–निर्यातकर्ताको सहजता एवं हितका लागि भारतको नौतनवामा रहेको रेलवे सेवालाई नेपालको सिमाना बेलहिया भन्सार नाका हुँदै विशेष आर्थिक क्षेत्रसम्म ल्याउन र एक दशकअघिदेखि सुरु गरिएको भैरहवा नाकामा एकीकृत जाँच चोकी (आईसीपी) चाँडो सम्पन्न गर्नका लागि पहल गरिदिन नेपाली टोलीले ध्यानाकर्षण गराएको थियो ।


नेपाली निर्यातकर्ताले सामान निर्यात गर्दा भारतको क्वारेन्टाइन परमिट लिन लखनउ धाउनुपर्ने भएकाले समाधानका लागि परमिटको सुविधा सुनौली नाका वा नौनतवाबाट व्यवस्था गरिनुपर्ने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय उडान सहज र शीघ्र सञ्चालनका लागि आवश्यक हवाई रुटको स्वीकृति उपलब्ध गराउन भारत सरकारसमक्ष पहल गरिदिन, यस क्षेत्रको ऊर्जा संकट समाधानका लागि उत्तरप्रदेश आनन्दनगर (फरेन्दा) देखि भैरहवासम्म ४ सय केभीएको अन्तरदेशीय विद्युत् प्रसारण लाइनको विस्तार, नेपाली नम्बर प्लेटका सवारी साधनलाई सहज रूपमा भारत जानका लागि सीमा नाकाबाटै आवश्यक सुविधा प्रदान गर्नका लागि पहल गरिदिन योगीसमक्ष माग गरिएको छ ।

‘हामीले राखेका भौतिक पूर्वाधारका माग पूरा भएमा नेपाल–भारतबीचको द्विपक्षीय व्यापारमा सहजीकरण हुनुका साथै भैरहवा क्षेत्र नेपालकै प्रमुख आर्थिक केन्द्रका रूपमा विकसित हुनेछ,’ प्रदेश ५ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दीपककुमार पौडेलले भने, ‘यसबाट स्वदेशी र विदेशी औद्योगिक लगानीलाई थप आकर्षित गर्नेछ ।’


लुम्बिनीमा भारतीय पर्यटकको आगमनको सहजताका लागि भारतको लखनउमा रहेको अमोसी विमानस्थल र भैरहवाको गौतमबुद्ध विमानस्थलबीच सीधा हवाई सम्पर्क र सीमा नाकामा हुने लागूऔषधको कारोबार र बेचबिखनलाई रोक्न आवश्यक पहल गर्नका लागि नेपाली टोलीले माग गरेको छ ।


दुई मुलुकबीच हुने आयात–निर्यातलाई सहजीकरण गर्न एक दशकअघि भारत र नेपाल सरकारबीच भएको सम्झौता अनुरूप स्थापना गर्न लागिएको भैरहवाको एकीकृत जाँच चौकी आयोजना (आईसीपी) निर्माण कार्य भारतीय पक्षबाट काम अगाडि नबढाएकाले अलपत्र छ ।


मुख्यमन्त्री योगीले उत्तर प्रदेश र नेपालबीचका सीमा नाकालाई सहज र गतिशील बनाउन भैरहवा, नेपालगन्जदेखि पश्चिम गौरीफन्टासम्म आफू पुगेर त्यहाँ भइरहेको विकास तथा व्यापार सहजीकरणका लागि अनुगमन गर्ने बताएका थिए ।


भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक गाडी १० मिनेटभन्दा बढी रोकिन नहुने र गौरीफन्टा र अलिगढवा सीमानाकाको स्तरोन्नतिमा पनि उत्तर प्रदेश सरकारले तत्कालै काम थाल्ने उनले बताएका थिए ।


महासंघकी अध्यक्ष राणाले दुई मुुलुकबीचका भन्सार तथा सडकको विकासमा उत्तर प्रदेश सरकारले दिएको प्राथमिकतालाई स्वागत गर्दै नेपालका धार्मिक पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा साथ खोजेको बताइन् ।

प्रकाशित : पुस १९, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?