१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

जलजला ओझेलमा

विकासबारे थप विवरण उल्लेख नहुँदा गन्तव्य चिनाउने योजना अधुरै
काशीराम डाँगी

रोल्पा — संघीय सरकारले दुई महिनाअघि घोषणा गरेको मुलुकका सय नयाँ गन्तव्यमा जिल्लाको जलजला क्षेत्र पनि समेटियो । घोषणामा जलजलाको महत्त्व र विवरण उल्लेख छैन ।

पर्यटन प्रवद्र्धन र विकास गर्न संस्कृति तथा पर्यटन मन्त्रालयले तय गरेका नयाँ गन्तव्यमध्ये चर्चित हिमाल जलजलाको नाम समेटेपछि जिल्लामा खुसी थपियो । स्थानीय बासिन्दा पनि खुसी हुँदै यहाँको भौतिक विकास हुनेमा आशावादी बने ।


यसको विकासबारे थप विवरण उल्लेख नगर्दा गन्तव्य चिनाउने योजना अधुरै देखिन्छन् । जिल्लाकै उचो पहाडी भूभाग जलजला क्षेत्रको विकास गरी पर्यटकीय महत्त्व बढाउन यस अघिदेखि पहल थालिएको थियो । आगामी आर्थिक वर्षबाट जलजलासहित ती नयाँ गन्तव्यको भौतिक विकास गर्ने सरकारको उद्देश्य छ ।


राज्य स्तरबाट साथ नदिँदा जलजला क्षेत्रको विकास भएको छैन भने सुन्दर उक्त गन्तव्यको आधुनिक चिनारी बन्न सकेको छैन । समुद्र सतहदेखि करिब ३ हजार १ सय मिटर उचाइमा रहेको जलजलामा वराह मन्दिर, जलजल गर्ने भुइँ सतह, पोखरी र आकर्षक ओढार छन् । वर्षमा तीन पटक विशेष मेला र पूजाआजा गरिने उक्त स्थान मनोकामना पूरा हुने (वर माग्ने) दृष्टिकोणले प्रसिद्ध छ ।


धार्मिक दृष्टिकोणले जलजलाप्रति धेरैको आकर्षण बढेको छ । तत्कालीन माओवादीले लडाकुलाई जलजलामै तालिम दिएकाले सशस्त्र द्वन्द्वको अवधिमा जलजलामा हुने मेला र पूजाआजा प्रभावित भएको थियो । हाल थबाङ गाउँपालिकाभित्र पर्ने उक्त गन्तव्यको विकासका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट चासो व्यक्त हुन थालेको छ ।


पश्चिम नेपालकै प्रसिद्ध धार्मिक तीर्थस्थल प्यूठानको स्वर्गद्वारी पुग्नुअघि रोल्पाको अर्को सुन्दर स्थान होलेरी भेटिन्छ । दाङ–रुकुम पुग्ने सहिद मार्गअन्तर्गत पर्ने होलेरी बजार र गढीलेक स्थानीय आकर्षणका गन्तव्य हुन् । तत्कालीन सशस्त्र द्वन्द्वको अर्को उद्गम स्थल होलेरीको आफ्नै महत्त्व छ ।


हिउँदभर कुहिरोमुनि रहने होलेरी बजार उत्तरका हिमाल र दक्षिणका मैदान देख्न सकिने आकर्षक स्थान हो । तत्कालीन माओवादी लडाकुले दुई पटक प्रहरी चौकीमाथि आक्रमण गर्दा र संकटकालमा लडाकुविरुद्ध नेपाली सेना परिचालित भएको उक्त स्थानलाई ऐतिहासिक र सामरिक दृष्टिकोणले चर्चामा ल्याइएको हो । शान्तिकालीन अवस्थामा पनि हरेक व्यक्तिलाई एक पटक होलेरी पुग्ने चाहना बढ्दै गएको छ ।


होलेरीको माथिल्लो भागमा प्रसिद्ध गढीलेक छ । तत्कालीन बाइसे–चौबीसे राज्यबीच लडाइँ हुँदा उक्त क्षेत्रलाई रक्षास्थलका रूपमा प्रयोग गरिएकाले विगतको ऐतिहासिक अध्ययन गर्न अहिले गढीलेक पुग्नेको संख्या बढदो छ । स्थानीय ऋषिराम श्रेष्ठले गढीलेकमा दाङलगायतका स्थानबाट बाइसे–चौबीसे राज्यको लडाइँ अध्ययन गर्न आउने गरेको बताए ।


इतिहासका अध्येताहरू डाक्टर गोविन्द आचार्य, शिव सुवेदी र सांसद अमर डाँगीले पटक–पटक अध्ययन गरी गढीलेकका बारेमा पुस्तक नै लेखेका छन् । हाल रुन्टीगढी गाउँपालिकाभित्र अवस्थित गढीलेकको ऐतिहासक दृष्टिकोणबाट विकास गर्न स्थानीय तह भित्रैदेखि लाग्नुपर्ने बुद्धिजीवी र स्थानीय अगुवाको माग छ । होलेरी र गढीलेकपछिको अर्को महत्त्वपूर्ण गन्तव्य रुन्टी हो । सखीको रुन्टीगाउँमा प्रसिद्ध स्वामी एवं स्वर्गद्वारी महाप्रभुको जन्मगाउँ भएकाले यो निकै चर्चित छ ।


बाल्यकालको नाम नारायण केसी रहेका बालतपस्वी महाप्रभुले रुन्टी र गढीलेकमा लामो समय तपस्या गरेपछि हालको प्यूठानस्थित स्वर्गद्वारी पहाडमा पुगी मन्दिर स्थापना गरेका थिए । हालको स्वर्गद्वारी पहाडमा पौराणिक कालमा कौरव र पान्डवसमेत बसोबास गरेको विश्वासमा उक्त स्थान चर्चित छ । महाप्रभुले नियमित पूजाआजा सुरु गरेपछि उक्त स्थानमा अहिले पनि नियमित दीप प्रज्ज्वलन गरिन्छ । त्यसैबेलादेखि नै स्वर्गद्वारीमा अखण्ड महायज्ञ र दीप प्रज्ज्वलन गरिँदै आएको हो ।


रोल्पाकै खुंग्रीमा महाप्रभुले तपस्या गरेको र सतीदेवी सावित्रीले नुहाएको तथा अंग पतन भएको जनविश्वास छ । किंवदन्तीअनुसार हाल खुंग्रीको त्रिपुरा सुन्दरी र पाञ्चायन मन्दिर रहेको स्थान छेउ महाप्रभुले नियमित नुहाएका र सतीदेवीले बास गरेका थिए । त्यही विश्वासमा खुंग्रीमा पनि वर्षौंदेखि नियमित पूजाआजा गरिँदै आएको छ ।


पूर्वी रोल्पाको सिउरीमा रहेको सुनछहरी झरना र गामस्थित बिबाङ दह पनि आकर्षक स्थान हुन् । स्थानीय तहमा ती क्षेत्रको पर्यटकीय विकास गर्न पहल भए पनि ठोस योजना अभाव छ ।


यस्तै बाक्लो मगर बस्ती भएको थबाङ र जेलबाङ गाउँको आकर्षण हेर्न मानिसहरू त्यहाँ पुग्ने गरेका छन् । रोल्पालाई मध्यभाग पार्दै निर्माणाधीन सहिद मार्ग आसपासका कतिपय क्षेत्र पनि यहाँका आर्कषक गन्तव्य स्थल हुन् । होलेरी, जुगार र जिनाबाङमा रहेका शिव गुफा र मन्दिरसमेत जिल्लामा चर्चित धार्मिक स्थल हुन् । तर, यस्ता पर्यटकीय स्थलको अहिलेसम्म स्थानीय तहले पर्यटकीय योजनासहित गुरुयोजना निर्माण गर्न सकेका छैनन् ।

प्रकाशित : पुस २१, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?