कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सवारी दुर्घटना : समयमै उपचार पाउँदैनन् घाइते

ठाकुरसिंह थारु

नेपालगन्ज — दुई साताअघि २३ जनाको ज्यान जाने गरी दाङमा भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि नेपालगन्ज ल्याइयो । एक जनाको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भयो ।

१२ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो । दुर्घटनापछि घाइतेलाई उद्धार गर्न समय लाग्यो ।


दाङबाट उपचारका लागि ल्याउन कम्तीमा ४/५ घण्टा समय खर्च भयो । त्यतिबेलासम्म घाइतेको स्वास्थ्य गम्भीर बन्नु स्वभाविक हो । दुर्घटनापछि घाइतेले समयमै उपचार नपाउने दाङको पहिलो घटना होइन । समयमै उपचार नपाउँदा कतिपयको अकालमै ज्यान जाने गरेको छ ।


दुर्घटना भएको स्थानबाट नजिकैको अस्पताल, त्यहाँबाट नेपालगन्ज र फेरि काठमाडौं रिफर गर्दा लाग्ने दौडधुपमा खर्च हुने समयमा धेरै घाइतेको ज्यान नै जाने गरेको छ । ‘दुर्घटनाका घाइतेको ज्यान जोगिन एक सेकेन्डले पनि महत्त्व राख्छ । चोट लागेको स्थानबाट हुने रक्तश्राव तत्काल रोक्न सक्ने हो भने पनि ज्यान जोगिन सक्छ,’ इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा विपत् तथा महामारी शाखाका प्रमुख डा. प्रकाश शाहले भने, ‘त्यसैले सरकारले हाइवे रेपिड रेसपोन्स कार्यक्रम ल्याएको छ । यसले दुर्घटना हुने स्थानको पहिचान गरी सुरक्षाकर्मीसहित स्वास्थ्य टोली त्यहीं परिचालन गर्ने लक्ष्य छ ।’


सडक दुर्घटनामा घाइते हुनेलाई तत्काल उपचार आवश्यक पर्छ । सकेसम्म दुर्घटनास्थल नजिकैको स्वास्थ्य केन्द्रमा उपचार हुन सके घाइतेको ज्यान जोगिन सक्छ । तर, दुर्घटनापछि घाइते हुनेको उपचारका लागि रिफरमा समय खर्च गर्नुपर्ने बाध्यता छ ।


घाइतेको स्वास्थ्य अवस्था पहिचान नै नगरी कुनै अस्पतालमा उपचारका लागि पठाउँदा त्यहाँबाट अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ । ‘टाउकोमा चोट लागेको घाइतेलाई त्यही सुविधा भएको अस्पतालमा उपचारका लागि पठाउन सक्ने हो भने तत्काल उपचार सम्भव हुन सक्छ । तर, सेवा उपलब्ध नभएको अस्पतालमा पठाउँदा झन् जोखिम हुन्छ,’ डा. शाहले भने, ‘दुर्घटनामा परी मृत्यु भइसकेकालाई केही गर्न सकिँदैन । तर, घाइतेकै अवस्थामा उपचार हुन सक्छ ।’


नेपालका प्रमुख राजमार्गमा सशस्त्र प्रहरीको इमिडेट रेसपोन्स टिम (आईआरटी) परिचालन छ । तर, स्वास्थ्यकर्मीको टिम नहुँदा समयमै उपचार सम्भव छैन । उद्धारपछि उपचारका लागि नजिकैको अस्पतालमा पुर्‍याउने गरिन्छ । त्यहाँ स्रोतसाधन नभए अन्यत्र पठाइन्छ ।


त्यसैले अबका दिनमा स्वास्थ्यकर्मीको पनि व्यवस्था मिलाउन सुझाव दिइएको छ । दुर्घटनाका घाइतेको ज्यान जोगाउन नयाँ नीति बनाउने लक्ष्य महाशाखाले लिएको छ । त्यसका लागि

बढी दुर्घटना हुने राजमार्गको पहिचान र त्यस आसपासका स्वास्थ्य केन्द्र र अस्पताललाई स्रोतसाधनले सम्पन्न बनाइनेछ ।


त्यस्तै मुख्य राजमार्गको ५०/५० किलोमिटर दूरीमा उद्धार टोली राख्ने लक्ष्य छ । पछिल्लो समय दुर्घटनाका घाइतेको मृत्यु संख्या बढ्दो छ । सन् २००१ यता नेपालमा १ सय घाइतेमध्ये ७ जनाको मृत्यु भएको तथ्यांक छ । त्यसअघि ४ जनाको मृत्यु हुने गरेको थियो ।

प्रकाशित : पुस २२, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?