१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

लुम्बिनीमा दिनदिनै आगलागी

सारस संरक्षणका लागि बनाइएको क्षेत्रका अधिकांश रुख जलेर नष्ट
मनोज पौडेल

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनी गुरुयोजना क्षेत्रभित्र दिनदिनै आगलागी भइरहेको छ । पुस १९ गतेयता दैनिक आगलागी भइरहेकाले रुख–बिरुवा जलेर नष्ट भइरहेका छन् । पहिलो दिन चाइना विहारछेउको ८ नम्बर गेटबाट आगो सल्केको थियो ।

उक्त गेटछेउ प्रहरी र लुम्बिनी विकास कोषका सुरक्षाकर्मी २४ सै घण्टा तैनाथ छन् । ८ देखि ९ नम्बर गेटसम्म आगो फैलिएर रुख–बिरुवामा क्षति पुगेको हो ।


तौलिहवा–भैरहवा खण्डदेखि उत्तर सारस आरक्ष क्षेत्रमा पनि आगलागी भएको छ । सारस संरक्षणका लागि बनाइएको क्षेत्रका अधिकांश रुख जलेर नष्ट भएका छन् । आगोले सारसका आहारसमेत डढे । त्यहाँ गुँड भएका ५/६ सारस अन्यत्र गएका छन् ।


‘सारसको आहारा कीरा–फट्यांग्रा नष्ट भए,’ एक हेरालुले भने, ‘महिनौं लगाएर बनाएको बासस्थल जल्यो ।’ असुरक्षित महसुस गरेपछि सारस उडेर गएको बताए । त्यहाँ ७० हेक्टरभन्दा बढी क्षेत्रफलमा आगो लागेको छ । दिनदिनैको आगोको धूवाँले वायुमण्डल भरिएको छ ।


अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभागृहदेखि थाई विहार नजिकको पुलसम्म आगो फैलिएको थियो । करिब १ किमि लामो क्षेत्रका सबै रुख–बिरुवा जले । खर र घाँस पनि जलेको छ । त्यहाँ एक सय हेक्टरमा आगोले क्षति पुर्‍याएको छ । गत वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको ध्यान केन्द्रसम्मै आगो पुगेको थियो ।


निर्माण काम भइरहेको केन्द्रलाई बल्लतल्ल जोगाइएको छ । राति ३ बजे आगो निभाइएको थियो । यही क्षेत्रमा विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) र लुम्बिनी विकास कोषको साझेदारीमा मिलेनियम ट्री परियोजना सञ्चालन गरिएको थियो । ५ वर्षे परियोजनाअन्तर्गत १० लाख बिरुवा रोपिएको थियो ।


सन् २०११ देखि २०१५ सम्म लाखौं खर्च गरेर गरिएको वृक्षरोपण अहिले जलेर नष्ट भएको छ । लुम्बिनी विकास कोषको गुरुयोजना क्षेत्र ७ सय ७० हेक्टरमा छ । त्यसमध्ये ४० प्रतिशत वन, बुटयान क्षेत्र छ । वन क्षेत्रमध्ये करिब ३ सय हेक्टरमा रहेका साना रुख–बिरुवा खरानी भएका छन् । ठूला रुखका पात डढेका छन् । हरियाली क्षेत्र उजाड छ । दिनमा दुईपटकसम्म आगो लागेको थियो ।


‘वर्षौं मिहिनेत गरेर रुख लगाइन्छ,’ पर्यटन व्यवसायी विष्णु क्षत्रीले भने, ‘एकैछिनमा खरानी भयो ।’ यस्तो अवस्थामा लुम्बिनीलाई आकर्षक बनाउन नसकिने उनले बताए । गल्ती गर्नेलाई कारबाही नगर्दासम्म लुम्बिनीले यस्तै नियति भोग्नुपर्ने उनको भनाइ छ । ‘न पर्यटन प्रवद्र्धन हुन्छ,’ उनले भने, ‘न त लुम्बिनीको विकासले फड्को मार्छ ।’


कोषका आफ्नै सुरक्षाकर्मी छन् । तर, सुरक्षा व्यवस्था चुस्तदुरुस्त नबन्दा समस्या आएको इलाका प्रहरी लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले बताए । लुम्बिनी सांस्कृतिक नगरपालिकामा बिग्रेको एउटा दमकल छ । प्रहरीले जसोतसो दमकल ल्याएर आगो निभाएको उनले बताए ।


भैरहवा र बुटवलबाट दमकल झिकाएर आगो नियन्त्रण गर्नुपर्ने अवस्था छ । ‘कोषसँग १ सयभन्दा बढी सुरक्षाकर्मी गार्ड छन्,’ उनले भने, ‘राम्ररी परिचालन गरे त समस्या आउँदैन नि !’ दाउरा खोज्न आउनेले आगो लगाइदिँदा समस्या आएको सशस्त्र प्रहरी बेस प्रमुख डीएसपी विनोद केसीले बताए ।

प्रकाशित : पुस २५, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?