कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालगन्जमा एक गाउँ एक तलाउ

मधु शाही

बाँके — रानी तलाउ बोटिङ विहार बनेपछि नेपालगन्ज उपमहानगरपालिका अन्य पोखरीको संरक्षण गर्न हौसिएको छ । नगरमा भएका तलाउको मर्मत सुरु गर्नुका साथै ‘एक गाउँ एक तलाउ’ बनाउने योजना सार्वजनिक गरेको छ ।

प्राकृतिक सौन्दर्य बढाउने, बोटिङ गर्नेलगायत सुविधा थपेर सर्वसाधारणलाई आकर्षित गर्ने उपमहानगरपालिकाले जनाएको छ । त्यसका लागि तालपिच्छे योजना बनाइएको छ ।


उपमहानगरका प्रशासकीय प्रमुख अधिकृत हरि प्याकुरेलले ताल मर्मतमा करोडौं रुपैयाँ खर्च गरिएको बताए । निर्माणाधीन कान्ति तालमा पहिलो चरणको काम सकिएको छ । उनका अनुसार कान्तिको निर्माणका लागि १ करोड ९० लाख ७७ हजार ७ सय रुपैयाँ खर्च भइसकेको छ । २ वर्षदेखि सुरु गरिएको ताल निर्माण पूरा गर्न थप बजेटको खोजी भइरहेको उनले बताए । दोस्रो चरणको निर्माण कार्यका लागि डीपीआर गर्ने प्रक्रियामा आगडि बढेको उनले बताए । ‘अहिले काम रोकिएको छ,’ उनले भने, ‘दोस्रो चरणको निर्माण पूरा गर्न डीपीआर गर्दै छौं । यसका लागि सहरी विकाससँग कुरा हुँदैछ ।’


कान्ति तालमा बृहत् योजना छ । प्राकृतिक सौन्दर्य बनाउने, बोटिङ गर्नेलगायत सुविधा सम्पन्न ताल बनाउने उद्देश्य रहेको उपमहानगरपालिकाले जनाएको छ । ताल संरक्षण गर्ने उपमहानगरपालिकाको मुख्य कार्यक्षेत्रमा परेको छ । ‘एक गाउँ एक तलाउ’ थिममा पुराना तलाउको संरक्षण गर्ने योजनाअन्तर्गत १ देखि २३ वडामा प्राचीन तलाउको खोजी गरेर मर्मत गर्ने तयारी रहेको प्याकुरेलले सुनाए । ‘संरक्षण नपाएर अलपत्र परेका गाउँका तलाउको मर्मत गरेर चलायमान बनाउने उद्देश्य छ,’ उनले भने, ‘ताल संरक्षण गरेर नेपालगन्जलाई मिनी पोखरा बनाउने सपना बुनेका छौं ।’ यो सपना पूरा गर्न झन्डै ५ वर्ष लाग्ने प्याकुरेलको अनुमान छ ।

तलाउ संरक्षणले एकातिर स्थानीय ऐतिहासिक ताल संरचना सुरक्षित हुन्छ भने अर्कोतर्फ त्यहाँ आन्तरिक पर्यटकको आकर्षण बढ्छ । वन कार्यालयसँग सहकार्य गरेर तलाउ वरिपरि बोटानिकल पार्क बनाउने योजना छ । नेपालकै उत्कृष्ट, सफा र हरियाली नेपालगन्ज बनाउन तलाउ संरक्षणले विशेष भूमिका खेल्ने उपमहानगरपालिकाको विश्वास छ ।


दुई वर्षदेखि निर्माणाधीन कान्ति तालले २१ र २२ दुवै वडालाई छोएको छ । कुल क्षेत्रफल २५ बिघा १ कट्ठा १७ धुर रहेको छ, जमिनमा अहिले वरिपरि पर्खाल लगाउने काम सकिएको छ । उपमहानगरपालिका प्रमुख धवलशमशेर राणाले कान्ति ताल नेपालगन्जको झन्डै ६० वर्ष पुरानो रहेको दाबी गरे ।


त्यस्तै, पुष्पलाल चोक नजिकै रहेको वाटर पार्क पनि पुरानो मानिन्छ । सबैभन्दा पुरानो र ऐतिहासिक महत्त्व बोकेको तालको संरक्षण गर्नु नगरको कर्तव्य रहेको नगर प्रमुख राणाले बताए । ताल बनाएपछि त्यहाँ माछा मार्ने, बोटिङ गर्ने, चिल्ड्रेन पार्कलगायत गतिविधि हुनेछन् । जो आन्तरिक र बाह्य पर्यटकको आकर्षित गन्तव्य बन्नेछ ।


२३ लाख रुपैयाँको लागतमा रानी तलाउ पुन: मर्मत गरेर बोटिङ विहार सुरु भएपछि दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । यसैको प्रेरणा स्वरूप अरू तलाउ जोगाउन लागेको प्रमुख राणाले सुनाए । उनले महेन्द्र पार्क पनि निर्माणाधीन रहेको सुनाए । वाटर पार्कको निर्माणमा लगानी सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ बाँकेको रहेको छ ।

प्रकाशित : पुस २६, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?