कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२ वर्षमा २० ठूला उद्योग

पश्चिम नवलपरासीमा बढ्यो आकर्षण
नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा धमाधम ठूला उद्योग सञ्चालनमा आएका छन् । भारतीय नाकाबाट नजिक र पूर्व–पश्चिम राजमार्गको मध्य भागमा पर्ने भएकाले ठूला लगानीका उद्योग खुल्ने क्रम बढेको हो । यसका साथै घरेलु तथा मझौला उद्योग थपिने क्रम बढेको छ ।

सरकारले महेशपुर भन्सारलाई मूल भन्सारका रूपमा सञ्चालन गरेपछि लगानीकर्ता आकर्षित भएका हुन् । भैरहवा भन्सारले मात्र यस क्षेत्रमा आयात/निर्यात हुने वस्तुको भार थेग्न नसक्ने भन्दै नयाँ नाकाबाट सहज हुने भएकाले भूमही(भैरहवाको बाइपास सडक वरपर नयाँ उद्योग खुल्ने क्रम बढेको छ ।


भैरहवा भन्सारले मात्रै उद्योगका लागि आवश्यक कच्चापदार्थ, उपकरणलगायतका मालवस्तु ढुवानी गर्दा एक सातासम्म सुनौली नाकामा आएर थन्किने गथ्र्यो । महेशपुर मूल भन्सार भएपछि आयात र निर्यातमा सहज हुने व्यवसायीहरूको आशा छ ।


पछिल्लो दुई वर्षमा विदेशी ब्रान्डका बियर, स्टिल, पेयपदार्थ, खाद्यान्न, अटो मोबाइल्सका उद्योग सञ्चालनमा आइसकेका छन् । अन्य उद्योगले जग्गा किनेर भौतिक संरचना निर्माण गरिरहेका छन् । जर्मन प्रविधिको वास्र्तेनर बियर, पेप्सी, रुस्लान, हुलासको खाद्यान्न, कागज कारखाना, सिमेन्ट कारखाना, चिनी उद्योग सञ्चालनमा रहेका छन् ।


फोहोरबाट ग्यास उत्पादन गर्ने प्लान्ट पनि सञ्चालनमा आइरहेको छ । जिल्लामा ठूलासँगै साना लगानीका उद्योग तथा लघु उद्यममा युवाको आकर्षण बढिरहेको उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीले बताए । ‘औद्योगिक करिडोर निर्माण गरेर सबै उद्योगलाई व्यवस्थित गर्न खोजे पनि आवश्यक जग्गा पाइएन,’ उनले भने, ‘उद्योग सञ्चालनका लागि उपयुक्त वातावरण भएकाले धमाधम खुलिरहेका छन् ।’


उद्योग स्थापनापछि रोजगारका प्रशस्त अवसर सिर्जना भएका छन् । दक्ष तथा अदक्ष कामदारले आफ्नो अध्ययन र सीपअनुसार रोजगारी पाएका छन् । केही वर्षमै औद्योगिक हब बन्ने उद्योग वाणिज्य महासंघका प्रदेश ५ का संयोजक गुणनिधि तिवारीले बताए । ‘दुई वर्षभित्र जिल्लामा २० ठूला लगानीका उद्योग थपिए,’ उनले भने, ‘यस क्षेत्रको आर्थिक विकाससँगै रोजगारी बढेको छ ।’ दर्जनाैं उद्योग सञ्चालनको तयारीमा रहेको उनले बताए । तिवारीका अनुसार ३ वर्षमा करिब १० अर्ब रुपैयाँ लगानी जिल्लामा भित्रिएको छ ।


जिल्लामा ठूला लगानीका उद्योग धमाधम खुलेका छन् । आफूखुसी उद्योगीले खेतीयोग्य जग्गा खरिद गर्दै सञ्चालन गरेका छन् । बस्तीबीचमा उद्योग सञ्चालनले प्रदूषण बढ्ने चिन्ता छ । लामो समयदेखि करिडोर निर्माण गर्ने बहस चले पनि अहिलेसम्म पूरा भएको छैन । भूमही(भैरहवा बाइपास खण्डमा करिडोरका लागि जग्गा हेरिए पनि औपचारिक रूपमा काम अगाडि बढेको छैन ।


सुनवलमा वन क्षेत्र पर्ने भएकाले स्वीकृति नदिने र अन्य स्थानमा जग्गा खरिद गर्न रकम नहुँदा करिडोर निर्माण गर्न नसकिएको उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष भण्डारीले बताए । संघको चुनावमा रहेका उम्मेदवारले उद्योग व्यवस्थित गर्ने, करिडोर निर्माण गर्ने नारा लगाए पनि १० वर्षदेखि यो नारामै सीमित बनेको छ ।


मूल भन्सारले उत्साहित

पश्चिम नवलपरासीको महेशपुर भन्सारलाई मूल भन्सारका रूपमा सञ्चालन गरिएपछि यस क्षेत्रका उद्योगी व्यवसायी हर्षित भएका छन् । गत साउन १ गतेदेखि मूल भन्सारका रूपमा सञ्चालनमा आएको हो ।


२०१५ सालदेखि महेशपुर छोटी भन्सार नाका सञ्चालनमा थियो । उद्योग वाणिज्य संघ प्रदेश ५ का सदस्य भरत थापाले वर्षौंदेखि यस क्षेत्रका उद्योगी व्यवसायीले गरेको माग पूरा भएको बताए । ‘कोलकाता बन्दरगाहदेखि करिब २ सय ५० किलोमिटर दूरी कम हुने यो नाका सञ्चालनमा आएपछि मुलुकभरका व्यवसायीलाई धेरै सहज हुनेछ,’ उनले भने, ‘जिल्लाको मुहार फेरिनुका साथै पूर्व–पश्चिम दुवैतर्फ आयात–निर्यात सहज हुने भएकाले व्यवसायी खुसी छन् ।’


भन्सारको आवश्यक भौतिक संरचना निर्माणमा सबै एक भएर लाग्नुपर्ने उनले बताए । मूल भन्सार भएपछि १ अधिकृत, ६ नायब सुब्बा, १ लेखापाल, खरिदार र कार्यालय सहयोगी गरी १७ जना कर्मचारीको दरबन्दी कायम भएको छ ।


भन्सार टोली हाजिर भएपछि विसुनपुरवा, भुजहवा, बसहिया, लक्ष्मीपुर र त्रिवेणी छोटी भन्सार पनि महेशपुर भन्सारबाट नियमन भएका छन् । मूल भन्सारका रूपमा काम गर्न थालेपछि भैरहवाको वैकल्पिक नाकाका रूपमा यसलाई प्रयोग गर्न पाइनेछ ।

प्रकाशित : पुस २८, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?