कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माघी मेला : तीर्थस्थल झकिझकाउ

मेला लाग्ने अघिल्लो दिन सोमबारबाटै सबै तीर्थस्थलमा श्रद्धालु भक्तजनको चहलपहल

बुटवल — माघे संक्रान्तिको पूर्वसन्ध्यामा बर्दियाको ठाकुरद्वारालगायत प्रदेश ५ का तीर्थस्थलमा सोमबारदेखि घुइँचो लागेको छ । ऐतिहासिक ठाकुरबाबा मन्दिर दर्शनका लागि सयांै श्रद्धालुको भीड लागेको हो । यहाँ सोमबारदेखि माघी मेला सुरु भएको छ । ५ दिन सञ्चालन हुने मेला भर्न र मन्दिर दर्शन गर्न ठूलो संख्यामा श्रद्धालु आएका छन् ।

माघी मेला : तीर्थस्थल झकिझकाउ

ठाकुरबाबामा पूजापाठ र स्नानका लागि सयौंको संख्यामा बर्दिया र अन्य जिल्लाबाट श्रद्धालु यहाँ आएको पूजा समितिले जनाएको छ । यस वर्ष ठाकुरबाबा नगरपालिकाले माघे संक्रान्ति पर्वलाई सांस्कृतिक र पर्यटन महोत्सवका रूपमा मनाउने भएको छ । पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलगायत १५ जना संघीय सांसद आउने भएका छन् ।


ठाकुरबाबालाई करिब ४ सय वर्ष पुरानो मन्दिर मानिन्छ । विष्णु र शंकर भगवानको आराधना गरिने यस मन्दिरमा परम्परागत रूपमा थारू सम्प्रदाय र महन्तबाट पूजाआजा गरिन्छ । शदियाैंदेखि माघे संक्रान्तिको अवसर पारेर लाग्ने मेलामा यहाँस्थित ठाकुरबाबा मन्दिरमा पूजा गर्न आउने श्रद्धालुको संख्या उल्लेखनीय हुने गर्छ ।


यस वर्ष मेलामा बर्दियाबाहेक, बाँके, सुर्खेत, कैलाली, छिमेकी मुलुक भारतको बहराइच र लखनउबाट समेत ठाकुरबाबाको पूजा गर्न श्रद्धालु आइसकेको मेला आयोजक समितिले जनाएको छ । ठाकुरबाबा मन्दिर समितिका कार्यवाहक अध्यक्ष डिलराज पौडेलका अनुसार पहिलो दिन पूजापाठ गर्नेको संख्या बढी भए पनि अर्को दिनबाट मेलामा किनमेल गर्नेको संख्या उल्लेखनीय रूपमा बढ्छ । पहिलो दिन करिब ६० हजार श्रद्धालु आउने उनको अनुमान छ । महोत्सव अवधिभर करिब २ लाख श्रद्धालु आउने अनुमान गरिएको छ ।


ऐतिहासिक ठाकुरबाबा मन्दिरमा नि:सन्तानले सन्तानको चाहना राख्दै भाकल गर्ने चलन छ । माघे संक्रान्तिको अवसरमा भाकल पूरा भएकाहरूको भीड लाग्ने गरेको मन्दिरका पुजारी राम अवतारले बताए । माघे संक्रान्तिदेखि तीन दिनसम्म दिनभर धुनी बालेर ताप लिने परम्परा छ ।


गौमुखीमा भीड

माघे संक्रान्तिको अवसरमा झिमरुक नदीको उद्गम स्थल गौमुखीमा नुहाउन तीर्थयात्रीको भीड लागेको छ । जिल्लाको ऐतिहासिक धार्मिक तीर्थस्थल गौमुखीमा पुगेर प्यूठानसहित छिमेकी जिल्ला बागलुङ, गुल्मी, अर्घाखाँची र रोल्पाका तीर्थालुले स्नान गरेका छन् । प्यूठानको गौमुखी गाउँपालिका–२ मा रहेको गौमुखी मन्दिर गुल्मी, बागलुङ र रोल्पा जिल्लाको सीमानजिक पर्छ ।


गौमुखीमा प्राकृतिक गुफा छ । त्यहींबाट तातोपानी निस्कन्छ । तातोपानीमा स्नान गरी मन्दिरमा पूजा गर्नाले प्रगति र ऐश्वर्य वृद्धि हुने मान्यता छ । मन्दिरमा दूध, पशुपक्षी उडाउनुका साथै कलम, कापीसमेत चढाउने गरिन्छ । समुद्री सतहबाट १५ सयदेखि २५ सय मिटरसम्मको उचाइमा रहेको गौमुखीको गुफा करिब डेढ सय वर्षअघि बागलुङ निसीका तगारा बुढामगरले भैंसी चराउँदा गुफा पत्ता लगाएको किंवदन्ती छ ।


सोमबार बिहानैदेखि लागेको यहाँको मेला मंगलबार बेलुकासम्मै लाग्नेछ । पश्चिम नेपालको ऐतिहासिक तथा धार्मिक तीर्थस्थल स्वर्गद्वारीपछि प्यूठानको दोस्रो पर्यटकीय स्थलका रूपमा गौमुखीलाई लिइन्छ । यहाँ हरेक वर्ष पुस मसान्तको साँझ बास बस्ने र माघ १ गते बिहानै ४ बजेदेखि नुहाएर भक्तजनले वर माग्ने गर्छन् । मेलाको प्रचारप्रसार र प्रवद्र्धनका लागि स्थानीय युवा क्लब तथा गाउँलेबाट सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । यसले गौमुखीमा माघीको रौनक बढेको छ । गौमुखीजस्तो आकारबाट निस्केको तातोपानीमा नुहाएमा वर्षभरिको पाप पखालिने र मनोकांक्षा प्राप्त हुने जनविश्वास छ ।


गाईको मुखजस्तो आकृतिबाट छङ्छङ्ती पानी निस्कने भएकाले यसलाई गौमुखी भनिएको स्थानीय बूढापाका बताउँछन् । धार्मिक महत्त्वका साथै उच्च हिमशृंखलाको काखमा रहेको गौमुखी अवलोकन गर्नका लागि पुस मसान्तको दिन गएर बास बस्ने गरिन्छ । पुसमा बनाएको सेलरोटी माघमा खाने चलन छ ।


ठूलो प्राचीन गुफा पनि भएको हुनाले यो हेर्न चाहनेहरूका लागि गौमुखी उपयुक्त ठाउँका रूपमा रहेको छ । हिमाली क्षेत्र भएकाले डाँफे, मुनालजस्ता चराचुरुंगी, लालीगुराँस र नजिकै पञ्चासेको धुरीमा टल्कने हिउँको दृश्यावलोकन गर्न तीर्थयात्री पुग्छन् । लालीगुराँसले भरिएको घनाजंगलमा पाइने गुलावी रङको गुराँस विशेष आकर्षक मानिन्छ ।


पाल्पा, गुल्मी र स्याङ्जाको संगलमस्थल रूरू क्षेत्र ।

ऐरावतीमा पनि उस्तै

माघे संक्रान्तिको अवसरमा झिमरुक र माडी नदीको संगमस्थल ऐरावतीमा पनि नुहाउने तीर्थयात्रीको भीड लागेको छ । ऐरावती र सरुमारानी गाउँपालिकाको सीमामा रहेको ऐरावतीमा माघीका अवसरमा नुहाउने चलन धेरै पहिलेदेखि नै रहेको ऐरावती गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले बताए ।


उनका नुसार यसपालि पनि ऐरावतीमा नुहाउनका लागि सोमबार बिहानैदेखि भक्तजन आइसकेका छन् । शाहका अनुसार तीर्थयात्री माघ १ गते बिहानैदेखि नुहाएर दिनभर नाचगान गरी बेलुका फर्कने चलन छ । ऐरावतीमा नुहाउन अर्घाखाँची र दाङबाट समेत तीर्थयात्री आउने गर्छन् । प्यूठान क्षेत्रबाट बग्दै आउने झिमरुक र रोल्पा क्षेत्रबाट आउने माडी नदी ऐरावतीमा गएर मिसिएपछि राप्ती नदी बनेको छ ।


रिडीमा भव्य तयारी

माघे संक्रान्तिका अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडीको रूरू क्षेत्रमा लाग्ने मेलाको भव्य तयारी गरिएको छ ।

रूरू क्षेत्रमा माघे संक्रान्तिमा स्नान गरेमा पुण्य प्राप्त गरिने जनविश्वास छ । रूरू क्षेत्रमा नुहाउन भक्तजन आउने क्रम सुरु भएको ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त रेग्मीले बताए ।


तीन दिनसम्म लाग्ने यस मेलामा २ लाखभन्दा बढी भक्तजन आउने अनुमान अध्यक्ष रेग्मीको छ । संक्रान्तिका दिन बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।


चार धाममध्येको एक रूरू क्षेत्रमा नेपालसहित भारतबाट समेत श्रद्धालु भक्तजन आउने गर्छन् । मेला लाग्ने अघिल्लो दिन सोमबारबाट नै यहाँ चहलपहल बढेको मन्दिरका पुजारी चूरामणि तिमिल्सेनाले बताए ।


मुक्तिनाथबाट बग्दै आउने कालीगण्डकी नदीमा माघे संक्रान्तिमा नुहाउने गर्छन् । ‘स्वदेशका विभिन्न भागका साथै विदेशबाट समेत हिन्दु धर्मावलम्बी रूरू क्षेत्रमा आउने गर्छन्,’ पुजारी तिमिल्सेनाले भने, ‘आउने भक्तजनका लागि भण्डारा लगाएका छौं ।’ तानसेन नगरपालिका–१४ अर्गलीका वडाध्यक्ष कमल रानाका अनुसार यहाँ आउने भक्तजनलाई खिचडी खुवाउने कार्यक्रम राखिएको छ ।


धार्मिक आस्थाका कारण रूरू आएर मकर स्नान गर्ने, जप, पूजा, हवन, दान तथा पितृश्राद्धसमेत गर्ने गर्छन् । माघे संक्रान्तिमा रिडी रूरू क्षेत्रको दर्शन गरी कालीगण्डकीमा स्नान गरे पुण्य प्राप्त गरिने धार्मिक जनविश्वास छ । यहाँ आएका भक्तजनले कालीगण्डकीमा नुहाएर तानसेन–१४ अर्गलीस्थित ऋषिकेशव मन्दिरको दर्शन गर्ने गर्छन् । रूरू क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्त्व भएकाले मेला भर्न विभिन्न स्थानबाट आउने गर्छन् ।


कालीगण्डकी नदीमा स्नान गरेर ऋषिकेशवको मूर्ति दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वास रहेको अध्यक्ष रेग्मीले बताए । सोह्रौं शताब्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा साक्षात् भगवान् ऋषिकेशवको मूर्ति फेला पारेका थिए । सोही मूर्तिलाई प्रतिस्थापन गरेको भन्ने जनविश्वास छ ।


कालीगण्डकी नुहाउन र ऋषिकेशव, गायत्रीमातालगायत विभिन्न देवालयको दर्शन गर्न भक्तजन आउने गर्छन् । ऋषिकेशव मन्दिर र यस क्षेत्रलाई रूरू कन्याको जन्मस्थल भनिन्छ । मणिमुकुन्द सेनबाट ऋषिकेशवको मूर्ति प्राप्त गरी स्थापना गरेको प्रसिद्ध ऋषिकेशव मन्दिरले धार्मिक पर्यटकका लागि आकर्षण थपेको स्थानीय सम्झना भट्टराईले बताइन् ।


गुल्मीतर्फ स्थानीय क्लबले खानपिन, व्यापार र सांस्कृतिक कार्यक्रम राखेका छन् । विभिन्न स्थानबाट आएका व्यापारीले उखुबाट बनाइएको गुँड, खुदो, चाकु र स्थानीय उत्पादनका स्टल राखेका छन् । संक्रान्तिको अवसर पारेर पाल्पा, बागलुङ, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायतका स्थानबाट घरेलु सामग्री बिक्रीका लागि रिडीमा व्यापारीहरूको पनि भीड लागेको छ ।


रोल्पा, रुकुम, सल्यान, प्यूठान, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङलगायतका जिल्लाका व्यापारी त्यस क्षेत्रमा पाइने ऊनीजन्य वस्तु राडीपाखी, कम्बल, बाँसका सामग्री, जडीबुटी खरिद–बिक्री गर्न तीन दिनसम्म रूरू क्षेत्रमै बस्ने गर्छन् । रुकुमको टकसेरालगायतका गाउँबाट राडीपाखी लिएर आउने व्यापारी आइसकेका छन् । मेलाको पहिलो दिन नेपाली सेनाको गोरखदल गण, तानसेनले नि:शुल्क स्वास्थ्य शिविर राख्ने तयारी गरेको छ ।


कमल पन्थी/बर्दिया, गिरुप्रसाद भण्डारी/प्यूठान र माधव अर्याल/पाल्पा)

प्रकाशित : माघ १, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?