कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परासीमा कभर्ड हल

परासी — पश्चिम नवलपरासीको सदरमुकाम परासीमा सुविधा सम्पन्न कभर्ड हल तयार भएको छ । राष्ट्रिय खेलकुद परिषद्को ३० लाख रुपैयाँमा मिनी कभर्ड हल निर्माण सुरु गरिएको थियो । एउटा कोर्ट भएकाले खेलाडीको चापअनुसार असुविधा थियो । त्यसपछि स्थानीय खेलाडी, जिल्ला समन्वय समिति, स्थानीय तहको पहलमा सुविधा सम्पन्न हल तयार भएको हो । 

परासीमा कभर्ड हल

परिषद्ले बर्सेनि बजेट विनियोजन गर्दै आएको थियो । त्यो न्यून भएपछि वर्षौंसम्म निर्माण पूरा भएको थिएन । त्यसपछि कभर्ड हल निर्माणमा स्थानीय आफैं जुटेका हुन् ।


कभर्ड हल निर्माणपछि ब्याडमिन्टन खेलाडी उत्साहित भएका छन् । खेल्ने स्थान नहँुदा खुला चौरमा खेल्दै आएका स्थानीय खेलाडी अहिले सुविधा सम्पन्न स्थानमा बिहान र साँझ नियमित अभ्यास गर्ने गर्छन् । खेलाडी आफैंले मासिक रकम संकलन गरी कभर्ड हलको व्यवस्थापन गर्दै आएका छन् ।


स्थानीय खेलाडीको सक्रियतामा रामग्राम नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला खेलकुद विकास समिति, विभिन्न संघ–संस्था, उद्योगी, व्यवसायी तथा खेलाडी आफैंले रकम उठाएर करिब ८५ लाख रुपैयाँ लगानीमा नमूना कभर्ड हल बनाउन सफल भएको रामग्राम ब्याडमिन्टन क्लबका अध्यक्ष मेघराज गौतमले बताए । क्लबले व्यवस्थापन र रेखदेखको काम गर्दै आएको छ । ‘कभर्ड हल नहुँदा घामपानीले गर्दा नियमित अभ्यास गर्न पाइएको थिएन,’ अध्यक्ष गौतमले भने, ‘राखेपको मिनी कभर्ड हल बनाउने सपनालाई हामी स्थानीय मिलेर सुविधा सम्पन्न ३ वटा कोर्ट भएको हल बनाउन सफल भइयो ।’


कभर्ड हल तयार भएपछि दिन–प्रतिदिन ब्याडमिन्टन खेलप्रति युवा आकर्षण बढ्दै गएको छ । सुरुमा १०/१५ जना खेलाडी थिए । अहिले दैनिक ८० जनाले खेल्ने गरेका छन् । क्लबमा आजीवन सदस्य मात्रै ४७ जना पुगेका छन् । कभर्ड हल छिमेकी गाउँका खेलाडीसमेत परासी आउने गरेका छन् ।


३ मध्ये २ कोर्टमा पार्केटिङ गरिएको छ । ‘ब्याडमिन्टन खेल स्वास्थ्य र खेलकुद दुवै दृष्टिकोणले महत्त्वपूर्ण छ,’ रामग्राम ब्याडमिन्टन क्लबका संस्थापक उपाध्यक्ष ताराचन्द्र वर्माले भने, ‘राखेपको मात्र मुख ताक्नुभन्दा खेलाडी र स्थानीय खेलप्रेमीको सहयोगमा कभर्ड हल तयार गर्न पाउँदा निकै खुसी लागेको छ । यसले अबका दिनमा यहाँबाट ब्याडमिन्टन खेलका राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुन सहयोग पुग्नेछ । राष्ट्र र स्वास्थ्यका लागि यस्ता किसिमका संरचना देशभर बन्न आवश्यक छ ।’


कभर्ड हल निर्माणका लागि राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री ध्रुवबहादुर प्रधानले १ कट्ठा जग्गा प्रदान गर्नुका साथै व्यायाम सामग्री सहयोग गरेका थिए ।

प्रकाशित : माघ २, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?