कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तातोपानीमा नुहाउनेको भीड

रुकुमपूर्व — सिस्ने गाउँपालिका–४ स्थित तातोपानीमा बाँफीकोट गाउँपालिका–१ रुकुम पश्चिमका जयबहादुर खडका माघ १ गते बिहान २ बजे नुहाउन आए । उनीभन्दा अघि धेरै जना तातोपानीमा नुहाइरहेका थिए । कति नुहाइसकेर फर्किसकेका थिए । ‘यहाँ माघ १ लागेकै समयदेखि नुहाउनेको भीड लाग्छ,’ खडकाले भने, ‘बिहान १ बजेदेखि नै नुहाउनलाई मान्छेहरू तातोपानी पुगिसकेका हुन्छन् ।’ 

तातोपानी माघ १ मा नुहाउनेहरूका लागि प्रख्यात ठाउँ हो । माघ नुहाउन सानीभेरी नदी छाडेर नदी किनारमै रहेको तातोपानीमा मानिसहरूको भीड लाग्छ । ‘माघ नुहाउने चलन उहिल्यैदेखिको हो, माघ नुहाउनेहरू नदी छाडेर तातोपानीमा आउँछन्,’ खडकाले भने, ‘पानी तातो भएकाले पनि कठ्यांग्रिँदो जाडोमा नुहाउनलाई सजिलो छ ।’


माघे संक्रान्तिमा नुहाएपछि जानेर वा नजानेर गरिएका गल्ती पखालिने जनविश्वास छ । त्यही विश्वासका कारण सर्वसाधारण माघे संक्रान्तिमा नुहाउनलाई तातोपानीमा पुग्छन् । यसअघि तातोपानीमा मेला लाग्ने गथ्र्यो । पछिल्लो समय उक्त मेला हराउँदै गएको छ ।

पहिले–पहिले पुस मसान्तकै दिनदेखि सुरु भएको मेला माघ १ गते सकिन्थ्यो । घोप्टे ओडारमा लागेको मेलाको अवसरमा माघ १ गते उमेर पुगेका युवकको सामूहिक व्रतबन्ध हुन्थ्यो र उनीहरूका लागि बिहेको बाटो खुल्ने गथ्र्याे । तर, त्यो चलन लोप हुँदै गएको छ ।


घोप्टे ओडारमा ब्रतबन्ध गरे मात्रै बिहेका लागि योग्य मानिने प्रचलनसमेत थियो । पछिल्लो समय मेला हराउन थालेदेखि यो चलन पनि हराउँदै गएको छ । तातोपानीमा नुहाउने भीड माघ १ गते मात्रै लाग्दैन । कात्तिक महिनादेखि नै तातोपानीमा नुहाउनका लागि पालो पर्खनुपर्छ । जाडो बढ्न थालेसँगै तातोपानीमा नुहाउन जानेको संख्या पनि बढ्छ ।


कात्तिकदेखि चैतसम्मै तातोपानीमा नुहाउन सजिलै पालो नपाइने स्थानीय लीलाराम खडकाले बताए । ‘यहाँको पानी असाध्यै तातो छ,’ उनले भने, ‘स्थानीय मात्रै होइन, जिल्लाभित्र तथा जिल्ला बाहिरका मान्छेसमेत नुहाउनका लागि तातोपानी आउँछन् ।’ जाडोको समयमा हरेक दिन आसपास तथा टाढाका मान्छेको ठूलै जमघट हुन्छ तातोपानीमा । तातोपानीमा नुहाउन बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म आउने गर्छन् ।


तातोपानीमा नुहाएपछि हातखुट्टा दुख्ने, छाला चिलाउने, वाथ तथा नसाका बिरामी ठीक हुने विश्वास छ । केही बिरामी निको हुने आशामा वर्षमा पटक–पटक नुहाउन तातोपानी पुग्ने गरेको वडाध्यक्ष दलराज घर्ती मगरले बताए । ‘लामो समयदेखिको रोग निको भयो भन्दै पटक–पटक नुहाउन आउनेहरू छन्,’ वडाध्यक्ष घर्तीले भने, ‘सायद ठिक भएरै त टाढाटाढाबाट नुहाउन आउने गरेका होलान् ।’

तातोपानीको चर्चा र प्रचार बढै जाँदा पनि स्थानीय तहले वास्ता गरेको भने देखिन्न । हिउँदको समयमा धेरै जना नुहाउन आउने भए पनि तातोपानीमा व्यवस्थित धारा बनाइएको छैन । जस्तो अवस्थामा तातोपानीको मूल फुटेको छ, त्यस्तै अवस्थामा सर्वसाधारणले प्रयोग गर्दै आएका छन् । सिस्ने गाउँपालिकाले तातोपानीको संरक्षण र व्यवस्थापनमा न कार्यक्रम तय गरेको छ, न त बजेट विनियोजन नै गरेको छ ।

प्रकाशित : माघ २, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?