कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

एउटै कोठामा तीन कक्षा

मनोज पौडेल

कपिलवस्तु — एउटै कोठा, त्यसैमा तीनवटा कक्षाको पढाइ । बेन्च नहुँदा विद्यार्थी बोरा र चकटी बोकेर आउँछन् । बिहीबार तीन कक्षाका गरेर १८ छात्रछात्रा उपस्थित थिए । यहाँ जम्मा ७२ विद्यार्थी भर्ना भएका छन् । 

एउटै कोठामा तीन कक्षा

ग्रामीण क्षेत्रको विद्यालय होइन । कपिलवस्तु नगरपालिका–८ दोहनीस्थित भगवती प्राविको अवस्था हो यो । बिहीबार विद्यालयको अनुगमनमा वडाध्यक्ष शिवकुमार पाण्डेय, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्य र नगरपालिकाको शिक्षा इकाइका स्रोतव्यक्ति ईश्वरचन्द्र गुप्ता पुग्दा यस्तो अवस्था देखिएको हो ।


०६४ सालमा स्थापना भएको विद्यालयमा सरकारी अनुदानमा २ कोठाको भवन र शौचालय निर्माण भएको छ । ‘नगरभित्रैको विद्यालयमा यस्तो कहालीलाग्दो अवस्था देखेर चिन्तित छु,’ वडाध्यक्ष पाण्डेयले भने, ‘स्थानीयले सुधारको प्रयास गरेका छैनन् । विद्यालयको यस्तो अवस्थाका बारेमा गुनासो पनि गर्न आएका छैनन् ।’ बिहीबार ११ बजेतिर विद्यालय सञ्चालन गरिएको थियो । अनुगमनमा आएको जानकारी पाएपछि प्रधानाध्यापक तथा बालविकास केन्द्रकी सहजकर्ता अञ्जु चौधरी आएकी थिइन् । उनी विद्यालय पुग्दा ११ बजेको थियो । उनले गाउँ चहारेर विद्यार्थी बटुलेर ल्याइन् । त्यो पनि १८ जना मात्र ।


‘विद्यालयको दयनीय अवस्थाबारे धेरैले गुनासो गरे,’ प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्यले भने, ‘अनुगमन गर्दा कहालीलाग्दो अवस्था पाएँ ।’ यहाँका धेरैले निजी विद्यालयमा बालबालिका पढाउँछन् । ज्याला मजदुरी गर्नेका सन्तान मात्र उक्त विद्यालयमा पढ्छन् । त्यस्ता अभिभावकले विद्यालयको निगरानी गर्न भ्याउँदैनन् ।


कसैले ध्यान नदिँदा नियमित नखुल्ने, विद्यार्थी नआउने र गुणस्तर कमजोर भएको अनुगमनमा पाइएको उनले बताए । स्थानीय भगवती चौधरीले दान गरेको २ कट्ठा जमिनमा विद्यालय भवन ठडिएको छ । सुरुदेखि अहिलेसम्म उनी नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छन् । प्रधानाध्यापक अञ्जु उनकै छोरी हुन् । विद्यालयमा शिक्षक दरबन्दी छैन । विद्यार्थी अभाव छ । बालविकासदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ ।


भवनका २ वटा कोठामध्ये एउटामा कार्यालय छ । अर्कोमा बहुकक्षा शिक्षण गराइन्छ । प्रधानाध्यापक चौधरी नआए विद्यालय बन्द हुन्छ । कार्यालय सहयोगी छैनन् । विद्यार्थीहरू आफैंले घरबाट ल्याएको बोरामा बसेर पढ्छन् । विद्यालय अपायक ठाउँमा छ । आउजाउ गर्ने बाटो छैन । खेतको आली हुादै जानुपर्छ ।


विद्यालयको स्तर बढाउन सरोकारवालाले चासो नदिएकाले अवस्था नाजुक बनेको स्रोत व्यक्ति ईश्वरचन्द्र गुप्ताले बताए । विद्यालयमा मसलन्द, पाठ्यपुस्तक र छात्रवृत्तिलगायतका रकम जाने गरेको उनले बताए । ‘जाडोयाममा भुइँमा बसेर पढ्नुपर्छ,’ कक्षा ३ मा पढ्ने छात्रा लक्ष्मी कहारले भनिन्, ‘कठ्याँग्रिंदै बस्दा गाह्रो हुन्छ ।’

प्रकाशित : माघ ४, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?